भर्खरै :

कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा उनलाई बिजुक्छेँको सन्देश

कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापनाको दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार कोरियाली मजदुर पार्टीका अध्यक्ष मार्सल किम जङ उनलाई शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशको नेपाली अनुवाद पाठकको जानकारीको लागि प्रस्तुत छ ः
महामहिम मार्सल किम जङ उन
अध्यक्ष, कोरियाली मजदुर पार्टी
अध्यक्ष, प्रजग कोरिया राज्य मामला आयोग
सर्वोच्च कमान्डर, कोरियाली जनसेना
प्योङयाङ, प्रजग कोरिया ।
महामहिम,
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति, सबै पार्टी कार्यकर्ता र सदस्यहरूको तर्फबाट महामहिमज्यू र कोरियाली मजदुर पार्टीका सबै सदस्यहरूप्रति न्यानो शुभकामना र हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ ।
पितृभूमि मुक्ति युद्ध, समाजवादी क्रान्ति र समाजवादी निर्माण तथा जटिल विश्व परिस्थितिबीच क्रान्तिकारी पार्टी निर्माणमा कोरियाली मजदुर पार्टीले हासिल गरेका ऐतिहासिक उपलब्धि र सफलता देख्दा र अनुभव गर्दा हामीलाई गौरव र खुसी महसुस भएको छ । महान नेता किम इल सङले राख्नुभएको कोरियाली मजदुर पार्टीको साङ्गठनिक र वैचारिक जग दिनानुदिन बलियो बन्दै गएकोमा कोरियाली मजदुर पार्टीको मित्रपार्टी हुनुको नाताले नेपाल मजदुर किसान पार्टी खुसी व्यक्त गर्दछ । क्रान्तिकारी जुछे विचारधारा साथमा बोकेर कोरियाली मजदुर पार्टीले हासिल गरिरहेको गति हाम्रो लागि गौरवको विषय हो । बलियो वैचारिक आधार, जनताबीच एकमनको एकता र प्रतिभाशाली नेतृत्वले कोरियाली मजदुर पार्टीलाई जुछेमा आधारित कामदार जनताको क्रान्तिकारी पार्टी बनाएको छ । कोरियाली मजदुर पार्टीले दिलोज्यानले समाजवादी विचारधाराको रक्षा गर्दै आएको छ ।
वीर कोरियाली जनता जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध दसकौँदेखि लड्दै आएका छन् । कोरियाली मजदुर पार्टीको अपराजयी रातो झन्डामुनि अन्तिम विजयसम्म कोरियाली जनता लडिरहनेछन् । कोरिया प्रायःद्विपको शान्तिपूर्ण पुनः एकीकरण गर्ने महान नेता किम इल सङको सपना र नेता किम जङ इलको दृढ इच्छा अझै पनि साकार भइसकेको छैन । महामहिमको गतिशील नेतृत्वमा कोरियाली मजदुर पार्टीले यो सपना साकार पार्न अघि बढ्ने हामी दृढ विश्वास व्यक्त गर्दछौँ ।
संरा अमेरिकासँग यसअघि भएका हरेक वार्तामा र चालू वार्तामा प्रजग कोरियाको दृढ अडानले प्रजग कोरियामा शान्ति स्थापना हुने, राष्ट्रिय स्वाधीनताको विवेकपूर्वक रक्षा हुने र कोरिया प्रायःद्विपमा युद्धको अवस्था अन्त्य हुनेमा हामी बलियो विश्वास व्यक्त गर्दछौँ । संरा अमेरिकी साम्राज्यवाद र अरू क्षेत्रीय युद्ध उत्तेजक शक्तिविरुद्ध वीर कोरियाली जनताले अथकरूपमा गरिरहेको सङ्घर्षप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ । संरा अमेरिकाले प्रजग कोरियामाथि थोपरेको क्रुर र अन्यायपूर्ण नाकाबन्दी अन्त्य हुनुपर्नेमा हामी जोड दिन चाहन्छौँ । एसियामा शान्ति सुनिश्चित गर्न दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेना निशर्त तत्काल फिर्ता गर्नुपर्छ । एउटा सार्वभौम देशको रूपमा आफ्नो राष्ट्रिय स्वाधीनता रक्षा गर्ने शक्ति बलियो बनाउन प्रजग कोरिया स्वतन्त्र रहेकोमा हामी प्रस्ट छौँ । प्रजग कोरिया विश्व शान्ति र एसियामा शान्ति कायम गर्न प्रतिबद्ध रहेको संसारलाई थाहा छ ।
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवस धुमधामसँग मनाइरहेको बेला नेपाल मजदुर किसान पार्टी महामहिमज्यूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ । हामी विजयी समाजवादी कोरिया र शान्तिपूर्ण तथा समृद्ध कोरियाली समाज निर्माणमा सफलताको कामना गर्न चाहन्छौँ । नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ गहिरो र बलियो हुनेमा हामी विश्वास व्यक्त गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको मित्रता जिन्दावाद !
न्यानो अभिवादनसहित
नारायणमान बिजुक्छँे (रोहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *