भर्खरै :

उत्तरी सिरियाको अवस्थाप्रति राष्ट्र सङ्घको चिन्ता

संयुक्त राष्ट्र सङ्घ, २९ अक्टोबर । संयुक्त राष्ट्र सङ्घले उत्तरपूर्वी सिरियामा सर्वसाधारण नागरिकको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । उत्तरपूर्वी सिरियामा भयानक लडाईँ चालू रहेको समाचार प्रकाशित भएसँगै राष्ट्र सङ्घले यस्तो चिन्ता व्यक्त गरेको हो ।
सो क्षेत्रमा लडार्इँका कारण यसअघि १ लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएकोमा थप झन्डै १ लाख ६ हजार मानिस विस्थापित भएको संरा सङ्घका महासचिव एन्टिनिओ गुजरेजका सहायक प्रवक्ता फरहान हकले जानकारी दिए ।
“संरा सङ्घ सबै पक्षलाई अधिकतम संयममा जोड दिएको छ र संरा सङ्घको सहजतामा सबै पक्षबीच संवाद गरेर निकालिने राजनीतिक समाधान नै द्वन्द्वको एकमात्र दिगो समाधान भएकोमा जोड दिएको छ”, हकले भने । उनले सिरियाको एकता र भौगोलिक एकता, छिमेकी देशका वैध चासो र सिरिया जनसङ्ख्याको विविधताको सम्मान गर्ने सबै पक्षबीच संवादको लागि आह्वान गरेको छ ।
संरा सङ्घले सो क्षेत्रमा तत्काल द्वन्द्व शान्त पार्न र सबै पार्टीलाई आफ्नो उद्देश्य पूरा गर्न शान्तिपूर्ण माध्यम रोज्न आग्रह गरेको हकले भने ।
सोमबार नै उत्तरपूर्वी सिरियाको द्वन्द्व समाधान गर्न प्रारम्भिक राजनीतिक अभ्यासको थालनी गरिएको छ । सिरिया संवैधानिक समितिका १५० जना सदस्य बुधबारबाट सुरु हुने पहिलो बैठकको लागि जेनेभा पुगेका छन् ।
संवैधानिक समितिले सरकार र विपक्षलाई वार्ता र संवादमा आमनेसामनेसँगै ल्याउने वचन दिएको छ । साथै नागरिक समाजको आवाज पनि सुनिने परिस्थिति बनाउने बताएको छ ।
सो बैठक सिरियामा बृहत् राजनीतिक प्रक्रियाको थालनी हुनसक्ने राष्ट्र सङ्घको तर्फबाट विशेष दूत गिएर पेदरसनले भने । संवैधानिक समितिमा हुने सहमति सिरिया सरकार र विपक्षीबीच हुने पहिलो राजनीतिक सहमति हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *