भर्खरै :

दसैँः कस्तो दसैँ

चाडबाड रमाइलो बनाउने नाममा दसैँमा नेपालीहरू औसतभन्दा बढी खानपिन गर्छन् । रक्सीका अनेकन ब्रान्डसँगै मासुका थरी थरीका परिकार खानुलाई दसैँको रमाइलो भनी अथ्र्याउने मानिसको कमी छैन । छोटो अवधिमा धेरै थरी परिकार शरीरको आवश्यकताभन्दा बढी सेवन गर्नु मानव स्वास्थ्यको लागि लाभकारी होइन । चाडबाडमा मानिसले शारीरिक श्रम कममात्र गर्छन् । कम शारीरिक श्रम गर्ने अवधिमा शरीरको आवश्यकताभन्दा बढी खानपिन गर्नु अस्वस्थकर हो ।
शारीरिक तथा मानसिक थकानबाट विश्राम गर्न नै पुर्खाले चाडबाडको थालनी गरेका थिए । जीवनवृत्ति निर्माणको क्रममा विभिन्न ठाउँमा छरिएका मानिसलाई चाडबाडले छोटो अवधिको लागि भए पनि एकै ठाउँमा पु¥याएको हुन्छ । त्यसैले चाडबाड मानिसलाई सामाजिक बनाउने अवसर पनि हो । तर, मानिसहरू चाडबाडका यस्ता मूल आयामप्रति बेवास्ता गर्दै आफैँलाई हानी पु¥याउने गतिविधिमा लाग्ने गरेका छन् । चाडबाडमा अत्यधिक मदिरापान र अस्वस्थ खानपिन आफूले आफैँलाई हानी पु¥याउनु हो ।
दसैँमा अत्यधिक पशु बध गरिन्छ । तर, हामीले वध गरेका र मासु खाएका पशु कति स्वस्थ हो र कदाचित पशु रोगी भए त्यसले हाम्रो स्वास्थ्यमा के कस्तो असर पार्ने गरेको छ भन्ने विषयमा हामी कमैले मात्र चिन्तन गर्छौँ । राज्यले पनि यो विषयमा कुनै चासो देखाउने गरेको छैन । आफूले खाने मासु खान योग्य हो वा होइन भन्ने विषयमा समेत बेवास्ता गर्नुले नेपाली समाजको चेतनास्तर अझै पछौटे भएको देखाउँछ ।
हाम्रा परम्परा र संस्कृतिका कतिपय पक्ष हिजोको समाजको आवश्यकताको ढाँचामा बनेका छन् । हिजोको ढाँचामा बनेका चाडबाड र परम्पराका कतिपय पक्षलाई आजको समाजको वास्तविकता सुहाउँदो बनाउनुपर्छ । हिजो कृषिमा आधारित समाजमा बनेका कतिपय परम्परा आजको सेवामा आधारित समाजको निम्ति अनुपयुक्त हुनसक्छ । कडा शारीरिक श्रमका कारण कृषिमा आधारित समाजको खानपिनमा जोड आवश्यकता थियो । तर, सेवामा आधारित समाजमा शारीरिक श्रमभन्दा मानसिक श्रम बढी हुने भएकोले खानपिन उस्तै हुनसक्दैन । तसर्थ, हिजोको चाडबाड मान्ने तरिका र आजको चाडबाड मान्ने तरिकामा केही भिन्नता जरुरी हुन्छ ।
पढेलेखेका मानिसको सङ्ख्या निकै कम भएको हिजोको समाज र समाजका अधिकांश मानिस पढेलेखेको आजको समाजले अरू विषयमा जस्तै चाडबाड मनाउने विषयमा पनि वैज्ञानिक कोणबाट सुधार गर्नुपर्छ ।
विशेषतः समाजका सामाजिक कार्यकर्ता, राजनीतिक कार्यकर्ता, शिक्षक, प्राध्यापक, लेखक–कलाकार आदि समाजको दिशाको नेतृत्व गर्ने अगुवाहरूले चाडबाडमा वैज्ञानिक सुधारको लागि पहल गर्न जरुरी छ । परम्परा र संस्कारको नाममा असान्दर्भिक र अवैज्ञानिक पक्षलाई क्रमशः छ्यास्दै जान यो समुदायका मानिसको सक्रियता आवश्यक छ । सामाजिक परिवर्तनको निम्ति कोही न कोहीले खतरा मोलेरै पनि कतिपय कदम चाल्नुपर्ने हुन्छ । त्यस्ता परिवर्तनलाई समाजलाई अग्रगति दिन भूमिका खेल्ने गर्छ । सबै मानिसले परम्पराका किल्ला एकैचोटि भत्किएको न आशा गर्न सक्छन् न स्वीकार्न नै । तर, प्रगतिशील चिन्तनले स्थापित गर्ने उदाहरणले नै समाजलाई अझ फराकिलो प्रगतिको बाटोमा डो¥याउने गर्छ ।
दसैँको नाममा अझै पनि समाजको चिन्तनमा जड बनेर बसेका अन्धविश्वास र मनोरञ्जनको नाममा फैलिएको विकृतिलाई छ्यास्ने जिम्मेवारी नेपाली समाजकै अगुवा समुदायको हो । यो जिम्मेवारी बहन गर्ने समुदायले समाजको सांस्कृतिक मूल्यलाई अक्षुण्ण राखी समयअनुसारको परिवर्तनको अगुवाइ गर्ने सन्तुलन कायम गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *