सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
छिमेकी देश भारतको संसदमा जघन्य अपराधीको बाहुल्य हुने गरेको समाचार नयाँ होइन । जघन्य अपराधबापत कानुनअनुसार हुने सजायबाट जोगिन नै अपराधीहरू शासक दलको संरक्षण लिने गर्छन् । भारतको यो रोग नेपालमा पनि क्रमशः सङ्क्रमण भइरहेको छ । नेपालको संसदमा पनि आजभोलि जघन्य अपराधीको सङ्ख्या क्रमशः बढिरहेको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरादेखि कैलालीका रेशम चौधरी हुँदै रौतहटका सांसद अफताब आलमका कारण नेपालको संसद बदनाम भइरहेको छ ।
सिद्धान्ततः संसद देश र जनताको सेवा गर्ने उच्च मूल्य र नैतिकवान मानिसको थलो हुनुपर्छ । जनताको विश्वास जितेर देश र जनताको सेवा गर्न सपथ खाएका सांसदहरू नागरिकको लागि उदाहरणीय र आदर्श बन्नुपर्ने हो । नयाँ पुस्ताले सांसदहरूलाई जीवनको आदर्श मान्ने अवस्था बन्नुपर्ने हो । तर, पुँजीवादी राजनीतिले सांसद पदलाई फोहोरी र बदनाम बनाउने गरेको छ । नैतिकवान र विचारवान मानिसले भन्दा पैसा खर्च गरेर जस्तोसुकै अनैतिक काम गर्न पनि पछि नहट्ने मानिसले चुनाव जित्ने अवस्था बन्दा संसद अनैतिकता र आदर्शहीनताको केन्द्र बनेको छ । नैतिकता र आदर्श त्यागेर जस्तोसुकै अपराध गर्न अग्रसर हुने व्यक्ति नै मूलतः निर्वाचनमा जित्ने गर्छन् । अपराधीहरूको लागि राजनीति, सांसद, मन्त्री हुनु भनेको आफ्नो अपराधबाट जोगिने छाता ओढ्नु हो ।
महरादेखि आलाममा देखिएको नैतिक स्खलन र आपराधिक चरित्र वास्तवमा व्यक्तिको कमजोरीमात्र होइन । बरू यो पुँजीवादी व्यवस्थाको प्रणालीले नै निम्त्याउने समस्या हो । पुँजीवादी व्यवस्थाले भ्रष्टाचार र अनैतिकतालाई नै कानुनी वैधता दिएको हुन्छ जसले उच्चपदस्थलाई अपराध र भ्रष्टाचार गर्न उत्साहित बनाउने गर्छ ।
नेपाली समाजमा अझै पनि सामन्ती चिन्तन मेटिसकेको छैन । पद र शक्तिको पुजा गर्ने र अरुलाई नगन्ने प्रवृत्ति नेपाली समाजमा कुनै न कुनै रुपमा देखिन्छ । यसले पदमा बसेको मानिसमा अहम् भावना झाङ्गिन्छ । अहम्ले मानिसलाई कानुनभन्दा माथि भएको सोच्ने बनाउँछ । कानुनभन्दा माथि सोच्ने मानिसले अपराध गर्न पछि हट्दैन । पुँजीवादी प्रणालीले नै मानिसलाई अपराध गर्न उक्साउने गर्दछ ।
राजनीतिलाई जनताको निःस्वार्थ भावनाले सेवा गर्नुभन्दा आफ्नो व्यक्तिगत प्रभाव विस्तार गर्ने र राज्यशक्तिको प्रयोग गर्ने क्षेत्रको रुपमा लिने सोचाइले राजनीतिको आवरणमा अपराध उत्साहित हुने गर्छ । राजनीतिलाई कानुनभन्दा माथि राख्ने चलनले अपराधीहरू राजनीतिलाई सुरक्षाकवचको रुपमा दुरुपयोग गरिरहेका छन् । पछिल्लो समय एकपछि अर्को संसदहरूका कर्तुत बाहिरिएसँगै नेपाली जनतामा संसद र सांसदप्रतिको छवि नै धमिलिएको छ । संसद र सांसदप्रति नेपाली जनताको उच्च सम्मान नै यस्ता अपराधीहरूका कारण क्षीण बनेको देखिन्छ । शासक दलहरूले ठूलो बन्ने होडमा जस्तोसुकै मानिसलाई पनि पार्टीभित्र हुल्ने र सिद्धान्तभन्दा लोभ, मोह र व्यक्तिगत महत्वाकाङ्क्षा उकास्न दिंदा आज यस्तो समस्या देखिएको हो ।
यस्ता घटनाले नेपाली जनताले कुन दल कस्तो हो र कसले कुरा एक थरी र व्यवहार अर्को थरी गर्छ भन्ने कुरा थाहा पाउन सक्छन् । पुँजीवादी राजनीतिका दासहरू नै यस्ता अपराध गर्न तम्सिएका हुन्छन् । पुँजीवादको धारविरुद्ध हिँड्ने सांसदहरूको संसदभित्रै पनि अलग्गै छवि रहन्छ नै ।
Leave a Reply