भर्खरै :

नेपालभाषा साहित्य तः मँुज्या आजदेखि सुरु

भक्तपुर, २२ असोज । जनता म्वाःसा भाषा म्वाइ (जनता बाँचे भाषा बाँच्छ) भन्ने नाराका साथ ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या (बृहत् साहित्य सम्मेलन) आज बिहीबारदेखि इताछेँको न: पुखुनेर हुँदै छ ।
नेपाल संवत् ११३९ कौलाथ्व द्वादशी र त्रयोदशी (असोज २३ र २४) गते हुने दुईदिने सो सम्मेलन दिनको १ बजे सुरु हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा हुने सो सम्मेलनमा पहिलो दिन शिक्षक उद्धव सुजखू र दोस्रो दिन अधिवक्ता अनिता जधारीले सभापतित्व गर्नुहुनेछ ।
सम्मेलनको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक तथा डाफा भजनका गुरु गोपसीं बोय्जूले गर्नुहुनेछ ।
सम्मेलनमा डा. अशोकानन्द मिश्र, वरिष्ठ हास्य कलाकार ध्रुवरत्न हाडालगायत स्थानीय वाद्यकर्मी तथा सांस्कृतिक गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
पहिलो दिन आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातां र दोस्रो दिन उपाध्यक्ष गणेशप्रसाद सुवालले स्वागत मन्तव्य दिनुहुनेछ । सम्मेलनमा दिउँसो साहित्य वाचन, गीत, साहित्यकार तथा विज्ञहरूको मन्तव्य प्रस्तुत हुनेछ भने राति ख्याल, नाटक र नृत्य देखाइने छ ।
सम्मेलनमा नयाँ पुराना झन्डै तीन दर्जन साहित्यप्रेमी तथा साहित्यकारहरूले कविता वाचन गर्नेछन् भने झन्डै एक दर्जनले कथा वाचन गर्नेछन् ।
आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातांका अनुसार सम्मेलनमा संविधानविद्, संस्कृतिविद्, कानुनविद्, जलस्रोतविद्, शिक्षाविद्, साहित्यकार तथा अन्य विशिष्ट व्यक्तिहरूको मन्तव्य दिने कार्यक्रम रहेको छ ।
सम्मेलनमा साथ दिने सहयोगी सबैलाई धन्यवाद दिंदै अध्यक्ष मातांले सम्मेलन सफल पार्न समयमै सहभागी हुन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।
सम्मेलन सफल पार्न आयोजक समिति (ग्वसाखल) ले ब्वना पौ (निमन्त्रणा पत्र), अपिल वितरण तथा अन्य प्रचारात्मक ब्यानरहरू ठाउँ–ठाउँमा राखिसकेको छ ।
अपिलमा विगतमा झैं आर्थिक, नैतिक र भौतिक सहयोगको लागि सबैमा आग्रह गरिएको छ ।
अपिलमा भनिएको छ, हाम्रो संस्कृति भाषा, साहित्य र कला उत्थान गर्ने उद्देश्यका साथै समसामयिक राजनीतिक विषयमा जनतालाई सचेत गर्न नेपालभाषा साहित्य तःमुँज्या सञ्चालन भइरहेको हो ।
हाम्रो साहित्यिक दबु राजनीतिक आन्दोलन पनि हो । यो दबुले कामदार वर्गको लागि मुक्तिको आवाज उठाउँदै जनताका साहित्यकार जन्माइरहेको सर्वविदित्तै छ । हाम्रो साहित्यिक दबु श्रमिक जनताले निर्माण गर्छ, श्रमिक जनताले नै साहित्य सृजना गर्छ । यही नै सम्मेलनको विशेषता र गौरव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *