भर्खरै :

विपद् व्यवस्थापनसम्बन्धी चारदिने अभिमुखीकरण सुरु

भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिकाको आयोजना र नेपाली सेना विपद् व्यवस्थापन शिक्षालयको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी चारदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन बुधबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त सीप र ज्ञान विपद्को समयमा उपयोग गर्न प्रेरित गर्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाले समाजलाई भन्दा पुँजीलाई महत्व दिने र नेकपा सरकारले पनि पुँजीपति वर्गको हितमा काम गरिरहेको प्रस्ट पार्दै जनता राजनैतिकरूपमा सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आर्थिक अनुशासनभित्र रहेर विकास निर्माण कार्यहरू उपभोक्ता समितिमार्फत जनसहभागिता र जनश्रमदान जुटाएर गरिरहेको जानकारी उहाँले गराउनुभयो ।
भक्तपुर नगरपालिकाले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको र आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रतिविद्यार्थी पाँच लाखसम्म सहुलियत व्याजदरमा ऋण प्रदान गर्दै आइरहेको प्रमुख प्रजापतिले प्रस्ट पार्नुभयो ।
विपद् व्यवस्थापन तालिमका प्रमुख प्रशिक्षक सेनानी दीपेन्द्र पोखरेलले नेपालमा आइपर्ने विपद् जोखिम न्यूनीकरण गर्न नेपाली सेनाले विभिन्न ठाउँहरूमा तालिम सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाबाट गठित विभिन्न समितिबाट वा युवाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *