भर्खरै :

संरा अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

इस्तानबुल, २९ असोज (एएफपी) । उत्तरी सिरियामा युद्धविरामका लागि संरा अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहनुभएको अवस्थामा एर्डोगानको त्यस्तो भनाइ आएको हो ।
सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज सहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको, तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकूलाई हटाइने सकारात्मक भएको एर्डोगानले बताउनुभएको छ ।
अमेरिकाले युद्धविराम घोषणा गर्न भने तापनि आफूहरूले कहिल्यै पनि युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किनुभएका एर्र्डोगानले पत्रकारलाई भन्नुभएको हूरिएट दैनिकले प्रकाशित गरेको छ ।
पेन्सले बिहीबार एर्डोगानलाई भेट गर्ने संरा अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कुनै समाधान नहुन्जेलसम्म टर्कीमा ‘आर्थिक प्रतिबन्ध लगाइने’ ट्रम्पको प्रतिबद्धता दोहो¥याइने पनि बताइएको छ ।
अमेरिकाले आफूहरूले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको तर आफूहरूको स्पष्ट लक्ष्य रहेको एर्डोगानले बताउनुभएको छ । अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उहाँले बताउनुभएको छ ।
टर्कीका नेता एर्डोगानले सिरियाली सेनाले मान्बिजलाई नियन्त्रणमा राख्नु भनेको ठूलो समस्या नभएको पनि बताउनुभएको सो समाचारमा जनाइएको छ ।
सिरियाली कुर्द लडाकू विरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।
उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।
संरा अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । संरा अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत रोकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *