भर्खरै :

शनिबार सी आउँदै

काठमाडौँ, २२ असोज । आगामी शनिबार चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । बुधबार चिनियाँ विदेश मन्त्रालयबाट जारी वक्तव्यमा औपचारिकरूपमा सी नेपाल भ्रमणमा आउने जानकारी सार्वजनिक गरिएको हो । नेपाल आउनुअघि चीनका नेता भारत पुग्नु हुनेछ । भारतको चेन्नईमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नु हुनेछ । त्यसपछि उहाँ काठमाडौँ आउनु हुनेछ ।
भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै चिनियाँविदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले भारत र नेपाल भ्रमणलाई जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिक समारोहपछिकै सबभन्दा पहिलो कूटनीतिक प्रयास भएको बताउनुभयो । चीनले भारत र नेपालको यो भ्रमणलाई प्राथमिकतामा राखेको देखिएको छ ।
शुक्रबार चेन्नईमा हुने सी र मोदी भेटवार्ता सन् २०१८ मा चीनको उहान बैठककै निरन्तरता मानिएको छ । अनौपचारिकरूपमा हुने यस्ता भेटवार्ताले पछिल्लो समय चीन र भारतबीचको सम्बन्धमा भएका साना–ठूला समस्या समाधान गर्न मद्दत गर्दै आएको छ । उहान बैठकले त्यत्तिबेला चीन र भारतबीच चर्र्किएको डोक्लाम सीमा विवादमा दुवै देशलाई संयमित बनाएको थियो ।
बुधबारको पत्रकार भेटघाटमा बोल्दै चीनका सहायक विदेशमन्त्री लुओ चाओहुइले स्वतन्त्र व्यापार र आर्थिक विश्वव्यापीकरण आज अनेकन समस्याबीच अघि बढिरहेको छ, त्यसकारण दुई ठूला विकासशील देशहरूबीचको सहकार्य र संवाद निकै महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल भ्रमणमा आउनुअघि चीनका नेताहरूले पहिले भारतको भ्रमण गर्नु नयाँ कुरा होइन । चिनियाँ प्रधानमन्त्री चाओ एनलाई र विदेशमन्त्री चेन यी पनि भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आउनुभएको थियो । सी पनि यतिबेला भारतका प्रधानमन्त्री मोदीसँगको भेटपछि मात्र नेपालमा आउँदै हुनुहुन्छ । यसले चिनियाँ नेताहरू नेपालको कारण भारतसँगको आफ्नो सम्बन्धमा कुनै आँच परेको हेर्न चाहँदैनन् भन्ने कुरा प्रस्ट हुन्छ ।
राष्ट्रपति निर्वाचित भए यता सीले चीनका अधिकांश छिमेकी देशको औपचारिक भ्रमण गरे पनि सी पहिलो पटक शनिबार नेपाल आउन लाग्नुभएको हो । छिमेकी देशसँग सम्बन्ध राम्रो बनाउने सीको नीतिअनुसार नेपालमा सीको भ्रमण हुन लागेको देखिन्छ ।
सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको निकै पुरानो सम्बन्धले अझ नयाँ उचाइ हासिल गर्नेछ । चीन आज संसारकै उदयीमान आर्थिक शक्तिको रूपमा गति लिइरहेको छ । चीनको आर्थिक विकासको गतिलाई रोक्न संसारकै महाशक्ति मानिएको संरा अमेरिकाले प्रयास गर्दैछ । तर, त्यो उसको वशको कुरा रहेन । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा गएको अक्टोबर १ मा पेइचिङमा आयोजित समारोहमा सीले संसारको कुनै पनि शक्तिले चीनको विकास रोक्न नसक्ने घोषणा गर्नुभयो । सी राष्ट्रपति बनेपछि संसारमै चर्चा परिचर्चाको विषय बनेको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) आज चिनियाँ परिधिमा मात्र सीमित छैन । बीआरआई वरपर आज क्रमशः संसारका विकासशील र विकासोन्मुख देशहरू ऐक्यबद्ध भइरहेका छन् । नेपालले पनि बीआरआई सम्झौतामा हस्ताक्षर गरिसकेको छ । यसले पनि राष्ट्रपति सीलाई नेपालसँगको सम्बन्ध विस्तारमा सहज बनेको छ । पश्चिमा देशको पेलाइमा परेको बेल्ट एन्ड रोड परियोजनाको कार्यान्वयनमा नेपालका सरकारहरूले देखाउँदै आएको अनिच्छा सीको भ्रमणपछि सक्रिय कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
चीनले एकै रात वा वर्ष आजको विकासको उचाइ हासिल गरेको होइन । झन्डै एक सय वर्षसम्म विदेशी उपनिवेशवादको दलदलमा फसेको चीनको स्वाधीनता र स्वतन्त्रताको लागि सङ्घर्ष नै पनि कम कष्टसाध्य थिएन । जनवादी गणतन्त्र स्थापनापछि चिनियाँ जनताको निम्ति आजको समृद्धि हासिल गर्न त्यत्ति सहज थिएन । अझै पनि अघि बढ्ने सबै खड्को मेटिसकेको छैन । चीन सुन फल्ने देश न हिजो थियो, न आज । चिनियाँ जनताको मिहिनेतले नै चीनले आजको सफलता हासिल गरेको हो ।
नेपाली जनता चिनियाँ जनताका छिमेकी हुन् । चिनियाँ जनताको आफ्नै भूमिमा सुन फलाउने पौरख आज नेपाली जनताले पनि सिक्नुपर्छ । आजसम्मका नेपाली शासकहरूले कुनै पनि विदेशी शक्तिसामु हात फैलाउनमात्र सिके । सीको भ्रमणको क्रममा पनि अहिलेको सरकारले हात खाल्डो पारेर माग्नेछ । यसले नेपाल र चीनबीचको सम्बन्धलाई उचाइमा पु¥याउने छैन । बरु नेपालको छविलाई अझ होचो बनाउनेछ । नेपालले मागेका कुरा पूरा गरिदिन चीनको लागि त्यत्ति गा¥हो विषय नबन्ला । तर, अरूको खुट्टामा उभिएर गरेको विकासको नियति दिगो बन्दैन । चीनले विगतमा नेपालको मागअनुसार नै ट्रलिबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना आदि उद्योग कलकारखाना बनाइदिएको थियो । तर, ती पूर्वाधार कौडीको मोलमा निजीकरण गरिए वा बन्द नै भए । सी भ्रमणको क्रममा नेपालले चीनसँग मागेका पूर्वाधारमा नेपाली जनताको दायित्व समावेश नगर्ने हो भने समयान्तरमा त्यही नियति दोहोरिनेमा कुनै सन्देह छैन । तसर्थ, सीको भ्रमणलाई चीनसँग माग्ने अवसरको रुपमा होइन, चीनले आफ्नो सय वर्ष पुरानो स्वाधीनता सङ्घर्ष र ७० वर्षको जनवादी व्यवस्थाबाट सिक्ने अवसरको रुपमा लिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *