देविका दनेखू
अगष्ट १३ (August 13)
चीन भ्रमणको आठौँ दिन हाम्रो अवलोकन भ्रमण अत्यन्त सुन्दर ठाउँ क्वाङ्गतुङ्ग खुलापन र सुधारको ४० औँ वर्षको महोत्सव मनाइरहेको ‘Great Tide Surges in Pearl River-the 40th Anniversary of Reform and opening up in Guangdong’ क्षेत्रमा थियो ।

सम्मेलनको समापन समारोहमा सहभागी हुँदै अन्य देशका प्रतिनिधिहरुसँग लेखिका ।
एउटा सङ्ग्रहालयमा क्वाङ्गतुङ्ग प्रदेशको सुरुवातदेखि अहिलेसम्मको सङ्घर्ष र विकासका कामहरूको सिलसिलाबद्धरूपमा प्रदर्शनमा राखिएको थियो । त्यहाँ प्राचीन समयमा युद्धमा प्रयोग गरिएका हतियारहरू र विभिन्न कृषिमा प्रयोग भएका औजारहरू प्रदर्शनमा राखिएका थिए । विकसित सहरहरू हङकङ र क्वाङ्गतुङ्ग प्रदेशका मानिसहरूको पहिले र अहिलेको जीवनशैलीको तुलनात्मक अध्ययन गर्न सकिने गरी भित्तेचित्रहरू कुँदिएका थिए ।
पहिला हङकङका मानिसहरूको जीवनशैलीको तुलनामा चिनियाँहरूको जीवनशैली सा¥है कठिन र दयनीय थियो । तर, अहिले चीनले गरेको चामत्कारिक विकासले यी दुई क्षेत्रका मानिसहरूको जीवनशैलीमा खासै भिन्नता छैन । अहिले विश्वका ४ बाघहरू भनेर चिनिने हङ्गकङ्ग, थाइवान, दक्षिण कोरिया र सिङ्गापुरका मानिसको कुल गार्हस्थ उत्पादनभन्दा क्वाङ्गतुङ्ग प्रदेशका जनताको जीडीपी बढी छ ।
चिनियाँ विशेषतासहितको समाजवाद (Socialism with Chinese Characterstics) ले देशमा ठूलो परिवर्तन ल्याएको छ, चिनियाँ साथीहरू त्यही भन्थे । क्वाङ्गतुङ्ग प्रदेश चिनियाँ प्रधानमन्त्री सी चिनफिङ्को गृह प्रदेश हो ।
खाना खाएर अर्को सुन्दर सहर छियनहाइ (Qianhai) अवलोकनको कार्यक्रम थियो । छियनहाइ सहरमा अवस्थित सङचन ट्यालेन्ट पार्क र सङचङ बे म्यानग्रोभ पार्क (Shenzhen Talent Park and Shenzhen Bay Mangrore park) औपचारिकरूपमा राष्ट्रिस्तरको प्रदर्शनी केन्द्र रहेछ ।
छियनहाइको वृतचित्र हेर्ने क्रममा सुरुवातमै भनिएको थियो, Dream Manufacturer of the Chinese dream- Qianhai अर्थात् चिनियाँ सपनाहरूको आविष्कार वा उत्पादन गर्ने ठाउँ छियनहाइ हो । साँच्चै नै त्यहाँ प्रदर्शित वृत्तचित्र हेर्दा चीनले यति धेरै विकास ग¥यो कि अब विकास गर्ने ठाउँ नै छैन जस्तो लाग्थ्यो । अन्य मुलुकका साथीहरूसँग पनि कानेखुसी ग¥यौँ । छियनहाइ चीनको महत्वपूर्ण आर्थिक क्षेत्र हो भने यो हङ्गकङ्गसँग जोडिएको सहर हो । छियनहाइ ६ लाख ५० हजार जनसङ्ख्या भएको अत्यन्त संवेदनशील सहर पनि हो । छियनहाइ चिनियाँ सपनाहरूको उत्पादन गर्ने थलो हो ।
छियनहाइको भ्रमणपश्चात् हामी छोङहुवा हट स्प्रिङ्ग टाउन (Conghua Hot Spring Town) को होटल हेल्सटनमा गएर बस्यौँ । त्यो रात हामीले हट स्प्रिङ्गका साथै चिनियाँहरू साँझको खानापछि व्यायाम गरेको र शारीरिक कसरत (Body Fitness activities) मा संलग्न भएको देख्यौँ । मलाई लाग्यो, त्यही भएर चिनियाँहरू एकदम स्वस्थ देखिने रहेछ ।
अगष्ट १४ (August 14)
बिहानको चिया नास्ता सकेर हट स्प्रिङ्ग टाउनमा रहेका विभिन्न फूलहरूसम्बन्धी अनुसन्धान केन्द्रको भ्रमणमा गयौँ । अनुसन्धान केन्द्रमा ३१ प्रकारका फूलहरूको अध्ययन र अनुसन्धान गरिने रहेछ । अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र भएकोले यो चीनकै उच्चस्तरीय अध्ययन केन्द्र रहेछ । विभिन्न जातिका फूलका बोटहरूलाई घाम, पानी र हावाको आवश्यक मात्रा मिलाएर एक हप्तामा आफसेआफ नयाँ बोट निस्किने गरी वैज्ञानिक तरिकाले व्यवस्थापन गरिएको रहेछ ।
अत्यधिक गर्मीमा बोटहरूमा तापक्रमको नियन्त्रण गर्न माथिबाट निरन्तर पानी बगिरहने गरी पाइपहरू जडान गरिएको थियो । उक्त अनुसन्धान केन्द्रमा रहेका फूलका बोटहरू प्रतिबोट युआन ५ देखि १०० युआनसम्ममा चीनका विभिन्न सहरमा बिक्री वितरण गरिने रहेछ । प्रत्येक अनुसन्धान केन्द्रभित्र फूलका बोटहरू सारिने घरहरूमा दुई तहको प्लाष्टिकको पत्र राखिएको थियो । त्यसले तापक्रम बढ्न नदिने र तापक्रम घट्न नदिने काम गर्नेरहेछ ।
उक्त अनुसन्धान केन्द्रसँगै क्याकटस (Cactus) गार्डेन पनि रहेछ । विभिन्न ३६ वटा सरकारी इन्टरप्राइजेहरूद्वारा सञ्चालित क्याकटस गार्डेनको अनलाइन मार्केटिङ्ग हुनेरहेछ ।
अनुसन्धान केन्द्रको भ्रमणपछि हामी पाकशिक्षाको तालिम केन्द्र पुग्यौँ । क्वाङ्गतुङ्ग प्रदेशको लागि प्रदेशस्तरीय तालिम केन्द्र रहेछ । विशेषगरी विभिन्न किसिमका तरकारीहरू कसरी पकाउने भन्ने तरिका सिकाउने रहेछ । काट्ने तरिका, पकाइसकेपछि खाना कसरी दिने र खाइसकेपछि जुठो भाँडाहरू धुने तरिका पनि सिकाइने रहेछ । प्रत्येक वर्ष ३० जनासम्मको १५ वटा समूहलाई तालिम दिने उक्त केन्द्रबाट तालिम प्राप्त जनशक्तिले चीनका विभिन्न सहरहरूमा होटलको सेफको रूपमा कार्यरत रहेको जानकारी पायौँ ।

१० हजार एकर क्षेत्रफलमा फैलिएको विश्वभरी नै फूलहरु निर्यात गर्ने चीनको ‘क्वाङचाउ फूल अनुसन्धान केन्द्र’ अवलोलन गर्दै लेखिका ।
हामी ३ सय वर्ष पुरानो योगकेन्द्र नानफिङ्ग योग सहर (Nanping meditation Town) मा पुग्यौँ । यहाँ विभिन्न सहरबाट दिनमा १३०० भन्दा बढी मानिसहरू योगको लागि आउनेरहेछ । सहरको कोलाहल र तनावबाट मुक्ति पाउन र शरीरलाई पुनर्ताजगी दिन मानिसहरू त्यहाँ आउनेरहेछ । सफा र चिटिक्क परेका घरहरू, स्वच्छ वातावरण, चारैतिरको हरियाली र शान्त ठाउँ भएकोले यो ठाउँ धेरै मानिसको रोजाइमा पर्नेरहेछ । त्यही ठाउँका स्थानीय बासिन्दाको अगुवाइमा सुरु गरेको उक्त योगकेन्द्रमा विभिन्न सरकारी इन्टरप्राइजेजको ८० प्रतिशतसम्म शेयर रहेको छ । स्थानीय बासिन्दाको २० प्रतिशत शेयर छ र पुनःनिर्माणको सम्पूर्ण जिम्मेवारी इन्टरप्राइजेजको हुनेरहेछ । यस क्षेत्रबाट लिचीको ठूलो मात्रामा व्यापार हुनेरहेछ ।
विभिन्न अनुसन्धान केन्द्र र तालिम केन्द्रको भ्रमणपछि हामी क्वाङ्गचाउ सहर फर्कियौँ । IDCPC ले रात्रीभोजको आयोजना गरेको थियो । हामीलाई आ–आफ्नो परम्परागत पोशाकमा रात्रीभोजमा उपस्थित हुन भनिएको थियो । त्यसैले हामी आफ्नो परम्परागत पोशाकमा होटल क्यान्टोनमा रात्रीभोजको लागि सहभागी भयौँ । उक्त कार्यक्रममा IDCPC का डेपुटी डाइरेक्टर र क्वाङ्गतुङ्ग प्रदेशका IDCPC Director को पनि उपस्थिति थियो ।
अगष्ट १५ (August 15)
समापन कार्यक्रम
दस दिने भ्रमणको अन्तिम दिन क्यानटोन हलमा समापन कार्यक्रम थियो । उक्त कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा ७ वटा देशका ११ वटा राजनीतिक दलका एक–एकजना प्रतिनिधिहरूको मन्तव्यको कार्यक्रम भयो । त्यस्तै दोस्रो चरणमा प्रमाणपत्र वितरण र प्रशिक्षण कार्यक्रम भएको थियो । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, मलेसिया, म्यानमार र पूर्वी टिमुरका प्रतिनिधिहरूले गरिबी निवारणमा आफ्नो देशको स्थिति र आ–आफ्ना पार्टीको भूमिकाको विषयमा विचार राखेका थिए ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट इन्जिनियर समाज नेपालका नरेश खत्रीले नेपाल मजदुर किसान पार्टीले आफ्नो चुनावी घोषणापत्रअनुरुप नै काम गरिराखेको विचार व्यक्त गर्नुभयो । नेमकिपाले जितेको भक्तपुर नगरपालिकाले गरेका गतिविधिहरूको बारेमा चर्चा हुँदा चीनलगायत अन्य मुलुकका साथीहरूले प्रशंसा गरे ।

समापन समारोहमा आइडीसीपिसीका उपमहासचिव याओ चियनकुव र आइपीआरसीसीका उपमहासचिव थान वेइफिङबाट प्रमाणपत्र ग्रहण गर्दै लेखिका ।
औपचारिक कार्यक्रम सकिएपछि हामीले IDCPC र IPRCC का साथीहरूलाई मायाको चिनो र नेमकिपाका प्रकाशनहरू चिनियाँ सपना, चीनविरुद्ध अमेरिकी व्यापार युद्धलगायत अन्य पुस्तकहरू प्रदान ग¥यौँ । हामी कार्यक्रम सकिएपछि सामानहरू मिलाउन लाग्यौँ । नेपालमा साथीहरूलाई केही चक्लेट र मायाको चिनो किन्न क्वाङचाउ सहर घुम्न बाहिर निस्कयौँ । केही चक्लेटहरू किनेर होटल पुग्दा IDCPC का कामरेड तोङतोङले उडान समत्न्दा ३ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएकोले आफ्नो लगेज लिएर तल झर्न अनुरोध गरे ।
नेपाली टोली र भारतीय साथीहरूको उडान एउटै समयमा भएकोले एउटै गाडीमा बसेर एअरपोर्ट पुग्यौँ । टोलीलाई बिदाइ गर्न आइडीसीपीसीका तोङतोङ र आइपीआरसीसीका चाओ आउनुभयो । हामी साँझ ७ बजे क्वाङचाउबाट नेपालको लागि उड्यौँ ।
धन्यवाद !
Leave a Reply