भक्तपुर, २७ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा खाना व्यवस्थापनमा सहयोग गर्ने कार्यकर्तालाई धन्यवाद ज्ञापन कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुरका जनता धेरै पहिलेदेखि न्यायप्रेमी र साम्राज्यवादविरोधी रहेको चर्चा गर्दै अमेरिकी साम्राज्यवादले भियतनाममाथि हस्तक्षेप गर्दा सर्वप्रथम एसियामै भक्तपुरका सङ्घर्षशील जनताले विरोध जुलुस गरेको र भारतीय विस्तारवादले नेपालको सुस्तामाथि अतिक्रमण गर्दा विरोध जुलुस गरेको स्मरण गर्नुभयो ।
हिजो पञ्च र काङ्ग्रेसीहरू देश र जनतालाई कुठाराघात गरी आफ्नो स्वार्थका लागि विदेशीका दलाल बनेका र आजका शासकहरू पनि तिनीहरूकै पदचापमा लागेकाले नाम नेकपा राखे पनि कामले तिनीहरू पुँजीवादी देखिइसकेको स्पष्ट पार्दै उहाँले शासक दलका नेता– कार्यकर्ताहरू भ्रष्ट मनस्थितिका भएकाले देशले दुर्गति भोग्नुपरेको हो भन्नुभयो ।
उहाँले परम्परागत संस्कृतिलाई बिथोल्ने उद्देश्यले नै शासकहरूले धर्मको नाउँमा संस्कृतिविपरीत पैसा बाँडिरहेको बताउनुभयो ।
“शासक दलका नेताहरूले जनतालाई भ्रष्ट पार्न चुनावमा होस् या जात्रा पर्वमा पैसा वितरण गरेर जनताबीच फुट ल्याउने कुचेष्टा गर्दै छन्, यसबारे जनतालाई सचेत बनाउनुपर्छ ।” उहाँले भन्नुभयो ।
वर्तमान सरकारले किसानहरूको जग्गा हदबन्दीको नाउँमा बाबुबाजेको पालाको जग्गालाई नातिनातिनाको पालामा समेत बाँडफाँड गर्न रोक लगाउनु उचित नभएको प्रस्ट पार्दै उहाँले भूमिसम्बन्धी कानुन उपयुक्त नभएको, व्यवसायिक खेती र उद्योग सञ्चालन गर्ने नाउँमा हजारौँ रोपनी भएका पुँजीपति वर्गलाई जग्गाको हदबन्दी लागू नगर्ने यो सरकार किसानविरोधी भएको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले सर्तसहितको विदेशी सहयोग लिए देशमा विदेशीको उपनिवेश बन्ने खतरा रहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टीको सातौँ महाधिवेशनको भव्य सहभागिता, अनुशासित ¥याली, जनताको मैत्रीपूर्ण भावनाले बाहिरी जिल्लाबाट आउनुभएका पाहुनाहरू उत्साहित भएर फर्केको बताउँदै बहुमत कामदार वर्गलाई राजनैतिक र सैद्धान्तिकरूपले सचेत पारी जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादबारे प्रशिक्षित भई आ–आफ्नो क्षेत्रमा अघि बढ्नु जरुरी छ भन्नुभयो ।
उहाँले भक्तपुर अस्पतालको अस्तव्यस्तताबारे स्पष्ट पार्दै शासक दलहरूको राजनैतिक नियुक्तिले भ्रष्टाचार झन् मौलाएको स्पष्ट पार्दै १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको अस्पतालमा दरबन्दीअनुसार चिकित्सक र नर्सहरू नहुनाले आज भक्तपुर अस्पताल सेवाविहीन हुन पुगेकोे छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले सातौँ महाधिवेशनको सन्देश जिल्ला–जिल्ला, गाउँबस्ती, घरघरमा पु¥याउनु हाम्रो कर्तव्य हो भन्नुभयो । उहाँले बहुमत कामदार वर्गलाई शासक वर्गमा परिणत गर्न पार्टीका प्रकाशनहरू अध्ययन र छलफल गरेर कार्यकर्ताको सैद्धान्तिक स्तर उकास्नु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष गोविन्द दुवालले महाधिवेशनले पुराना र नयाँ कार्यकर्ताहरू उत्साहित बनाएको बताउँदै विगतको इतिहासबाट सिकेर नयाँ पुस्ता अघि बढ्नु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्यद्वय राम प्रजापति र पूर्णगोपाल राजचलले पनि मन्तव्य राख्नुभयो ।