भर्खरै :

अर्जेन्टिनामा पनि वामपन्थी राष्ट्रपति निर्वाचित

ब्युनस आयर्स, २८ अक्टोवर । (टेलिसुर÷रोयटर्स) सारा दक्षिण अमेरिकामै नवउदारवादविरोधी आन्दोलन र सङ्घर्ष चर्किँदै गर्दा अर्जेन्टिनामा भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी पेरोनवादी गठबन्धनका उम्मेदवार राष्ट्रपति निर्वाचित भएका छन् ।
निर्वाचनमा वामपन्थी बृहत मोर्चाका राष्ट्रपति उम्मेदवार अल्वर्टो फर्नान्डेज र उपराष्ट्रपतिमा क्रिष्टिना फर्नान्डेज डे क्रिच्नर निर्वाचित भएका हुन् । क्रिष्टिना क्रिच्नर आफै पूर्वराष्ट्रपति र लोकप्रिय पूर्वराष्ट्रपति नेष्टर क्रिच्नरका विधवा हुन् ।
निर्वाचनमा बहृत मोर्चाका फर्नान्डेजले झण्डै ५० प्रतिशत मत प्राप्त गरेका छन् । त्यहाँको निर्वाचन ऐनअनुसार राष्ट्रपतीय उम्मेदवारले ४५ प्रतिशतभन्दा बढी मत वा ४० प्रतिशतभन्दा माथि तर निकटतम प्रतिद्वन्द्वी भन्दा १० प्रतिशत बढी मत प्राप्त गरेपछि निर्वाचित भइन्छ ।
वर्तमान दक्षिणपन्थी राष्ट्रपति माउरिसियो म्याक्रीले भने ४१ प्रतिशत मत प्राप्त गरेका छन् ।
यसैबीच आइतबार राती नै राष्ट्रपति म्याक्रीले निर्वाचनमा आफ्नो हार स्वीकार गरी आफ्ना प्रतिद्वन्द्वी फर्नान्डेजलाई बधाई ज्ञापन गरेका छन् । वर्तमान राष्ट्रपति म्याक्री त्यहाँको संविधानअनुसार डिसेम्बर १० सम्म सत्तामा रहनेछन् ।
सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा पेरोनवादी वामपन्थी मोर्चामा फूट आएपछि दक्षिणपन्थी गठबन्धनका उम्मेदवार माउरिसियो म्याक्रीले तत्कालीन राष्ट्रपति क्रिष्टिनालाई पराजित गरेको थियो ।
परोनवादीहरूको एकताका लागि क्रिष्टिनाले आफू पछाडि हटेर उपराष्ट्रपतिमा रहने गरी राष्ट्रपतिमा पेरानवादी समुदायका नयाँ नेता अल्वर्टो फर्नान्डेजलाई राष्ट्रपतिमा अगाडि सारेपछि वामपन्थीहरूको सत्ता पुनरागमन सम्भव भएको हो ।
पश्चिमा सञ्चारमाध्यमले भने म्याक्रीले आफ्नो प्रतिबद्धताअनुसार देशमा आर्थिक उदारीकरण र आर्थिक वृद्धि गरेर देखाउन नसक्दा जनता उनीबाट टाढिएको उल्लेख गरेका छन् ।
सन् १९४० र ५० को दसकमा अर्जेन्टिनामा शासन गरेका सैनिक नेता र समाजवादी राष्ट्रपति ह्वान डोमिङ्गो पेरोनको सिद्धान्तबाट पेरोनवाद र पेरोनवादीहरू नामकरण भएको हो । पेरोनवादीहरूले अर्जेन्टिनामा साम्राज्यवाद र नवउदारवादविरोधी कामदार वर्गको मध्यवामपन्थी शक्तिको प्रतिनिधित्व गर्छन् ।
अर्जेन्टिनाको निर्वाचन नतिजाले ल्याटिन अमेरिका र ओएएसमा संरा अमेरिकाको एउटा साझेदार सरकार घट्ने र क्युवा तथा भेनेजुयलामाथिको आर्थिक नाकाबन्दी असफल हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *