भर्खरै :

प्रतिकूलताबीच हाँस्न–हँसाउन नछोड्ने कलाकार ध्रुवरत्न हाडा

कलाकार ध्रुवरत्न हाडाको जन्म विसं २००२ पुस १ गते भक्तपुरको दरबार क्षेत्र इच्छु टोलमा भएको थियो । उहाँको पिताको नाम जगतरत्न हाडा र माताको नाम कृष्णकुमारी हाडा हो । उहाँले आफ्नो विद्यालय शिक्षा शारदा माध्यामिक विद्यालयबाट हासिल गर्नुभयो भने उच्च शिक्षा काठमाडौँको शङ्करदेव क्याम्पसबाट पूरा गर्नुभयो ।
बाल्यकालदेखि नै हाडामा कलाकार हुने सपना थियो । त्यसकारण उहाँ आफूले अध्ययन गरेका विद्यालय र कलेजमा आयोजना हुने विविध कार्यक्रममा आफूसँग भएको प्रतिभा प्रस्फुटन गर्नुभयो । २०१२ सालमा त्यत्तिबेला भक्तपुरमा निकै लोकप्रिय नृत्यकला मन्दिरको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा हाडाले हाँस्यव्यङ्ग्यमा अभिनय गर्नुभयो । हरेक वर्ष गाईजात्राको समयमा उहाँले हाँस्यव्यङ्ग्यमा अभिनय गरी जनताको मनमा सिद्धहस्त कलाकारको रूपमा आफ्नो परिचय बनाउनुभयो ।
आफू र आफ्ना साथीहरूसँग भएको प्रतिभा विकास गर्न तथा कला र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले हाडाकै अग्रसरतामा ख्याल खलः नामको नाट्य संस्था स्थापना गरियो । सो संस्थाले प्रदर्शन गरेको ‘राम बनवास’ नामको हाँस्यव्यङ्ग्य आज पनि भक्तपुरको पुरानो पुस्ताले बिर्सेका छैनन् ।
२०२४ सालमा उहाँ जीवनवृत्तिको क्रममा प्रहरी सेवामा सामेल हुनुभयो । तर, कलाकारिताप्रति उहाँको मोह कति पनि कम भएन । बरु अझ विस्तार हुँदै गयो । विभिन्न संस्थाको आयोजनामा हुने विभिन्न सांस्कृतिक गतिविधि र प्रतियोगितामा उहाँ सामेल भई पुरस्कार जित्नुभयो । देश र विदेशका विभिन्न संस्थाले उहाँलाई हाँस्यकलाकारको रूपमा पुरस्कार र सम्मान गरेका छन् ।
“भक्तपुर पहिलेदेखि नै सांस्कृतिक गतिविधिको लागि लोकप्रिय ठाउँ हो । पहिलेको तुलनामा आजभोलि गाईजात्रामा सिद्धहस्त नाटक र हाँस्यव्यङ्ग्य कममात्र प्रदर्शन हुने गरेको छ । पहिले गाईजात्रामा प्रदर्शन हुने हरिदासका ख्यालजस्ता उत्कृष्ट सांस्कृतिक प्रस्तुति आजभोलि देख्न पाइन्न । यसको मूल कारण कलाकारले प्रोत्साहन पाउन नसक्नु हुनसक्छ । त्यसकारण कलाकारलाई प्रोत्साहन दिए कलाकारिता अझ फलिफलाप हुनेछ”, हाडा भन्नुहुन्छ ।
ध्रुवरत्न हाडा लोकप्रिय हाँस्यकलाकार हुनुहुन्छ । आज पनि उहाँले कलाकारिता क्षेत्रलाई निरन्तरता दिनुभएको छ । उहाँ भक्तपुरको गौरव हुनुहुन्छ ।
कृष्ण नापित, राध्येश्याम जोन्छें, राजपाल थापा, पदम विष्ट, छत्र गुरुङ्ग, मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, मिरा राणा, नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, ओमविक्रम राणा, तारादेवी, गंगा मल्ल, बसुन्धरा भुसाल, एन पी ग्वारा, शिवशंकर र नाती काजी हाडाका समकालीन कलाकारहरू हुनुहुन्छ ।
उहाँसँग कुनै अविस्मरणीय घटनाबारे सोध्दा भन्नुभयो, “एक दिन स्वर सम्राट नारायण गोपालसँग कीर्तिपुरमा एउटा सांस्कृतिक कार्यक्रममा सहभागी बन्न गयौं । कार्यक्रम सकिँदा रातको एक बजिसकेको थियो । घर पुग्दा सबै सुतिसकेका थिए । ढोका बन्द थियो । आमालाई बोलाएँ । बुबाले झ्यालबाट हेर्नुभयो । मेरो हातमा सारङ्गी झुन्डिएकै थियो । तातो रिसमा बुबाले झ्यालबाटै चिच्यिाउनुभयो, “त्यही सारङ्गी बोकेर घर घर दैलो दैलो चहार्दै मागेर खा । घर आउनुपर्दैन । आजबाट तँ गाइने भइस् । जा ।”
त्यत्तिबेलाको समाजले कलाकारितालाई हेर्ने नजर यो अभिव्यक्तिबाट प्रस्ट हुन्छ । यस्ता अनेकन प्रतिकूलता सामना गर्दै समाजमा परिवर्तनको लागि लाग्ने कलाकार हाडाप्रति हार्दिक सम्मान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *