भर्खरै :

तराईका जनताबीच सातौँ महाधिवेशनको सन्देश

सर्लाही, १ कार्तिक । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देशबारे जानकारी दिने उद्देश्यले नेमकिपा सर्लाहीको आयोजनामा चन्द्रनगर गाविसको कामट टोलमा शुक्रबार कार्यकर्ता तथा शुभचिन्तकहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले नेपालमा राजतन्त्र समाप्त भए पनि नयाँ राजाहरू उदय भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायती सरकारले गरेको कामलाई गणतन्त्रका सरकारहरूले पनि निरन्तरता दिइरहेकाले अहिले सरकार पञ्चे सरकारजस्तै कामदार र शोषित–पीडित जनताविरोधी छ ।”
तराईको उर्वर फाटमा सिँचाइको व्यवस्था गर्न नसक्नु, आवश्यक बेलामा मलखाद् व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईंले किसानको समस्या समाधान गर्न नसक्ने सरकार कसरी जनताको सरकार हुन्छ भनी प्रश्न गर्नुभयो ।
ओली सरकार कम्युनिस्ट सरकार नभई पुँजीवादी सरकार नै भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा जनतालाई राजनीतिकरूपमा सचेत पारी पुँजीवादी र समाजवादी व्यवस्थाको भिन्नताबारे हिमाल, पहाड र तराईका जनतालाई स्पष्ट पार्ने काम गर्दै छ । नेमकिपाको लक्ष्य जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद स्थापना गर्नु हो ।”
भारतीय सडक बाँधको कारण नेपालको तराई डुबानमा परी किसानहरू विस्थापित भइरहेकाले सबै जनता सङ्गठित भई भारतीय सीमा अतिक्रमण र विस्तारवादी नीतिविरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
तराईको शिक्षा–स्वास्थ्य र असुविधा हेर्दा तराईमा सरकारको उपस्थिति नभएको आभास हुन्छ, केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेश सदस्य सृजना सैंजूले नेमकिपाको साताँै महाधिवेशन जनताको आन्दोलनको सिलसिला भएको बताउनुभयो ।
ओली सरकारले ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारा दिएर कामदार जनतालाई ठगिरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ओली सरकारले कामदार, शोषित–पीडित जनताको हितमा कुनै काम गर्न सकिरहेको छैन ।”
विकृति र विसङ्गतिविरूद्ध लड्न सबभन्दा पहिले शिक्षित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अध्ययन र अन्तरक्रियामा सक्रियतापूर्वक लाग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा सर्लाहीका संयोजक दिनेशप्रसाद साह, केन्द्रीय सदस्य सरोज साह र रामाकान्त कापरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *