भर्खरै :

नेकपालाई सी विचारधाराः भालुलाई पुराण

काठमाडौँ, २० असोज । चीनले आज चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको नाममा प्रतिपादित सी चिनफिङ विचारधाराको प्रयोग गरिरहेको छ । सी विचारधाराको चर्चाले केही साताअघि नेपाली राजनीति पनि मज्जाले तात्यो । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओको नेपाल भ्रमणको क्रममा आयोजित ‘सी चिनफिङ विचारधारासम्बन्धी प्रशिक्षण’ले पनि यो विषयलाई अझ मलजल ग¥यो । सी विचारधारालाई सत्तारूढ नेकपासँग जोडेर अनेकथरी अडकलबाजी र विश्लेषण पनि गरिए । सत्तारूढ दलले सी विचारधारा ‘पछ्याएको’ वा नेकपाले ‘सी विचारधाराबाट सिकेर नेपालको विकास गर्न खोजेको’ जस्ता प्रचारबाजी पनि गरियो । तर, सी विचारधाराबारे आधारभूत जानकारी भएको जो कोहीलाई सत्तारूढ नेकपाले आज गरिरहेका गतिविधि सी विचारधाराभन्दा ठीक उल्टो भएको निष्कर्ष निकाल्न गा¥हो पर्दैन ।
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएसँगै सीले पार्टीभित्र मौलाएको पुँजीवादी विकृति नियन्त्रण गर्न केही महत्वपूर्ण निर्णय गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्म फैलिएको सुविधाभोगी चरित्रमाथि अङ्कुश लगाउन पार्टी अनुशासनलाई कडाइ गरिएको थियो । कम्युनिस्ट पार्टीका सदस्यहरू जनताको सेवामा लाग्नुभन्दा राज्य र पार्टीको पैसा दुरूपयोग गरी मोजमस्ती गर्ने, फजुल खर्च गर्ने, परिणामशून्य काममा खर्च गर्ने र जनतासँग अनौपचारिक सम्बन्ध विकास गर्नमा भन्दा औपचारिक गतिविधिमा सीमित रहने समस्या थिए । ती समस्याले चिकपाका कार्यकर्ताहरूलाई जनताका वास्तविक समस्याबाट अलग बनाएको थियो । कम्युनिस्ट पार्टीको लागि जनता भनेको मलिलो माटो हो भन्ने पार्टीको मूल भावनालाई उपेक्षा गर्दै पार्टी कार्यकर्ताबाट भएका यस्ता गतिविधिले चिकपामात्र होइन, सम्पूर्णतः चीनकै भविष्यलाई धरापमा पार्नसक्थ्यो ।
खास समस्या समाधानमा ध्यान दिनुभन्दा पानीमाथिको ओभानो बन्ने पार्टी कार्यकर्तामा देखिएको समस्या समाधान गर्न चिकपाले योजनाबद्ध अभियान नै चलाउनुपरेको थियो । कार्यकर्ता औपचारिक काममा बढी अल्झँदा जरा तहका जनताका समस्या ओझेलमा परेको र नेताकै वरपर घुम्ने मानिसले मात्र बढी सुविधा पाएको समस्या सीको नेतृत्वले पहिचान गरी समाधानको लागि पार्टी नीतिमा कडाइ गरिएको थियो । नेताका परिवार र आफन्तले पार्टी र राज्यको सम्पत्ति दोहन गर्ने समस्या समाधानको निम्ति अठारौँ केन्द्रीय समितिले निर्देशिका जारी गरेको थियो ।
साना भ्रष्टाचारीमाथि मात्र कारबाही हुने अनि ठूला भ्रष्टाचारीमाथि कुनै कारबाही नहुने अवस्था अन्त्यको लागि सी चिनफिङले ‘झिङ्गा र बाघ’ नीति अघि सारेका थिए । भ्रष्टाचारी ‘झिङ्गा’ जस्तो साना वा ‘बाघ’ जस्तो ठूला र शक्तिशाली जस्तोसुकै भए पनि तिनलाई राज्य र पार्टीले कारबाही गर्ने लक्ष्यसहित त्यो नीति अघि सारिएको थियो । सी विचारधाराको खास आधार पार्टीभित्रका यस्ता अनुशासनका नियम हुन् । एक अर्ब ३० करोड जनसङ्ख्या भएको चीनमा चिकपाको सदस्य सङ्ख्या जम्मा ९ करोड छ । यो नीतिले चीनमा चिकपाको सदस्यता जो पायो त्यहीँले बन्न नपाउने वास्तविकता प्रस्ट हुन्छ । पार्टी सदस्यता लिन अनुशासनका निश्चित परीक्षा उत्तीर्ण गर्नुका साथै पार्टी सिद्धान्तको ज्ञान र प्रतिबद्धता आवश्यक पर्ने देखाउँछ ।
तर, नेकपाका गतिविधि नजिकबाट नियाल्दा भने ऊ ठीक उल्टो बाटोमा अघि बढिरहेको प्रस्ट छ । नेकपा सत्तारूढ हुनु त्यो दलका नेता–कार्यकर्ताको लागि लुटपाट गर्ने अवसर बनेको छ । नेकपाले सत्ता सम्हाले यता जो सुकैलाई पार्टीमा भित्याउने लहर चलेको छ । सत्ताको आशीर्वाद पाएर लोभी, पापीहरू सबै देशको ढुकुटी लुट्ने ‘अनुष्ठान’मा लागेका छन् ।
नेकपाका नेता–कार्यकर्तामात्र होइनन्, सिङ्गो पार्टी नै औपचारिकता र सस्तो लोकप्रियता कमाउने काममा बढी तल्लीन देखिन्छ । जनताको हितलाई भन्दा सस्तो प्रचारबाजीमा रमाउनु समग्र नेकपाको चरित्र बनेको छ । भ्रष्टाचार नियन्त्रणको लागि ‘झिङ्गा र बाघ’ नीति नेकपाको सन्दर्भमा ठीक उल्टो ढङ्गले कार्यान्वयन गरिएको छ । भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ को नाममा सरकारले केही ‘झिङ्गा’लाई कारबाही गरेको देखिए पनि ‘बाघ’हरू भने सरकारकै वरपर सत्ताको न्यानो तापिरहेका छन् ।
सी चिनफिङले चीनमा जस्तो विकृतिको जरामाथि हमला गर्न कडा नीति अपनाएका थिए, नेपालमा भने नेकपा तिनै विकृतिको दलदलमा फसेको मात्र छैन बरू तिनै विसङ्गतिलाई मलजल गरिरहेको छ । खासमा नेकपा यस्ता विकृतिकै जगमा आकार लिएको दल हो । यस्ता पुँजीवादी विकृतिबाट नेकपा मुक्त हुनसक्दैन । जुन दिन मुक्त हुन्छ त्यो दिन नेकपा नै रहन्न ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपाली राजनीतिको जटिलता नाप्न नसक्नु स्वाभाविक हो । नेकपा नामको दललाई आफूजस्तै सोच्दा उनीहरू नेपालमा आएर सी विचारधाराबारे प्रशिक्षण दिए । तर, आफ्नो प्रशिक्षण नेकपाको लागि ‘भालुलाई पुराण’ हुने कुरा उनीहरूले समयान्तरमा बुझ्दै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *