भर्खरै :

नवउदारवादले अस्थिर बन्दै ल्याटिन अमेरिकी देशहरू : चोम्स्कीलगायत अन्तर्राष्ट्रिय प्राज्ञहरूको चासो

काठमाडौँ, २७ असोज । संरा अमेरिका, स्पेन र उरूग्वेका प्राज्ञ एवम् राजनीतिक चिन्तकहरूले ल्याटिन अमेरिकी देश इक्वेडर र समग्र ल्याटिन अमेरिकाको पछिल्लो विकसित परिस्थितिलाई असफल बनिसकेको नवउदारवादी चिन्तनको परिणाम भएको बताएका छन् । विख्यात अमेरिकी चिन्तक नोम चोम्स्की, मानुएल कास्टेल्स, जर्ज मजफुड र इमिलिओ कफस्सीले ‘मानव जीवनलाई जोड दिने प्रगतिशील, उपभोक्तावादविरोधी, वास्तविक प्रजातन्त्र’ माथि ‘एक प्रतिशत शासकहरू’ हावी भएको विश्लेषण गरेका हुन् । चार जना विद्वानद्वारा हस्ताक्षरित वक्तव्य अर्जेन्टिनाको समाचारपत्र ‘पगिना १२’ मा प्रकाशित भएको हो । वक्तव्यमा भनिएको छ, “सबैको ध्यान इक्वेडरको लज्जाजनक अवस्थाप्रति केन्द्रित छ । तर, ल्याटिन अमेरिकाका अधिकांश देश आज गहिरो भय र अनिश्चयको भुँवरीमा फसेका छन् ।”
प्राज्ञहरूले ल्याटिन अमेरिकी क्षेत्रमा नवउदारवादको विकल्पमा देखापरेका अरू राजनीतिक व्यवस्था आफ्नै गल्तीका कारण अथवा विश्व महाशक्तिले थोपरेको आपराधिक आर्थिक नाकाबन्दीका कारण असफल बन्दा नवउदारवाद अझ तेजिलो बनेको विश्लेषण गरे ।
“हामीले यी पङ्क्ति लेख्दै गर्दा इक्वेडरको सरकारले जनतालाई मारिरहेको छ, घाइते बनाउने र गिरफ्तार गरिरहेको छ । तर, इक्वेडरमा आज चालू आन्दोलन ल्याटिन अमेरिका क्षेत्रमा अहिले फैलिएको मानवीय सङ्कटको विरोधमा उठिरहेको हो”, वक्तव्यमा भनिएको छ । उनीहरूले कोलम्बियामा क्रान्तिकारी सशस्त्र सेनासँग त्यहाँको सरकारले सम्झौता तोड्नु, पेरूको राजनीतिक सङ्कट, अर्जेन्टिनामा बढ्दो निरपेक्ष गरिबी दर र चिली तथा ब्राजिलमा गहिरिँदो असमानताप्रति चासो व्यक्त गरे ।
उनीहरूले समाजको ‘एक प्रतिशत’ ले सम्पूर्ण समाजको फल आफ्नो पोल्टामा पारेकोले थप समस्या बल्झिएको बताए ।
वक्तव्यमा उनीहरूले एक दिन सबैको लागि उपयुक्त संसार निर्माण हुने आशा व्यक्त गरे ।
“कोही अल्पमतले चुनेको भगवानको लागि मात्र यो संसार हुनुहुन्न”, वक्तव्यमा उल्लेख छ ।
(टेलिसुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *