भर्खरै :

निषेधको परिणाम सुन्दर हुँदैन

 
भैरव रिसाल
११ कार्तिक
निषेध राम्रो मानिँदैन, निषेधले राम्रो सन्देश पनि दिँदैन । तसर्थ मानव सभ्यता र संस्कृतिमा यथाशक्य निषेध शब्द प्रयोग गरिँदैन र अन्तिम अवस्था नपरी निषेध गरिँदैन । निषेधको राजनीति त झन् असह्य राजनीति हो, असांस्कृतिक व्यवहार एवम् मित्रताविपरीतको राजनीति हो । यो राजनीति तुच्छ राजनीति हो । यो प्रसङ्ग कोट्याउनुको कारण जुन कुनै पनि पार्टीको सरकार बने पनि ख्वप विश्वविद्यालयको स्वीकृतिप्रति किन निषेधको आँखा ? किन निषेधको विचार ? किन निषेधको व्यवहार ? के प्रस्तावित ख्वप विश्वविद्यालय सरकार पल्टाउन, सरकार ढाल्न–सञ्चालन गर्न लागेको भन्ने निष्कर्षले त्यस्तो निषेधको दृष्टिले हेरिएको हो ? अन्यथा किन स्वीकृति दिइँदैन । ख्वप विश्वविद्यालयलाई अनुमति नदिनुको मूल कारण के हो ? एउटा पार्टीको एउटा सरकारले मात्र हो र ? ख्वप विश्वविद्यालयको स्वीकृतिका निम्ति नेपाली काङ्ग्रेसको सरकार, नेकपा एमालेको सरकार, नेकपा माओवादीको सरकार र यी पार्टीहरूको संयुक्त सरकारहरूले पनि निषेधकै आँखाले हेरे । विश्वविद्यालयको प्रस्तावप्रति किन निषेधको आँखा ?
खस्याङखुसुङ तरेपछि केले ?
प्रस्तावित ख्वप विश्वविद्यालय जुन कुनै पनि विषयको पढाइ वा अध्ययन, अध्यापन, गहन अध्ययन, अनुसन्धान, अनुशीलन र नवप्रवर्तनमा आधारित हुनुपर्छ भन्ने दृष्टिकोण राख्छ र सतही बजारिया शिक्षाको किनबेचको केन्द्र हुनुहुँदैन भन्ने दृढ मान्यता राख्छ । संसारका हजारौँ कुनामा हजारौँ विश्वविद्यालय छन् । तर, सबै विश्वविद्यालय उत्कृष्ट र विशिष्ट छैनन् । ख्वप विश्वविद्यालय हलुका विश्वविद्यालयहरूमध्ये अर्को एउटा अङ्कमात्र गाँस्ने प्रयोजनका निम्ति प्रस्तावित होइन भन्ने गाँठी कुरा सरकार किन बुझ्दैन वा बुझ पचाउँछ सरोकारवालाहरूले सार्वजनिक गर्नु परेन ? वर्तमान सरकार र विगतका सरकारहरू पनि किन लाचार ? प्रस्तावित ख्वप विश्वविद्यालयका पूर्वाधारहरूको थलोमा नै गएर अङ्ग–अङ्ग अवलोकन गर्दा नकारात्मक वा सकारात्मक कुनै टिप्पणी आउँदैन । त्रुती भए यद् वा कमजोरी भए स्पष्ट औँल्याइदिए त्रुटि रहेको भए सुधारौँ, नभए स्पष्ट गथ्र्यौँ । अवलोकनको बेला खस्याङ–खुसुङ खोलो नतर्दासम्म ख्वप विश्वविद्यालयका पक्षमा हुने । सो खोलो पार गरेपछि उक्त विश्वविद्यालयको विपक्षमा लाग्ने के कुन कस्तो प्रवृत्ति हो जिज्ञासा उत्पन्न हुन्छ । केले छेक्छ सार्वजनिक गर्न मिल्दैन ?
अनुमति नै दिँदैन किन ?
भक्तपुर मृत्तिकाकला, पाषाणकला, काष्ठकला, धातुकला, कागतकला, वास्तुकला, मूर्तिकलामा उम्दा ठाउँ हो । खासस्तरको माटो ल्याएर विविध विधि र सीप प्रयोग गरी त्यो माटोबाट जे–जस्ता सिर्जना पनि गर्ने विशिष्ठता राख्छ भक्तपुर । एउटा ढुङ्गो पायो भने हनुमान, गरूड, धारो, सिलौटो जे पनि बनाउँछ । भूकम्पले नभत्कने घर बनाउँछ भक्तपुरले, मन्दिरहरूमा काठका उत्कृष्ट कला उतार्छ । मयुरझ्याल, आँखीझ्याल बनाउँछ । के बनाउँदैन ? जुजु धौ बनाउँछ, टिकन बजी (च्यूरा) बनाउँछ । यी सिर्जना र कला भक्तपुरले पद्म हाइस्कूल नखुल्दै देखिको कुद्रत हो । अहिले नै पनि ख्वप विश्वविद्यालयका पूर्वाधारको रूपमा रहेका कलेज र क्याम्पसहरूको अध्ययन–अध्यापनको स्तर अरू कलेज र क्याम्पसहरूको स्तरभन्दा माथि छ, निकै माथि छ । शुल्क सस्तो छ ज्यादै सस्तो छ, तुलनात्मकरूपमा । तर, सरकार भन्नेले विश्वविद्यालय सञ्चालन गर्ने अनुमति नै दिँदैन । किन दिँदैन, त्यो पनि स्पष्ट भन्दैन । गहन अध्ययन र अनुसन्धानको आधिकारिक संस्थाको रूपमा स्थापित हुनुपर्छ विश्वविद्यालय । ख्वप विश्वविद्यालय त्यही हुन लालायित छ तर, सरकार सञ्चालनको अनुमति नै दिँदैन किन ?
सुविधा सम्पन्न पुस्तकालय
के ख्वप विश्वविद्यालयको स्वीकृति राजनीतिक पूर्वाग्रहले रोकिएको होइन ? यो शासक दलहरूको सङ्कीर्णताले रोकिएको ? अथवा नेपाल मजदुर किसान पार्टीको पकड भएको भक्तपुर नगरपालिकाको नेतृत्वमा सुचारूरूपमा सञ्चालन हुने आशङ्काको त्रासले स्वीकृति नदिएको हो ? त्यति उत्तम पूर्वाधारहरू तयार छन् । त्यस्ता विशाल कलात्मक भवनहरू छन् । नयाँ नयाँ कुरा सिक्ने अभिलाषाले विद्यार्थीहरू आउँछन् । तर सरकार विश्वविद्यालय सञ्चालन गर्ने मरिगए अनुमति दिँदैन, किन ? विद्यार्थी वर्गलाई, नयाँ पुस्तालाई निराश र हतोत्साही गराएर राष्ट्र कसरी समृद्ध बन्छ ? कसरी जनता सुखी बन्छन् ? प्रश्न होइन यो ? शिक्षाको साङ्गोपाङ्गो अध्ययनका निम्ति सबै पाठ्यसामग्री एवम् आधुनिक साधन र उपकरणसहितको पुस्तकालयको स्थापना जरूरी छ । सबै सामग्री विद्यार्थी आफूले जोरजाम गर्नसक्दैन । तसर्थ सुविधा सम्पन्न सामग्रीयुक्त पुस्तकालय स्थापनातर्फ पनि गरपालिकाको ध्यानाकर्षण भइसकेको छ । यस्तो पुस्तकालय होस् जहाँ चौबीसै घण्टा प्रवेश, त्यही रातभर पनि बस्न पाइयोस्, सशुल्क खाजा र खाना पनि पाइयोस्, जो स्वस्थ त हुनैप¥यो । त्यसको ध्यान गइसकेको छ ।
त्यति पैसोबाट अनुसन्धान
पढाइ पनि समाजजस्तै जटिल बन्दै गएको छ । कति वटा विषय अचेल एक्लैले पढेर साध्य हुँदैन, छिचोल्नै मुश्किल पर्छ । यसका निम्ति सामूहिक पढाइ पनि जरूरी भइसकेको छ । गम्भीर विषयको अध्ययन एवम् अनुसन्धान वा गवेषण एक्लैले सम्भव नै हुँदैन । यसका लागि मिलेर अध्ययन र अनुसन्धान जरूरी हुनलागेको छ । अबको कुनै पनि काम , अझ नयाँ काम गर्न प्रयोगशालासमेत जरूरी भइसक्यो । घर–घरमा व्यक्ति–व्यक्तिले पुस्तकालय वा प्रयोगशाला राक्न सम्भव हुँदैन, सायद बुद्धिमानी पनि ठहर्दैन । तसर्थ अबको पुस्तकालयसँगै उपयुक्त प्रयोगशाला पनि अनिवार्य हुनुपर्छ ता कि कति अनुसन्धानबारे शङ्का लागे वा विवाद भए प्रयोगशाला परीक्षण गराउने सुविधा उपलब्ध होस् । नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा सरकार उदासीन छ । सरकारी विज्ञान तथा प्रविधिको आधिकारिक संस्था ‘नास्ट’ यति सानो छ जुन आवश्यक विज्ञान र प्रविधिको सघन अध्ययनको निमित पैसो नै छैन वा नगण्यमात्र छ । भनौँ लाज लाग्ने खालको छ । उत्ता भने अध्ययन–अध्यापन गराउन रे ! तर, पैसो भने सारै कम । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले पाएको बजेटबाट नास्टलाई ०.२५ प्रतिशत । त्यति पैसोबाट अनुसन्धान ?
विपन्नको सन्तान विशिष्ट ?
हाम्रो देशमा विपन्न वर्गका मान्छे माथिल्लो माथिल्लो पढाइ पढ्न सक्दैनन् । माथिल्लो पढाइ र अनुसन्धान, नवप्रवर्तन र अनुशीलनका निम्ति अर्थतन्त्रको विद्यार्थीले भ्याउन मुस्किल हुन्छ । यसकारण पनि सम्पन्न वर्गका युवाहरू जागिर खान हतार नगरी माथिल्ला तहको अध्ययन, अनुसन्धान र खोजीतिर लागेमा मुलुकका साथै त्यस्ता युवाको भविष्य पनि उज्यालो हुनेछ । यसको अर्थ कदापि होइन कि विपन्न वर्गका युवाले अनुसन्धान र अनुशीलनका काममा लाग्नुहुन्न । यथाशक्य किसानका नानीहरू, मजदुरका नानीहरू र काम गरिखाने वर्गका छोरी धेरैभन्दा धेरै सङ्ख्यामा
खोज, गवेषण र फेरि खोजका काममा लाग्नुपर्छ । अहिले एउटा विकृति देखापरेको छ । त्यो हो विपन्न वर्गको मान्छे विशिष्टतायुक्त स्थानमा पुग्यो भने उसले आफ्नो वर्ग नै भुल्ने । नयाँ वर्गमा फट्कने । यस्तो विकार नआवस् भनी प्रारम्भदेखि नै आफ्नो वर्ग कदापि नभुल्ने बानी कसरी बसाल्ने भन्ने मानसिकता बनाउन सहयोग गर्ने । सम्पन्न वर्गका मान्छेको सन्तान सिपालु हुनु त के नयाँ भयो र विपन्नको सन्तान दक्ष हुनु, कुशल हुनु पो ठूलो कुरो भयो भन्ने कसरी पार्ने ?
सानाका सन्तान किन विज्ञ नहुने ?
हाम्रो शिक्षाको मूल आधार नै ठूलाबडाका सन्तानमात्र प्रतिभाशाली, प्रत्युत्पन्न मति, कुशाग्र बुद्धिका हुन्छन् भन्ने कालो छाप छ समाजमा । संसारमा यसो हिजो अस्तितिर हे¥यो भने बाल्यकालमा अखबार बेचेर हिँडेका, अर्काको प्रयोगशाला र कार्यालय सफा सुग्घर गर्ने काममा लागेका, विशिष्ट मान्छेको सङ्गत वा आश्रय पाएका धेरै मान्छे विश्वविख्यात वैज्ञानिक, कवि, लेखक, आविष्कारक, संसारलाई आश्चर्यचकित पार्ने वस्तु उत्पादन गर्ने भएका छन् । ठूलठूला सिद्धान्त प्रत्युत्पादन गर्ने भएका छन् । राम्रा शिक्षक–प्रशिक्षक मित्रहरूले आफ्ना शिष्यहरूलाई त्यस्ता विलक्षण खालका उपमा दिएर विपन्न विद्यार्थीको मानसपटलबाट विशेषज्ञता, विशिष्ट वा सम्पन्नका सन्तानमात्र हुन्छ भन्ने चिन्तनको बादल फटाइ दिनुपर्छ । जनताको छोरा–छोरी शिक्षक–प्रशिक्षक भएका समाजमा यस्तो दर्शन प्रसारण गर्ने गराउनु जरूरी छ । हामीले कृत्रिमतामा होइन वास्तविकतामा उभिन सिकाउनुपर्छ । कृत्रिमता भनेको कृत्रिमता नै हो । वास्तविकता भनेको वास्तविकता नै हो भन्ने छ्याङ पार्नसक्यो भने आँखा खोल्न सहज हुन्छ । आँखा खुलेको मान्छेको मन पनि खुल्छ । आँखा र मन दुवै खुलेको मान्छे मान्छे नै हुन्छ । यस दिशातर्फ ध्यान जान सक्यो भने अहित त कसैको पनि हुँदैन । प्रायः सबैको हित हुन्छ । तर सरकारहरू किन ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अनुमति दिँदैन ? गम्भीर विश्लेषण जरूरी भएको छ ।
अन्यथा अन्यथा नै होला
शासक दलहरू हो ? सधैँ एउटै दल दिने ठाउँमा हुँदैन । यो एउटा कटु सत्य हो, तीतो सत्य हो । अहिले तपाइँहरूका पार्टी दिने ठाउँमा छन् अर्थात् सरकारमा छन् । ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति दिने ठाउँमा भएको बेला किन पूर्वाग्रह ? केको पूर्वाग्रह । पार्टी (राजनीतिक) समेत खोल्न चलाउन पाउँछ संविधानअनुसार भने कलेज विश्वविद्यालय विधिपूर्वक सञ्चालन गर्ने अनुमति माग्दा नदिने ? किन नदिने ? केको नखरा ? भट्टी पसल, भट्टी कारखाना खोल्न पाइने, अरू अरू दुराचार, निम्नस्तरीय काम गर्न सरकार नरोक्ने वा थाहा नपाएजस्ते स्वाङ किन ? के क्यासिनो –जुवाघर खोल्न अनुमति मागेको भए दिने होला, हो ? कि भक्तपुरमा नेपाल मजदुर किसान पार्टी यसै पनि प्रबल छ । त्यसमाथि ख्वप विश्वविद्यालय पनि सञ्चालन गर्न दियो भने अरू बलियो हुन्छ र भक्तपुर सदाको लागि आफ्नो पकडमा नआउने हुन्छ भन्ने त्रासका कारण अनुमति नदिएको हो ? भन्ने शङ्का गर्न पनि यो पूर्वाग्रहले परिस्थिति खडा गराएको छ । कुनै पनि पूर्वाग्रह छोडी तुरून्ता–तुरून्ती ख्वप विश्वविद्यालयको स्वीकृति दिइयोस् अन्यथा अन्यथा भएका उदाहरण पनि थुप्रै छन् संसारमा ! निषेधको परिणाम सुन्दर हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *