भर्खरै :

“दि एकेडेमी” को अन्तरक्रिया

भक्तपुर, ८ कार्तिक । वागीश्वरी माविमा ‘दि एकेडेमी’ वर्ष १ अङ्क २ को अन्तरक्रिया शुक्रबार सम्पन्न भयो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी कलेज र नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी स्कूल एकाइको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईंले अन्तरक्रियाको क्रममा ‘दि एकेडेमी’ मा प्रकाशित लेखहरूबारे आफ्नो विचार राख्ने शिक्षक–शिक्षिकाहरूलाई धन्यवाद दिँदै साथीहरूको आलोचनालाई मनन गरी आगामी अङ्कमा थप परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाउलो फ्रेरेका बारेमा प्रकाशित लेख अध्ययन गरेर त्यसबारे थप अध्ययन गर्ने चासो जगाउन सके लेख सार्थक हुन्छ भन्दै एउटा लेख नै सम्पूर्ण हुनसक्दैन भन्ने तथ्यलाई मनन गर्न उहाँले आग्रह गर्नुभयो ।
उत्पीडनबाट मुक्ति त्यसबेलामात्र हुन्छ, जुनबेला उत्पीडनविरूद्ध सफल लडाइँ लड्न सकिन्छ भन्दै उहाँले समाजको सकारात्मक परिवर्तनका संवाहक मानिने शिक्षकहरूमै मौनताको संस्कृति मौलाउँछ भने समाजबाट विकृति आफै नहट्ने भएकोले विकृतिविरूद्ध बुद्धिजीवी भनिने शिक्षकले बोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले सिक्किम भारतमा विलय गर्नेहरूलाई अहिले त्यहाँ देश बेचुवाको रूपमा घृणा गरिएको मात्र नभई देशद्रोहीहरूको मृत्यु भुस्याहा कुकुरतुल्य हुने र बाँचेकाहरू पनि अत्यन्त अपमानित जीवन जीइरहेको चर्चा गर्दै ‘देश बिग्रियो’ भनेर असन्तोष जनाउनेमात्र नभई बिगार्नेका विरूद्ध लाग्न आग्रह गर्नुभयो ।
वागीश्वरी स्कूललाई हालै नमुना छनोट गरिएको सन्दर्भमा उहाँले भन्नुभयो, “सरकारले २०११ सालदेखि नमुना नमुना भन्दै आए पनि देशका सामुदायिक स्कुलको शैक्षिक अवस्था दिनानुदिन गिरिरहेको हुँदा नमुना घोषणा आफैमा ठूलो होइन, हिजो सरकारले घोषणा नगर्दा पनि वागीश्वरी नमुना थियो ।”
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले शिक्षकहरूमा पठन संस्कृति विकास गर्न अन्तरक्रिया नियमितरूपमा हुनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पनि बोल्नुभएको कार्यक्रममा गीता खनाल, जगदीश्वर कोइराला, पियूषराज गोसाई, राजन लाखा, विश्वराम प्रजापति, रामलक्ष्मी अवाल र ज्ञानेन्द्र श्रेष्ठले फरक फरक लेखका बारेमा आफ्नो टिप्पणीसहित विचार राख्नुभएको थियो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी कलेजका अध्यक्ष गेहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा निरू ताल्चाभडेल र भानु हुमागाइँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *