भर्खरै :

भेनेजुयलाविरुद्ध संरा अमेरिकाको आर्थिक आतङ्कवाद

प्रकाश
संरा अमेरिकाले तेल र सुनको लागि धनी देश भेनेजुयलामा ती बहुमूल्य चीज कौडीको मूल्यमा प्राप्त गर्नकै लागि त्यहाँ शासन परिवर्तनको खेल खेलिरहेको सबैलाई थाहा छ । त्यसको लागि भेनेजुयलाका अति दक्षिणपन्थी राजनीतिक पार्टीहरूलाई हातमा लिएर त्यहाँ पटक–पटक सत्ता विप्लवको प्रयास भइसकेका छन् । तर, ती सबै प्रयास असफल भए । सडक आन्दोलन र सैनिक विद्रोहका नाममा सत्ता विप्लव असफल भइसकेपछि प्रयोग गरेको अस्त्र भनेको आर्थिक नाकाबन्दी हो । ट्रम्प प्रशासनले भेनेजुयलाविरुद्ध आर्थिक नाकाबन्दीमात्र लगाएको होइन बरु भेनेजुयलाको अर्थतन्त्रलाई टाट पल्टाउने ध्येयले आर्थिक आतङ्ककवादको नीति नै प्रयोग गरेको विश्व अर्थ–राजनीति मामिलाका विश्लेषकहरूको कथन छ ।
संरा अमेरिकी सरकारले संरा अमेरिका र भेनेजुयलाबाहिर विभिन्न देशमा रहेका सम्पत्ति र स्रोतहरू कब्जा गर्न ३५० वटा भन्दा बढी कार्यकारी आदेश जारी गरेको छ । त्यसले भेनेजुयाली स रकारको सम्पत्ति र आर्थिक स्रोत कब्जामात्र होइन जनजीवन कष्टकर हुने गरी पूर्ण आर्थिक नाकाबन्दी लगाइयो । त्यहाँको स्वास्थ्य उपचार प्रणालीलाई पक्षघात तुल्याइयो, सरकार र जनताको मेलमिलापमा सामुदायिक उपभोक्ता समितिमार्फत खाद्यान्न र उपभोग्य वस्तुको व्यवस्थित वितरण नभएको भए भोकमरीले धेरैको ज्यान गइसक्ने थियो । संरा अमेरिकी प्रतिबन्ध र नाकाबन्दीको कारण १३० अर्ब अमेरिकी डलर बराबर स्रोतबाट भेनेजुयला वञ्चित भयो । त्यो एक प्रकारले भेनेजुयलाको स्रोत साधनको सीधा चोरी नै हो । अर्कोतिर आन्दोलनको नाममा आतङ्कको खेती गरिरहेका ह्वान ग्वाइडो र अति दक्षिणपन्थी पार्टीहरूलाई दसौँ लाख डलरको सहायता पटक–पटक गरिरहेको छ । यसलाई भेनेजुयला सरकार र भेनेजुयाली जनताविरुद्ध संरा अमेरिकाको आर्थिक आतङ्कवादबाहेक अर्थोक मान्न सकिँदैन ।
शान्ति वार्तामा अमेरिकी विरोध, रुसी सहयोग
भेनेजुयलाको विद्यमान राजनीतिक गतिरोध अन्त्य गरेर त्यहाँको समावेशी प्रजातन्त्रलाई बलियो बनाउन सेप्टेम्बर १६ का दिन भेनेजुयाली राष्ट्रपति निकोलस माडुरो र विपक्षी राजनीतिक दलहरूबीच राजनैतिक सम्झौता भयो । बृहत् राजनीतिक गोलमेच सम्मेलनको निष्कर्षलाई नै शान्ति सम्झौताको रूप दिइएको थियो । उक्त सम्झौताअनुसार निलम्बित राष्ट्रियसभा (संसद्) को निलम्बन फुकुवा गरी अधिवेशन आह्वान भइसकेको छ । अल्पमतमा रहेको सत्तारूढ भेनेजुयाली एकीकृत समाजवादी पार्टी (PSUV) का सांसदहरूले पनि बैठकमा भाग लिइसकेका छन् । सन् २०२० भित्र संसदीय निर्वाचन गर्नका लागि राष्ट्रिय निर्वाचन परिषद् (National Election Council) पुनः गठन गर्ने तयारी भइरहेको छ । राजनीतिक नियुक्ति हुने क्षेत्रमा क्रमशः समावेशी ढङ्गले नियुक्ति र पुनः नियुक्ति प्रक्रिया अगाडि बढेको छ । राजनीतिक आस्थाका बन्दीहरूमाथिको अभियोग फिर्ता र आममाफीको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । तर, आफूलाई प्रजातन्त्र र मानव अधिकारको पहरेदार दाबी गरेर नथाक्ने संरा अमेरिकी सरकारले भेनेजुयलाको राजनीतिक सम्झौता र प्रजातन्त्रको कुनै मतलब नभएको बताइसकेको छ र भेनेजुयलामाथिको नाकाबन्दी नहट्ने सङ्केत गरिसकेको छ । त्यतिमात्र नभई अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः अर्को कार्यकारी आदेश जारी गर्दै भेनेजुयाली सरकारका सबै उच्चपदस्थहरूमाथि संरा अमेरिका प्रवेशमा रोक लगाइएको छ । त्यसरी भ्रमणमा रोक लगाइएका अधिकारीहरूमा उपमन्त्रीदेखि राष्ट्रपतिसम्म, संविधानसभाका सबै सदस्यहरू, सरकारको कर्मचारीतन्त्रका सचिव तहमा सबै कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरू समेत छन् ।
उता रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले भने भेनेजुयाली सरकार र जनताप्रतिको समर्थनलाई दोहो¥याउँदै सरकार र अल्पमतका विपक्षी पार्टीहरूबीच भएको सहमति र सम्झौताको स्वागत गरेका छन् । भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोको रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले भेनेजुयाली शान्ति प्रक्रिया र सार्वभौमिकता रक्षा गर्ने मामिलामा रुसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता दोहो¥याए । दुई राष्ट्रपतिबीचको छलफलपछि भेनेजुयलालाई रुसले खाद्यान्न आपूर्ति गर्ने, १५ लाख एन्टी फ्लु भ्याक्सिन तत्काल उपलब्ध गराउने, खानी उत्खननमा रुसी लगानी बढाउने र सैनिक सहायता बढाउने तथा भेनेजुयाली कच्चा तेल रुसी कम्पनीहरूले खरिद गर्नेसम्बन्धी सम्झौता भएको इन्टरफ्याक्स समाचार समितिले जनायो । रुससितको सम्झौता तत्काल कार्यान्वयन भएमा अमेरिकी नाकाबन्दीका कारण सिर्जित भेनेजुयाली जनताको कठिनाइमा केही राहत पुग्ने देखिन्छ ।
संयुक्त राष्ट्र सङ्घमा आरोप–प्रत्यारोप
आफ्नै देशको संसद्मा महाभियोग सामना गर्नुपर्ने अवस्थामा पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र सङ्घको महासभा बैठकलाई सम्बोधन गर्ने क्रममा जननिर्वाचित भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोलाई ‘अवैध राष्ट्रपति’ भन्न भ्याए । त्यतिमात्र होइन संरा अमेरिकाले राष्ट्र सङ्घीय महासभा बैठकमा तथा कथित स्वघोषित ‘अन्तरिम राष्ट्रपति’ ह्वान ग्वाइडोका सहयोगीहरूलाई भेनेजुयलाको प्रतिनिधित्व गराउन खोज्यो । तर, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस र महासभाको अध्यक्ष मण्डलले अस्वीकार गरिदिएपछि अमेरिकी सरकारको प्रयास विफल भयो ।
त्यस्तै अमेरिकी कठपुतलीका रूपमा बदनाम दक्षिणपन्थी कोलम्बियाली राष्ट्रपति इभान ड्युकले भेनेजुयलामा प्रजातन्त्र नभएको र राष्ट्रपति निकोलस माडुरो युगोस्लाभियाका पूर्व राष्ट्रपति स्लोवोदान मिलेसोभिकजस्तै भएको आरोप लगाए । निकोलस माडुरोमाथि आधारहीन आरोप लगाएका ड्युकले आफ्नो शासनमा दर्जनौँ सामाजिक अभियन्ता र शान्ति प्रक्रियामा आएका सयौँ पूर्व फार्क विद्रोही नेता – कार्यकर्ताहरूको दक्षिणपन्थी अर्ध सैन्य बलबाट भइरहेको निर्मम हत्याका बारेमा एक वाक्य पनि बोल्ने साहस गरेनन् । त्यसो त स्लावोडान मिलेसोभिकले आफ्नो देशको अखण्डता रक्षा र साम्राज्यवादी हस्तक्षेपविरुद्ध सङ्घर्ष गरेका थिए । नरसंहार मिलेसोभिकले नभई नाटो र अमेरिकी साम्राज्यवादले गरेको थियो ।
जवाफमा भेनेजुयाली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले जनताको आत्मनिर्णयको पवित्र अधिकारका आधारमा निकोलस माडुरोमात्र भेनेजुयलाको वैधानिक राष्ट्रपति भएको बताइन् । आफ्नो सम्बोधनका क्रममा उपराष्ट्रपति रोड्रिगेजले वासिङ्टनले भेनेजुयलाको प्रजातन्त्र र सार्वभौमसत्ता ध्वस्त गर्न खोजेको, अन्तर्राष्ट्रिय कानुनविपरीत भेनेजुयलाविरुद्ध प्रतिबन्ध र नाकाबन्दी लगाएको, खाद्यान्न, लताकपडा र औषधीजस्तो अत्यावश्यक वस्तु आयातमा समेत रोक लगाएर भेनेजुयाली जनताको आमनरसंहार गर्न खोजेको बताइन् ।
भेनेजुयलाविरुद्ध संरा अमेरिकाले ‘आर्थिक आतङ्कवाद’ को नीति अख्तियार गरेर भेनेजुयलाको १३० अर्बभन्दा बढी सम्पत्ति र स्रोत चोरी गरेको विश्व नेताहरूसमक्ष प्रस्ट पारिन् ।
उपराष्ट्रपति रोड्रिगेजले भेनेजुयला विरुद्धको अमेरिकी नीति बहुध्रुवीयतावाद र बहुपक्षीयतावादविरुद्ध आक्रमणको तड्कारो उदाहरण भएको बताइन् ।
कोलम्बियाली राष्ट्रपति इभान ड्युकले दिएका गलत खबरको खण्डन गर्दै भेनेजुयलामा कोही पनि कोलम्बियाली सशस्त्र व्यक्तिलाई शरण नदिएको स्पष्ट पारिन् । बरु कोलम्बियाको विभिन्न ठाउँमा राष्ट्रिय मुक्ति सेना ( National Liberatiom Army–ELN) को नाममा अर्धसैनिक दस्ता बनाइएको, त्यस्ता क्याम्प कोलम्बियाका सान्ता मार्टा, रियो हाचा र माइकाओ क्षेत्रमा रहेको र त्यस दस्ताका कमान्डरहरूलाई तथाकथित ‘अन्तरिम राष्ट्रपति’ ह्वान ग्वाइडोले भेटेको तस्वीर र प्रमाणसमेत देखाइन् । उपराष्ट्रपति रोड्रिगेजले तथाकथित ईएलएन प्रयोग गरी कोलम्बियाले भेनेजुयालाविरुद्ध छद्म युद्ध गर्ने तयारी गरेको राष्ट्रसङघीय महासभा बैठकमा प्रस्ट पारिन् ।
एक करोड ३० लाखको हस्ताक्षर राष्ट्र सङ्घमा पेश
भेनेजुयाली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले हालै भेनेजुयलामा सरकार र विपक्षी पार्टीहरूबीच भएको सम्झौता, कोलम्बियामा अवैध अर्ध सैनिक बल गठन गरिएको प्रमाण र नाकाबन्दीविरुद्ध एक करोड ३० लाख भेनेजुयाली जनताको हस्ताक्षरसहितको ज्ञापनपत्र राष्ट्र सङघीय महासचिव गुटेरेसलाई हस्तान्तरण गरिन् ।
अगस्ट ५ तारिखदेखि सेप्टेम्बरको आधाआधीसम्म #NomoreTrump अभियानका क्रममा सङ्कलन गरिएको हस्ताक्षरको मूलप्रति संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभा बैठक र महासचिव गुटेरेसलाई बुझाइएको हो ।
एक करोड ९० लाख मतदाता रहेको भेनेजुयलामा एक करोड ३० लाखले नाकाबन्दीको विरोध र माडुरो सरकारको पक्षमा गरेको हस्ताक्षरले पनि राष्ट्रपति माडुरोको जनतामाझ अत्यधिक लोकप्रियता र वैधानिकतालाई पुष्टि गरेको छ ।
२४ सेप्टेम्बरका दिन अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणपछि भेनेजुयाली कूटनीतिज्ञहरूले मुक्तिदाता सिमोन बोलिभारको पुस्तक वाचन गरेर ट्रम्पको विरोध गरेका थिए ।
आफ्नो बहुलठ्ठीपूर्ण भाषणका क्रममा ट्रम्पले “तानाशाह माडुरो क्युवाली कठपुतली, क्युवाली अङ्गरक्षकहरूद्वारा रक्षा गरिएका”, हाम्रा देशहरूले सामना गरिरहेका गम्भीर समस्याहरूमध्ये एक” “समाजवादको भूत…देशलाई विध्वंस गर्ने र समाजलाई विध्वंस गर्ने” जस्ता आरोप लगाएका थिए ।
त्यसको जवाफमा भेनेजुयाली कूटनीतिज्ञ ड्यानियला रोड्रिगेजले @danialerodrimar मा ट्वीट गर्दै लेखिन् – “क्यारिबियाली देशका समाजवादबारे संरा अमेरिकी राष्ट्रपति ट्रम्पको बद्ख्वाइँको विरोधमा हामी भेनेजुयाली प्रतिनिधिहरूले स्वाधीनताका नायक सिमोन बोलिभारको पुस्तक अध्ययन ग¥यौँ । बोलिभार एक वीर नायक, आदर्श नेता र एक निर्विवाद दार्शनिक थिए । ट्रम्पले आफ्नो जातिवादी र साम्राज्यवादी भाषणले संयुक्त राष्ट्र सङ्घको महासभाको अवमूल्यन् गरिरहेका बेला हामीले मुक्तिदाता बोलिभारको पुस्तक वाचन ग¥यौँ । बोलिभार अमर रहून् ! भेनेजुयला जिन्दावाद ! साम्राज्यवादको अगाडि नझुक्ने भेनेजुयाली जनता जिन्दावाद ! भेनेजुयलामाथिको हस्तक्षेप अन्त्य गर !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *