भर्खरै :

आएन दसैँ दलित बस्तीमा

– वीरेन्द्र कर्ण
वीरगञ्ज, १६ असोज । प्रदेश नं २ का आठ जिल्लामा दसँैको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले …” । १ साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दसैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरू नाङ्गै छन्, हाम्रो केको दसैँ हुनू ? हाम्रो लागि त दसैँ होइन दशा पो रहेछ”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्नुहुन्छ, “यसपालि मात्रै हो र, हाम्रो लागि त प्रत्येक वर्ष दसैँ दशामात्र हुँदो रहेछ ।”
गाउँकै अन्य बस्तीमा दसैँको रमाइलो छाएको छ । नयाँ नयाँ लुगा, मीठो खानेकुराको चलन छ त दलित बस्तीमा भने भात नै ठूलो कुरा भएको छ । “मीठो मसिनो खाने र नयाँनयाँ लुगा लगाउने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्नुहुन्छ तर हामीले आफ्ना बालबालिकालाई दुई छाक दाल, भात, तरकारी खुवाउनु भनेको सपनाजस्तो भएको छ ।”
बस्तीका बालबालिका मासुको एक चोक्टा पनि नपाउँदा नदीखोलामा चहार्दै माछा, घोघही र गँगटो मार्न यताउता भौँतारिरहेको देखिन्छ । बस्तीमा राससकर्मी पुग्दा अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन । त्यहाँका बूढापाकाको एउटै भनाइ थियो, “हाम्रो बालबलिकाको बाँच्ने परिवेश यस्तै हो । न त पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै मीठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुल्हो बल्ने स्थिति नै छैन । नजीकको गाउँमा दसैँ मेला लागेको छ । बालबालिकाले मेला भर्न कराइरहेको भए पनि उनीहरूलाई मेला पठाउन सकिएको छैन ।”
गएको चुनावका बेला त नेताहरू आएर ठूल्ठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान नदिएको लोरिक माझी बताउनुहुन्छ । माझीले भन्नुभयो, “हाम्रो दैनिकी कसरी बितिरहेको छ कसले हेर्ने ? भोट लिने नेताहरू आजसम्म फर्केर आएका छैनन्, हामी त भोट बैङ्क मात्र हौँ ।”
बारा जिल्लाको सदरमुकाम कलैयाको बरियारपुर सडक खण्डको भुतही पुलदेखि करीब दुई किमीको दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादव बताउनहुुन्छ । मजदुरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरूले चाडपर्वमा रमाइलो गर्नु भनेको मीठो सपना देख्नुमात्र भएको यादवको भनाइ छ ।
सधैँ अभाव र पीडामा बाँचिरहेका मुसहरहरू छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्नुहुन्छ, “न त घरमा अन्न छ न वस्त्र नै, शिक्षाको कमीको कारण मजदुरी नै जीविकोपार्जन गर्ने माध्यम भएकोले सधैँभरि साहु महाजनको ऋृणमा नै डुब्नुपर्छ । रोजगारीको अर्को विकल्प हामीसँग छैन ।”
दसैँ जस्ता चाडपर्व त धनी मानिसको लागि भएको र चाडपर्व आउँदा आफूहरू झन् ऋृणमा डुब्ने गरेकाले आफ्ना लागि यस्तो चाडपर्व नआइदिए हुने लक्ष्मण सदा बताउनुहुन्छ । उहाँले पीडा पोख्दै भन्नुभयो, “हामी त नेताहरूको लागि भोट बैङ्क भएकोले सबै दलले हामीबाट फाइदा मात्र लिने गर्छन् ।”
मुसहर बस्तीमा जसोतसो गरी भात पाके पनि दाल र तरकारीको समस्या हुने गर्छ । दाल, तरकारी किन्ने पैसा छैन । दैनिकी ज्यालादारी गरी ल्याइएको चामल पकाउँदा भात त पाक्छ तर दाल तरकारीको समस्या भने यथावत रहने सेवकी सदा जानकारी दिनुहुन्छ । सङ्घीय सरकारले नै दलितलाई हेला गरेको र प्रदेश सरकारले पनि बेवास्ता गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवान आरोप लगाउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *