प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
माइकल फक्स (Michael Fox)
संरा अमेरिकाले भेनेजुयलामाथि पूर्णस्तरको नाकाबन्दी लगाएको छ । युरोपेली सङ्घ–इयूले नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । ती सबैको लक्ष्य भनेको राष्ट्रपति निकोलस माडुरोलाई हटाउनु हो । तर, ती कदमहरूले भेनेजुयाली जनताको जीवनमाथि कडा प्रहार भइरहेका छन् र धेरैको ज्यान लिने देखिन्छ ।
क्यारोलिना सुबेरो आफ्नी आमा बहिनी र तीनजना केटाकेटीका साथ पूर्वी काराकसको काउकागुइटा गरिब बस्तीमा बस्छिन् । त्यहाँ उनीहरूको दुईटा सुत्ने कोठा भएको ब्लकले बनेको एकतले घर छ । सुबेरोका श्रीमान् अहिले परिवारलाई बाँच्न पुग्ने आम्दानीका लागि देशबाहिर काम गर्छन् ।
सुबेरो आफ्नी कान्छी छोरी जेन्जर्लिजलाई काखमा लिएर कुर्सीमा बस्छिन् । उनकी छोरी पाँच वर्षकी छिन्, लामो कालो कपाल र खैरो आँखा भएकी छिन् । तर, तिनी अटिज्म र स्नायुसम्बन्धी रोगले ग्रसित छिन् । यसको अर्थ तिनलाई औषधि नियमितरूपमा आवश्यक छ–तर तिनले अहिले पाइरहेकी छैनन् ।
“तिनलाई हरेक दिनजस्तो रोगले चाप्छ, औषधि दिइएमा धेरै नराम्रो अवस्था हुने गर्दैन । तर, हामीले नियमितरूपमा औषधि पाइरहेका छैनौँ ।” सुबेरोले भनिन् ।
जब तिनीहरूले औषधि पाउन सक्दैनन्, ती बच्चीलाई अस्पताल पु¥याउने गर्छन् । जेन्जर्लिजले आफ्नो रोगको उपचारका लागि दैनिक चार भिन्नाभिन्नै औषधि खानैपर्छ । तर, अहिले भेनेजुयलामाथि संरा अमेरिकी नाकाबन्दीका कारण ती अत्यावश्यक औषधिको आयातमा समेत रोक लगाइएको छ । जेन्जर्लिजकी आमा क्यारोलिनाले आफ्ना छोरीका लागि चारमध्ये १–२ थरीको औषधि मात्र पाउँछिन् र ती पनि अत्यन्तै महँगो भएका छन् ।
औषधिका चक्कीका एक सिसी दस दिनसम्मलाई मात्र पुग्छ त्यसको मूल्य ८ डलर (७.३ युरो) पर्छ । यसो हेर्दा त्यो महँगो होइन जस्तो देखिन्छ तर त्यस देशको भाग्यका लागि निकै महँगो मूल्य हो । मुद्रास्फिति र त्यहाँको पैसा बोलिभार सस्तो हुँदा अधिकांश वस्तुको मूल्य आकासिएको छ ।
“औषधिका लागि म हामीसित भएको खाद्यान्न बेच्ने गर्छु ।” क्यारोलिनाले भनिन् ।
जेन्जर्लिजजस्तै ३ लाख दीर्घरोगी भेनेजुयालीहरूले अहिले त्यस देशमाथि लगाइएको संरा अमेरिकी नाकाबन्दीका कारण नियमितरूपमा जरुरी औषधि पाउन नसकिरहेको अनुमान छ । त्यसमा नियमितरूपमा डाइलाइसिस गर्नुपर्ने रोगी र ८० हजार जना एचआईभी सङ्क्रमित पनि रहेका छन् । यी तथ्याड्ढ भेनेजुयला सरकारको होइन, बरु वासिङ्टनमा रहेको आर्थिक तथा नीति अनुसन्धान केन्द्रले अप्रिलमा प्रकाशित गरेको हो ।
भेनेजुयलाको परिस्थिति गत अगस्टमा संरा अमेरिकाले पूर्णस्तरको नाकाबन्दी लगाएपछि खराबबाट झन् खराब बनेको हो र गत हप्ता युरोपेली सङ्घ–ईयूले थप प्रतिबन्ध लगाएर खराबीलाई बढाउन ‘योगदान’ गरेको छ ।
“नाकाबन्दीमात्र सरकारको विरोधमा होइन, नाकाबन्दी मिर्गाैला रोगी, क्यान्सर रोगी र एचआईभीबाट पीडित जनताविरुद्ध पनि हो किनभने तिनीहरूले आफ्ना निम्ति जरुरी औषधि पाउन सकेका छैनन् । नाकाबन्दीका कारण हामीले औषधिजस्तो वस्तुको पनि आयात गर्न पाइरहेका छैनौँ ।” भेनेजुयलाका एचआईभी सङ्क्रमितका लागि रेट्रो भाइरल औषधि आयात र वितरण कार्यका इन्चार्ज मार्सेल क्विन्टानाले भनिन् ।
अमेरिकी दबाब
यी सबै समस्याको एउटै जड संरा अमेरिकाको प्रतिबन्धहरू र पूर्णस्तरको नाकाबन्दी हो । अमेरिकी सरकारले भेनेजुयलामाथि नाकाबन्दी थोपरेर यहाँका वैधानिक राष्ट्रपति निकोलस माडुरोलाई हटाउन चाहेको छ । ट्रम्प प्रशासनले खुलारूपमै भेनेजुयलाका दक्षिणपन्थी विपक्षी नेता तथा राष्ट्रियसभाका अध्यक्ष ह्वान ग्वाइडोलाई समर्थन दिएको छ । गत जनवरीमा ग्वाइडोले आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उक्त घोषणालाई तत्कालै संरा अमेरिका तथा केही दर्जन पश्चिमा राष्ट्र र पुँजीवादी सरकारहरूले मान्यता दिएका थिए ।
त्यसपछि ग्वाइडो र उनको मण्डलीले राष्ट्रपति माडुरोलाई अपदस्थ गर्न सडक प्रदर्शन, मानवीय सहायता भित्याउने भन्दै केही दर्जन ट्रकसहितको एक रोड शो र अप्रिल ३० का दिन असफल सैनिक विद्रोह गरेका थिए ।
तत्कालीन संरा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा भेनेजुयलाविरुद्ध प्रतिबन्ध लगाएदेखि अमेरिकी प्रतिबन्धहरू झन्–झन् कडा र आक्रामक हुँदै आएका छन् । संरा अमेरिकी सरकारको दबाबका कारण विदेशी कम्पनीहरूले भेनेजुयलासित व्यापार गर्न बन्द गरिदिएका छन् । विदेशी बैङ्कहरूले भेनेजुयालीहरूको विदेशी खाताहरू बन्द गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा प्रतिबन्धलाई झन् कडा बनाए र २०१९ मा भेनेजुयलाको राजकीय तेल कम्पनी पीडीभीएसएसित कच्चा तेल किन्न रोक लगाए । ट्रम्पद्वारा जारी प्रतिबन्ध र आदेशले नै ८ अर्ब मूल्यको अमेरिकास्थित भेनेजुयाली तेल प्रशोधन कम्पनी सित्गो (CITGO) लाई नियन्त्रण गरियो । यो भेनेजुयलामाथि बज्रमुक्का थियो, ती प्रतिबन्धले भेनेजुयलाको तेल उद्योगबाट हुने राजश्व आय ९० प्रतिशतले कटौती भयो ।
संरा अमेरिकाले विभिन्न देशका ५० भन्दा बढी बैङ्कमा भएका भेनेजुयलाको खातामा भएको ५.५ अर्ब अमेरिकी डलर पनि फ्रिज गर्न लगायो । भेनेजुयलाले कुनै माध्यमले आम्दानी नै गरे पनि विदेशी कम्पनीहरूलाई त्यस देशसित व्यापार नगर्न धम्की दिँदै र जरिवानाको चेतावनी दिँदै संरा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाएको छ ।
बिग्रेका साधन र टुटेका पार्टपुर्जा
भेनेजुयलाको राजधानी सहर काराकसलाई खानेपानी आपूर्ति गर्ने राज्यको निकाय हाइड्रोक्यापिटलका अनुसार करिब १५–२० प्रतिशत भेनेजुयालीहरूको पिउन योग्य पानीमा पहुँच पुग्न सकेको छैन । त्यसको कारण अरू केही नभएर सरकारले तिनीहरूको घरसम्म पानी पु¥याउन आवश्यक विदेशमा निर्मित पम्प र पाइपहरू नपाउनु नै हो ।
“नाकाबन्दीले हाम्रो स्थिति अत्यन्त कष्टकर बनेको छ । हामीले विभिन्न देशमा पम्पहरू र मोटरहरू पाइसकेका थियौँ र तिनीहरू मूल्य चुक्ता गरेर ल्याउनमात्र बाँकी थियो । त्यति नै खेर संरा अमेरिकाको शक्तिशाली हातको हस्तक्षेप भयो । तिनीहरूले बैड्ढमा भएका हाम्रा रकम रोकिदिए र हामीसित काम गरिरहेका कम्पनीहरूमाथि समेत प्रतिबन्ध लगाइदिए । हाम्रा जनताको जीवनमै असर पर्ने ती पम्प र मोटरहरू बिक्री गर्नमा समेत रोक लगाए ।” – हाइड्रोक्यापिटलका कार्यकारी उपाध्यक्ष मारिया फ्लोर्सले भनिन् ।
त्यसैले अहिले हाइड्रोक्यापिटलले ट्रक ट्याङ्कमा राखेर हरेक दिनजसो आवश्यक समुदायमा निःशुल्क पानी वितरण गरिरहेको छ । तर, यहाँ पनि नाकाबन्दीकै कारण सवारीका पार्टपुर्जा पाउन नसकेर कयौँ ट्रक बिग्रेर थन्किएका छन् । मारिया फ्लोर्सका अनुसार पार्टस्हरू नपाएर आफ्नो संस्थासित भएका सवारी साधनमध्ये ७५ प्रतिशत थन्किएका छन् र अहिले सीमित साधनमात्र चलिरहेका छन् ।
असमान सङ्कट
डलरमा पहुँच भएका काराकसको धनी क्षेत्रमा बसोबास गरेकाहरूका निम्ति नाकाबन्दीको आँधीले छोएको छैन ।
काराकास सहरको पूर्वी भागमा अवस्थित बहुतले साम्बिल मलमा उपभोग्य वस्तु भरिभराउ छ, कुनै चीजको अभाव छैन । त्यही मलको सबभन्दा माथिल्लो तल्लामा रहेको सुशी रेष्टुरेन्ट ग्राहकहरूले भरिभराउ छ । त्यहाँ दुई जनाले खाने खानाको मूल्य बराबरको रकम एकजना कामदारले मासिक पाउने ज्यालाभन्दा बढी छ । तर, गरिब बस्तीहरूमा गरिब कामदारहरू जीविका चलाउनका लागि एकभन्दा बढी काम गर्न खोज्छन् । धेरैले पाएसम्म डलर आउने काम खोज्छन् । अवसरकै खोजीमा लाखौँ जनता विदेशतिर पनि गएका छन् । क्यारोलिना सुबेरोका पति पनि त्यस्तै भेनेजुयालीहरूमध्ये एक हुन् । उनी हरेक महिना घरमा पैसा पठाउँछन् तर अहिले त्यसले उनीहरूका कान्छी छोरीको औषधि खर्चसम्मलाई पनि पुगिरहेको छैन ।
सुबेरो राष्ट्रपति माडुरोका समर्थक होइनन् तर पनि तिनी सरकारलाई दोष दिन्नन् ।
“सरकारले राम्रो गर्नका लागि सकेको गरिरहेको छ । समस्या अमेरिकी नाकाबन्दी नै हो । तिनीहरूलाई भेनेजुयाली जनताबारे मतलब छैन । तिनीहरू ठान्छन् कि नाकाबन्दी लगाएर राष्ट्रपति माडुरोलाई चोट पु¥याइरहेका छन् तर वास्तवमा तिनीहरूले जनतालाई चोट पु¥याइरहेका छन् । यदि तिनीहरूले साँच्चै भेनेजुयलाको हित चाहेका छन् भने तिनीहरूले यो सबै काम गर्ने थिएनन् जुन तिनीहरूले अहिले गरिरहेका छन् ।” – सुबेरो भन्छिन् ।
(माइकल फक्स जर्मन प्राध्यापक र विश्लेषक हुन् । उनी जर्मन समाचार संस्था ड्युत्से बेल्लेसँग सम्बन्धित छन् ।)
(The Human Cost of US Sanctions- on Venezuela October 3rd 2019)
अनुवाद : प्रकाश
Leave a Reply