एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
—रुपकेशरी उलक
विषय प्रवेश
सामाजिक तथा मनोवैज्ञानिक यर्थाथवादी नाटककार विजय मल्ल नेपाली नाट्य क्षेत्रका एक सशक्त स्रष्टा हुन् । जनमानसमा लुकेका पीडाहरु नाट्य पर्दामा उतारेर बौद्धिक मन्थनको माग राख्ने उनका कोही किन बर्बाद होस्, बौलाहा काजीको सपना, जिउँदो लास, पत्थरको कथा, दोभान,भूलैभूलको यर्थाथ, भित्तेघडी नामका पूर्णाङ्की एवम् एकाङ्कीहरू प्रकाशित छन् । सामाजिक यर्थाथलाई मनोवैज्ञानिक विश्लेषणका साथ प्रस्तुति गर्नु उनको लेखनको विशेषता हो । देशप्रेम, शोषणप्रति विद«ोह, अन्याय–अत्याचारको विरोध, गरिबीप्रतिको चिन्ता र मानवतावादी चिन्तनमा उनका नाटकहरू केन्दि«त छन् । बहुलाकाजीको सपना उनका यस्तै नाटकहरूमध्येको एउटा चर्चित नाटक हो । प्रस्तुत लेखमा साहित्यमा समाजशास्त्रीय व्याख्याता लुसिएँ गोल्मानको विश्वदुष्टि सम्बन्धि मान्यतालाई आधार बनाएर नाटकको विश्लेषण गर्ने प्रयास गरिएको छ ।
विश्वदुष्टि सम्बन्धी मान्यता
लुसिएँ गोल्डमान माक्र्सवादबाट प्रभावित फ्रान्सेली चिन्तक हुन् । माक्र्सवादबाट प्रभावित भए पनि माक्र्सवादको वर्ग सङ्घर्ष र वर्ग चेतनासम्बन्धि मान्यतामा फरक दृष्टि राख्दै उनले आफ्नो साहित्य सम्बन्धी चिन्तनलाई समाजशास्त्रीय स्वरुप दिने काम गरेका छन् । यसै परिप्रेक्षमा उनलाई साहित्यिक समाजशास्त्री वा साहित्यको समाजशास्त्रका व्याख्याताका रूपमा चिनिन्छ । उनको सिद्धान्तलाई उत्पत्तिमूलक संरचनावाद पनि भनिन्छ । यसभित्र साहित्य विश्लेषणका विभिन्न आधारहरू छन् तर तीमध्ये विश्वदृष्टि उनको सबभन्दा प्रमुख मान्यता हो । उनका अनुसार प्रत्येक कृति लेखकको सिर्जना हो र त्यसले लेखकका विचार तथा अनुभूतिलाई व्यक्त गर्छ तर त्यो लेखकको नितान्त आफ्नो हुँदैन । लेखक समाज तथा वर्गका अन्य व्यक्तिको चिन्तनबाट प्रभावित हुन्छन् । तिनलाई लेखकले आफ्नो वर्ग, समुदाय, समूह र समाजका अन्य व्यक्तिहरूका विचार र भावसँग जोडेर प्रस्तुत गर्छन् । साहित्यिक कृतिले सामूहिक चेतना वा परावैयक्तिक चेतनालाई अभिव्यक्त गर्छ । त्यो लेखकको निजी निर्मिति होइन, त्यस वर्ग वा समुदायका अन्य व्यक्ति पनि त्यस विश्वदृष्टिमा सहभागी हुन्छन् र एउटा वर्ग, समुदायको पूर्णतम सम्भावित चेतनाबाटै विश्वदृष्टिको निर्माण हुन्छ । उनका विचारमा एउटा वर्ग वा समूहको जीवन जगत्का बारेको सुसङ्गत दुष्टि नै विश्वदृष्टि हो । उनी लेखकको अभिप्रायलाई र त्यसै गरी लेखकमाथि परेको प्रभावलाई कृति मूल्याङ्कनका लागि त्यति महत्व दिँदैनन् । त्यसलाई माध्यमसम्म मान्छन् । वास्तवमा एकजना व्यक्तिको अनुभव यति सीमित र सङ्कुचित हुन्छ कि त्यसबाट विश्वदृष्टिको विकास सम्भव हुँदैन । त्यसको रचना एउटा सामाजिक वर्गले लामो समयमा मात्र गर्न सक्छ त्यसैले लेखक ती चिन्तनहरू प्रस्तुत गर्ने माध्यम मात्र हो न कि कृतिमा व्यक्त सम्पूर्ण वैचारिक पक्ष लेखकको निजी निर्मिति हो । साहित्यको समाजशास्त्रीले समाजका त्रासदी, विद«ोहको चेतना ,घृणाभाव आदिको कारण र समाधान खोज्छ । तसर्थ यहाँ गोल्डमानको विश्वदृष्टि सम्बन्धि यसै मान्यतालाई आधार बनाएर बौलाहा काजीको सपना नाटकको विश्लेषण गरिएको छ ।
नाटकको सामाजिक पृष्ठभूमि
बौलाहा काजीको सपना सहरी परिवेशमा आधारित नाटक हो । गरिब वर्गले हामी पनि पढ्न सक्छौँ भन्ने कुरासम्म आँट्न नसकेको समयलाई यहाँ देखाइएको छ । धनी र गरिब वर्गमा विभाजित समाजमा गरिबी खेप्न विवश निम्नवर्गीय जनताको प्रतिनिधित्व यसमा गराइएको छ । गरिबीका कारण अकालमा ज्यान गुमाउन विवश निम्नवर्गीय जीवन र त्यसभित्र लुकेका जिजीविषाहरूको चित्रण यसमा पाइन्छ । माक्र्सवादी चिन्तन अनुरूपको वर्गीय द्वन्द्व र परिवर्तित समाजपछिको वर्गविहीन सुन्दर समाज कल्पना प्रस्तुत नाटक मूल उद्देश्य बनेको छ ।

नाटकमा व्यक्त विश्वदृष्टि
बौलाहा काजीको सपना धनी र गरिब वर्गबीच रहेको असमान पक्ष र त्यसको मारमा निर्ममतापूर्वक पिल्सिएका गरिब वर्गको प्रतिनिधित्व गराइएको नाटक हो । दिन–रात जोतिएर मिहिनेत गर्दा पनि एक छाक राम्ररी खान नपाइरहेका गरिब भरिया पात्रहरूको जीवनलाई यसमा प्रस्तुत गरिएको छ । इमान्दरीपूर्वक मिहिनेत गरेर बाँचिरहेको भक्ते पात्रको छोरो वीरेले बाटोमा माग्दै हिँडेकोमा उसका बाबु भक्तेले रिसाएर लखेट्दै ल्याएको प्रसङ्गबाट नाटकको आरम्भ भई बहुलाकाजीको आदर्श कल्पनामा सफल बन्दै आएको वीरे अन्तमा गरिबीकै कारण उचित उपचार नपाएर मर्न पुगेको घटनासम्ममा नाटक टुङ्गिएको छ ।
नाटकका मुखपात्र बहुलाकाजीका चिन्तन र विचारहरू परिवर्तित समाजको चाहना गर्ने वर्गविहीन समाजका चिन्तकहरूको साझा चिन्तन हो । यसैले नाटकको मूल उद्देश्य बोलेको छ । समाजको सबभन्दा ठूलो शत्रु गरिबी हो र त्यसलाई समाप्त नपारेसम्म यस संसारमा सुखी जीवन असम्भव छ । गरिबीलाई समाप्त पार्ने एक मात्र माध्यम शिक्षा हो । समाजका हरेक समुदायलाई शिक्षित तुल्याई समाजबाट अभाव, अशिक्षा, गरिबी, असमानता आदि समाप्त पारी सुखी ,सुन्दर र सभ्य संसार बनाउनुपर्छ भन्ने आदर्श नै यस नाटकको उद्देश्य हो । अधिकार मागेर पाइन्न खोसेर लिनुपर्छ भन्ने मान्यता पनि यस नाटकले बोकेको छ । नाटकका मुख्य पात्र बहुलाकाजीले अन्तमा बोलेका यी संवादबाट पनि यस कुराको पुष्टि हुन्छ — “पहिले पैसा नभए माग्नुपथ्र्यो, मागेर पनि कसैले सोझो मुखले नदिएको भए यतिका सहरका घरहरू छँदै थिए नि, घनले ठोकेर, ताल्चा फोरेर, खोसेर, चोरेर भए पनि ल्याउनुपथ्र्यो । एउटा ज्यान मारेर ज्यानमारा बनिरहनु सट्टामा त चोर हुनु हजार गुना बेस…।”
यसमा समाजमा व्याप्त वर्गविभेदको यथार्थ प्रस्तुत गरिएको छ । बहुलाकाजीका माध्यमबाट वर्गविहीन समाजको निर्माणको सङ्केत गरिएको छ भने सामाजिक संरचनाभन्दा भिन्न चिन्तनका मानिसलाई सहजै रुपमा पागल सावित गरिदिने प्रवृत्तिको उदाहरण बहुलाकाजी पात्रकै माध्यमबाट देखाइएको छ । यसर्थ गरिब वर्गबीच रहेको विषम परिस्थितिको प्रस्तुति र त्यसबाट उन्मुक्तिको स्वाभाविक चाहना नै नाटककारको विश्वदृष्टिका रूपमा यहाँ प्रस्तुत छ । वर्गविहीन समाजको चाहना अभिव्यक्त विश्वदृष्टिलाई नाटकका मुखपात्र बहुलाकाजीले व्यक्त गराइएको छ । गोल्डमानले भने झैँ सिर्जनामा विश्वदृष्टिको अभिव्यक्ति लेखकका माध्यमबाट व्यक्त भए पनि त्यो नितान्त लेखकको मात्र हुँदैन । लेखक समुदायसँगै जोडिएका हुन्छन् र समुदायमा विकसित हुने सामूहिक चेतनालाई नै उनले व्यक्त गर्छन् । यसरी हेर्दा वर्गविभेदका कारण समाजमा हेपिएर दुःखदायी जीवन भोग्दै र मर्दै आएको समुदाय वा वर्गको साझा चेतनालाई यहाँ नाटककारले प्रस्तुत गरेका छन् । विवशताको मारमा परेका लाखौँ गरिब जनताको प्रतिनिधित्व र त्यसभित्र लुकेका क्रान्तिकारी चिन्तनलाई बाहिर ल्याउन उत्प्रेरकको भूमिका खेल्ने नेतृत्व वर्गको चिन्तनलाई पनि मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ, जुन चिन्तन र धारणाको अभिव्यक्तिलाई साझा चिन्तन वा विश्वदृष्टिका रूपमा विश्लेषण गर्न सकिन्छ । लुसिएँ गोलमानको विश्वदृष्टि सम्बन्धि सैद्धान्तिक आधारहरू क्रमशः यसमा प्रस्तुत भएका छन् । यसमा पुस्ता र वर्गको विश्वदृष्टिको प्रस्तुति भएको छ । अभिजात वर्गको विश्वदृष्टि धनमान साहु र वीरेको कक्षाका धनी वर्गका साथीहरूबाट प्रस्तुत भएको छ भने शासित वर्गको विश्वदृष्टि भक्ते र मानेबाट प्रस्तुत भएको छ र उदयमान पुस्ताका रूपमा वीरबहादुर, भरत, रामजस्ता युवा पात्रहरूको प्रस्तुति यसमा देखाइएको छ ।

निष्कर्ष
बौलाहाकाजीको सपना वर्गविहिन समाज कल्पना प्रस्तुत गरिएको नाटक हो । नाटकमा अभिजात वर्ग, शासित वर्ग र उदयीमान पुस्ता गरी तीनै पक्षको विश्वदृष्टि समेटिएको छ । नाटककार शासित तथा उदयमान पुस्ताको पक्षमा उभिएका छन् । समग्रमा गरिब वर्गका बीच रहेको विषम परिस्थितिको प्रस्तुति र त्यसबाट उन्मुक्तिको स्वाभाविक चाहना नै नाटककारको विश्वदृष्टि बनेको छ ।
सन्दर्भ सामग्री सूची
जैन,निर्मला(सम्पा),साहित्यका समाजशास्त्रीय चिन्तन,दिल्ली विद्यालय,सन् १९९२ ।
पाण्डेय,मैनेजर साहित्य के समाजशास्त्र की भूमिका,चण्डीगढ ः अकादमी सन् १९८८ ।
सिंह, बच्चन, साहित्यका समाजशास्त्र ,इलाहाबाद ः लोकभारती प्रकाशन ।
(लेखिका उलकको कविता संग्रह ‘पानीमा आगो लगाउने मान्छे’ प्रकाशित छ ।)
Leave a Reply