भर्खरै :

समाजमा विद्यमान केही भ्रम

एक समालोचनात्मक विश्लेषण – ४
सञ्जय खड्का
६. होमियोपैथी ः वैज्ञानिक कि अवैज्ञानिक ?
होमियोपैथी १८ औँ शताब्दीमा शमूएल ह्यनम्यान (Samuel Hahnemann) ले सिर्जना गरेको एक वैकल्पिक चिकित्सा पद्धति हो । यो ‘जस्तैलाई जस्तैले निदान’ गर्न सक्छ (Like cures like similia similibus curentur) भन्ने सिद्धान्तमा आधारित छ अर्थात् यदि कुनै वस्तुका कारण स्वस्थ व्यक्तिमा कुनै लक्षण देखाप¥यो भने त्यही वस्तुको सानो मात्रा दिँदा बिमार निदान हुनसक्छ । सैद्धान्तिकरूपमा होमियोपैथीक मात्राले शरीरको आरोग्य र स्वनियन्त्रित प्रक्रियाको क्षमता अभिवृद्धि गर्छ । होमियोपैथि मुख्यतः तीन नियममा आधारित छ । पहिलो समानको नियम (The law of similars) यो नियमअनुसार जसले जुन वस्तुको लक्षण देखाप¥यो त्यही वस्तुले नै रोग निदान गर्न सक्छ । दोस्रो नियम, अति सूक्ष्मको नियम (The law of infinitesimals) हो । यो नियमले डाइलुसन (dilution) प्रक्रियालाई बढावा दिन्छ ।
यो नियमअनुसार ओखतीलाई जति धेरै पातलो ग¥यो, त्यसको प्रभावकारिता त्यति नै बढी हुन्छ । तेस्रो नियम law of succussion हो । यो नियमका अनुसार औषधिलाई जति जोडका साथ हल्लाइन्छ वा झट्काइन्छ, त्यति नै धेरै मात्रामा औषधिको प्रभावकारिता बढ्छ । त्यसैले होमियोपैथिक औषधि निर्माण गर्दा होमियोपेथहरू औषधि निर्माणको हरेक मञ्चमा प्रभावकारिता बढाउनका निम्ति डाइलुसनगरिएका औषधि हल्लाउने वा झट्काउने गर्छन् । प्रभाव बढाउन अपनाइने प्रक्रियाले मौलिक वस्तुको धारणशक्ति प्रतिधारण गर्नसक्ने क्षमता पानीलाई दिन्छ भन्ने विश्वास होमियोपेथहरूको छ । तर, औषधिलाई यति धेरै पातलो बनाइन्छ कि त्यसमा मौलिक औषसधि तत्व पनि पाउन कठिन हुन्छ । यति धेरै त्रुटि र अवैज्ञानिकताको प्रमाण हुँदा पनि होमियेपैथी विश्वभरि नै (विशेषगरी पाश्चात्य मुलुकमा) अहिले पनि प्रयोग गरिन्छ ।
६.१ होमियोपैथीको कथित प्रभावको स्पष्टीकरण
होमियोपैथीको अवैज्ञानिक सिद्धान्त र प्रभावहीन औषधिले गर्ने प्रभावबारे गरिएको दाबा पछाडिका वैज्ञानिक कारण निम्नलिखित छन् ।
१.Placebo effect ः गहन परामर्श प्रक्रिया र होमियोपैथीप्रतिको अगाढ आशा र भरोसाले पनि सकारात्मक प्रभाव भएको हुनसक्छ ।
२. परामर्शको चिकित्सकीय प्रभाव ः हेरचाह, माया र असल आश्वासन दिएकोले पनि बिरामीमा केही सकारात्मक प्रभाव देखिएको हुनसक्छ ।
३. प्राकृतिक रोग निदान ः अरूको सहायताविना समयको साथसँगै धेरै रोगहरूको निदान गर्ने प्राकृतिक क्षमता शरीरसँग हुन्छ ।
४. अज्ञात उपचार ः खाना, व्यायाम तथा पर्यावरणीय कारकले पनि अज्ञात रूपमा उपचार गरेको हुनसक्छ ।
५. गैर होमियोपैथिक उपचार ः बिरामीले होमियोपैथिक उपचारसँगै आधुनिक चिकित्सामा पनि उपचार गरेको हुनसक्छ तर रोग निदानको श्रेय वा जस चाहिँ प्रारम्भिक तथा होमियोपैथिक उपचारलाई जाने गर्छ ।
६.२ होमियोपैथीलाई यसकारण विश्वास गर्न सकिन्न
१. यसले काम गर्दैन
आधुनिक चिकित्सा पद्धतिको सिद्धान्तका आधारमा हेर्ने हो भने होमियोपैथीमा कुनै वैज्ञानिकता देखिँदैन । हामीले विज्ञान विशेषगरी जीवविज्ञान र औषधिशास्त्रको बारेमा बुझेका कुरासँग यसको सिद्धान्तसँग कहीँ मेल खाँदैन । होमियोपैथीमा गरिने उपचार चिनीको पिल्स दिएर गरिएको उपचारभन्दा फरक छैन । तर यसो भन्दैमा होमियोपैथीमा उपचार गर्ने बिरामीले केही राहत भने महसुस गर्दैनन् भन्ने चाहिँ होइन । केही राहत महसुस गर्छन् तर त्यो प्लेसिबो इफेक्ट होइन ।
२. पैसाको बर्बादी
विश्वभरि धेरै होमियोपैथी उद्योगहरू सञ्चालनमा रहेका छन् जसको करोडौँ डलर मूल्य पर्न जान्छ । त्यस्ता उद्योगले एकातिर आवश्यक तत्वविनाको औषधि बिरामीलाई बेचिरहेका छन् भने अर्कातिर तिनै उद्योगहरूले प्रभावकारिता पुष्टि नगरिकन औषधि बेच्ने छुट पाइरहेका छन् । अतः आवश्यक रोग निदान सम्बन्धित तत्वरहितको औषधि किन्नु भनेको पैसा खर्च गर्नुमात्र हो ।
३. समयको बर्बादी
होमियोपैथीलाई सार्थक वैकल्पिक चिकित्सा पद्धतिको रूपमा विश्वास गर्ने मानिसहरू विशेषज्ञ चिकित्सकको जाँचबाट बञ्चित हुन्छन् र काम नलाग्ने पिल्स खाएर समयको बर्बाद गरिरहेका हुन्छन् । रुघा वा खोकी जस्ता सामान्य रोगमा तत्कालै खासै असर नहोला तर जटिल किसिमका रोगहरू निको हुनका लागि समयको धेरै महत्व हुन्छ । उक्त जटिल समयमा होमियोपैथीमा जानाले रोगको जटिलता झन् बढेर जाने सम्भावना हुन्छ । सही समयमा सही उपचार नपाउँदा बिरामीको ज्यानलाई खतरा हुनसक्छ ।
४ . सबैको समयको बर्बादी
होमियोपैथी र यसको सिद्धान्तमा हजारौँ अध्ययन तथा अनुसन्धान भएका छन् । तर सबै अध्ययनले होमियोपैथीको प्रभावकारितामा प्रश्न उठाएको छ । होमियोपैथीले दाबा गर्नेभन्दा बढी दाबा गर्ने धेरै परम्परागत उपचार पद्धति निष्कृय भइसकेका छन् । होमियोपैथीले काम गर्दैन भनी सिद्ध गर्ने धेरै अध्ययन भएका छन् । यसको सट्टा अन्य कुनै चिकित्सा पद्धतिले काम गर्छ भन्नेमा अध्ययन गर्नसके समयको बचत हुनुका साथै उपलब्धिमूलक पनि हुन्थ्यो ।
५. यो विकल्पको अन्य विकल्पहरू पनि छन्
हामीले बुझ्नुपर्ने कुरा के हो भने होमियोपैथी हामीलाई चाहिँदैन, यसको कुनै आवश्यकता नै छैन । आधुनिक चिकित्सा औषधिले प्रभावकारीरूपमा काम गर्छ । भ्याक्सिनको साहयताले विभिन्न प्राणघातक रोग लाग्नबाट रोक्छ । आधुनिक एन्टी रिट्रोभाइरलको साहयताबाट एचआत्ी सङ्क्रमित पनि लामो समयसम्म बाँच्न सक्छन् । तर, यो कुनै विशेषता होमियोपैथीमा छैन ।
६. लेबलमा भनिए जस्तो हुँदैन
हामीले नजिकको औषधि पसलबाट ३०अ होमियोपैथिक सल्फरको सानो बोतल किनेर सल्फर खोजियो भने सल्फर भेटिन्न । डाइलुसन प्रक्रियाको अधिक मात्राका कारण सल्फर भेट्न मुश्किल हुन्छ । सूक्ष्मरूपमा जाँच गर्दा मुस्किलले सल्फरका केही अणु भेटिएलान् जसको रोग निदानमा कुनै प्रभाव रहन सक्दैन । तर, आश्चर्यजनक कुरा त के छ भने यो तथ्य जगजाहेर हुँदा पनि लेबल चाहिँ सल्फरकै हुन्छ ।
७. आधुनिक औषधिशास्त्रबाट ध्यान मोड्नु
पुष्टि नभएको र प्रभावकारिता नरहेको चिकित्सा पद्धतिलाई महत्व तथा प्रश्रय दिनुले आम मानिसको ध्यान आधुनिक चिकित्साबाट होमियोपैथीजस्ता वैकल्पिक पद्धतितिर मोडिरहेको छ । तर, विडम्बना भन्नुपर्छ कि यस्ता प्रभावहीन पद्धतिलाई सरकार पक्षबाटै प्रोत्साहन मिलिरहेको छ ।
६.३ केही समालोचनात्मक प्रश्न िप्रभावकारी बनाउन अपनाइने
(औषधि हल्लाउनु वा झट्काउनु) प्रक्रियाले मौलिक वस्तुको धारणशक्ति प्रतिधारण गर्नसक्ने क्षमता पानीलाई दिन्छ भन्ने विश्वास होमियोपैथहरूको छ । प्रभावकारी बनाउन अपनाउने प्रक्रियाले औषधिको प्रभावकारिता बढाउनु बीचको वैज्ञानिक सम्बन्ध के छ ?
डाइलुसनको नियमअनुुसार ओखतीलाई जति धेरै डाइलुसन ग¥यो (पातलो पार्नु), त्यसको प्रभावकारिता त्यति नै बढी हुन्छ । डाइलुसन र प्रभावकारिताबीचको वैज्ञानिक व्याख्या के हो ?
होमियोपैथी चिकित्सा पद्धति प्रमाणमा आधारित चिकित्सा (evidence based medicine) पद्धतिसँग कहीँ पनि मेल हुँदैन भने कसरी वैज्ञानिक हुन सक्छ ? सिद्धान्त वा वाद नै अवैज्ञानिक भए कसरी काम गर्नसक्छ ?
पुरै शरीरको उपचार (whole body treatment) गर्ने विधिमा विश्वास गर्ने होमियोपैथले कुनै निश्चित अङ्गको जटिल उपचार गर्नसक्छ ?
शल्यचिकित्साको अवधारणा नै नभएको होमियोपैथीलाई आधुनिक चिकित्सासँग तुलना गर्न मिल्छ र ?
होमियोपैथहरुले उत्पादन गरेको कुनै पनि मिश्रण (concotion), कुनै पनि जन्तु वा जनावरमा परिश्रम गरिएको छैन । यसले होमियोपैथीको औषधिशास्त्रमाथि विश्वासनीयताको प्रश्न उठ्दैन र ?
औषधि, जीवनविज्ञान, औषधिशास्त्र र रोग निदानशास्त्रबारे हाम्रो बुझाइसँग होमियोपैथीको सिद्धान्त विरोधाभासपूर्ण छ । अनि कसरी यसले काम गर्नसक्छ ? यदि होमियोपैथीको सिद्धान्तलाई वैज्ञानिक मान्ने हो भने के जीवविज्ञान, औषधिशास्त्र र रोग निदानशास्त्र सबै अवैज्ञानिक हुन् ?
के सबै होमियोपैथहरू होमियोपैथिक औषधिको प्रभावकारितामा विश्वास गर्छन् ? के उनीहरू आफू वा आफ्नो परिवार बिरामी हुँदा होमियोपैथिक औषधि नै सेवन गर्छन् ?
होमियोपैथहरूले आधुनिक चिकित्सकीय पद्धति वा औषधि सेवन गर्न हतोत्साहित गर्नाले बिरामीको जोखिम बढेर जानसक्छ । यस्तो सुझावका कारणले बिरामीको जटिलता गहनरूपमा बढेर गयो भने त्यसको जवाफदेही को हुन्छ ?
होमियोपैथहरू होमियोपैथिक औषधिको कुनै साइड इफेक्ट (side effect) नभएको दाबा गर्छन् । आवश्यक तत्व नै अभाव भएको औषधिको कुनै प्रभाव नै हुँदैन । प्रभाव (effect) नै नभएको औषधीको साइड इफेक्ट कसरी हुनसक्छ ?
होमियोपैथी सैद्धान्तिक र व्यवहारिक दुवैरूपमा तर्कहीन छ, आधारहीन छ । जेम्स् रेन्डी, विश्व प्रसिद्ध जादुगर तथा युक्तिवादी (rationalist) ले एक कार्यक्रममा होमियोपैथिक निदाउने चक्की (sleeping tablet) अधिक मात्रामा खाएर कार्यक्रम सञ्चालन गरेका थिए । उनलाई अधिक निदाउने पिल्स खाँदा पनि कुनै असर देखिएन । यो घटनाले पनि होमियोपैथी पूर्णरूपमा प्रभावहीन रहेको तथा काम नगर्ने भनी पुष्टि हुन्छ । अतः यो प्रभावहीन चिकित्सा हो भनेर भन्दा अतिशयुक्ति नहोला । बिरामीलाई मिलेको राहत पनि कुनै होमियोपैथिक चिकित्सा पद्धतिले नभएर placebo को प्रभावमात्र हो । अब भने हामीले आधुनिक चिकित्सा र होमियोपैथीबीच चुनाव गर्नुपर्ने बेला भएको छ ः हामी placebo मात्र चाहन्छौँ कि placebo सहितको प्रमाणित उपचार पद्धति चाहन्छौँ ।
७. निष्कर्ष 
कुनै पनि कुरा धेरैले स्वीकार गरेको वा विश्वास गरेको भन्दैमा असत्य कुरा कहिल्यै सत्य हुँदैन । सत्यताका लागि अवलोकन, परीक्षण र प्रमाणित हुन अनिवार्य छ । ज्योतिषशास्त्रले हामीलाई कर्मवादी नभएर भाग्यवादी बन्न सिकाउँछ । सक्रिय होइन निष्कृय जीवन जिउन सिकाउँछ । आफ्ना सबै दोष जति अरूमाथि थोपर्न सिकाउँछ । भाग्यमा कुनै कुरा पाइन्छ भनी लेखिएको छ भने किन काम गर्ने ? त्यो त त्यसै पाइन्छ किनकि भाग्यमा स्पष्ट पाउने लेखिएको छ । यदि भाग्यमा प्राप्त योग लेखिएको छैन भने किन परिश्रम गर्ने ? आखिर जति परिश्रम गरे पनि त्यो त भाग्यमा लेखिएको छैन । अतः पाउने त सम्भव नै छैन । एकछिनका लागि ज्योतिषशास्त्र चमत्कारिक सत्य र साँचो नै हो भने पनि भविष्य देखाउनुको औचित्य के छ ? भोलिको कुरा किन आज थाहा पाउने ? के भविष्यका कुरा सबै थाहा पाउँदा हामी सुखमय रूपमा बाँच्न सकौँला ? वास्तवमा भोलिको कुरा आज थाहा नपाउनु नै जिन्दगीको रहस्यमयात्मक मजा हो । यो नै जिन्दगीको आत्मा हो । यथार्थमा भोलिका सर्वस्व कुराको ज्ञात हुनु त सजा हो । अब हामीले भाग्यवादी र कर्मवादीबीच चुनाव गर्नुपर्ने बेला भएको छ । हामी कथित पूर्वनिर्धारित भविष्यअन्तर्गत दास बन्ने कि हाम्रो भाग्यविधाता आफै बन्ने हो ?
गोमूत्र र होमियोपैथी समय र स्थानको सापेक्षतामा उद्भव कालमा कुनै निश्चित उद्देश्य पूर्तिका लागि अभ्यास गरिएका भए तापनि अहिलेको वैज्ञानिक युगमा ती सबै तर्कहीन, आधारहीन र प्रभावहीन देखिन्छन् । अतः होमियोपैथीलाई बन्द गरेर आधुनिक चिकित्सा पद्धतिलाई अझ प्रभावकारी र बुलन्द बनाउनुपर्ने देखिन्छ । पूजा–आजा, आरधना, जप आदि जस्ता भौतिक क्रियाकलापले अलौकिक शक्ति प्राप्त हुनसक्दैन । तर, हाम्रो समाज यस्तै अन्धविश्वासमा रुमलिएको छ । अन्धविश्वास विकास र परिवर्तनका लागि ठूलो बाधक हो । हाम्रो देश प्रगतिपथउन्मुख हुन नसक्नुका कारणहरूमध्ये अन्धविश्वासग्रसित दरिद्र मानसिकता र सङ्कुचित सोच पनि एक प्रमुख कारण हो । अतः विकास र परिवर्तनका लागि अन्धविश्वासमुक्त समाजको निर्माण हुन अत्यावश्यक छ । यसका लागि वैज्ञानिक सोचमा आधारित जनचेतनामूलक सामाजिक अभियानको खाँचो छ । यसका लागि राज्यले कुनै पनि कुरीति, कुसंस्कृति तथा अन्धविश्वासलाई प्रश्रय दिनु हुँदैन । चमत्कारको नाममा भ्रम फैलाएर समाजलाई पश्चगामितिर फर्काउने व्यक्तिविपरीत अन्धविश्वासको आड्मा गरिने शोषणविरुद्धको ऐन ल्याएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
अन्धविश्वास उन्मूलन अभियानमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर, विडम्बना हाम्रा सञ्चारमाध्यमले अन्धविश्वास हटाउने होइन बढाउने काम गरिरहेको आभास हुन्छ । तसर्थ सञ्चार माध्यम पनि यसतर्फ सचेत हुन जरुरी छ । सञ्चार माध्यमले अन्धविश्वासविरुद्धको अभियानमा रचनात्मक भूमिका खेल्न सके अभियानको प्रभावकारिता निश्चितरूपमा बढ्ने थियो । विद्यालयस्तरबाटै वैज्ञानिक सोच अभिवृद्धि गर्ने प्रकृतिका पाठ्यपुस्तक तथा अध्ययन विधि विकास गर्नुपर्ने आवश्यक छ । किनभने सबै कुरालाई प्रभाव पार्ने वा सबैभन्दा शक्तिशाली कुरा सोच नै हो, विचार नै हो । सोचमा परिवर्तन नआएसम्म केही पनि परिवर्तन हुनसक्दैन, परिष्कृत हुनसक्दैन ।
मानववाद, पूर्णाङ्क–१
(अन्धविश्वास विशेष)
 समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *