गोपाल नगरकोटी

दास मानसिकताबाट नेपालीहरूको मन–मस्तिष्कलाई मुक्त र स्वाधीन बनाउन नसकेसम्म सुखी नेपाली र समृद्ध नेपाल कसरी सम्भव हुन्छ ? धर्मशास्त्र, ईश्वर र संस्कारको नाममा अन्धविश्वास, कुरीति र कुप्रथाले ढाकेसम्म समाजमा कसरी विज्ञान र प्रविधिको परिचय दिने ? विज्ञान र प्रविधिको युग भनेर आधुनिकताको गुणगान गरेर उही कुरीतिको गोरेटोमा हिँडाइरहने मानसिकता कसरी विज्ञानसम्मत हुन्छ ? यो दास मानसिकताको बीउ उहिले सामन्त, शोषक, जाली–फटाहाहरूले नै रोपेका हुन् । सामन्तहरूले सीधै दमन, शोषण गर्दा जनता चाँडै चिढिने र आफ्नो विरोधमा उत्रेर शासन नै फाल्लान् भनेरै धर्म–कर्म र ईश्वरको जप गरेर जनतालाई उत्पीडित बनाएका हुन्, श्रमिकहरूको श्रम, पसिनामा चालै नपाइकन रजाइँ गरिरहेका हुन् । धर्म, संस्कार र संस्कृति जोडेरै नै उनीहरूले शोषण गरिरहेका हुन् । यस्ता कति संस्कार र संस्कृति अद्यापि चालू छन् ।
समाजमा व्याप्त अन्धविश्वासले गाँजेका कति कुरीति र कुप्रथा लामो समय रहिरहोस् भनेरै या सर्वसाधारणको पसिनामा सदा रजाइँ गरिरहने मनसायले नै तिनीहरूले कति कुरीति र कुप्रथालाई धर्म, संस्कार र ईश्वरसँग जोडेर शास्त्र तयार गर्न लगाए । अहिले पनि सामन्त चरित्रका कति व्यक्तिहरू कसैले ती कुरीतिहरू कार्यान्वयन नगरे या छोडे अनेक दशा लाग्ने, दुःख पाउने कुरा फुक्न पछि पर्दैनन् । यसबारे सर्वसाधारण जनता त त्यसै पनि आँखा चिम्लेर समर्थन गर्छन् । विडम्बना ! कति शिक्षित र बुद्धिजीवीहरू (सबै होइनन्) अन्धविश्वासको जगमै टेकेर जे–जे पहिलेदेखि गर्दै आए त्यसलाई अहिले पनि निरन्तरता दिन धक मान्दैनन् ।
जन्मेदेखि मरेसम्म र मरेपछि अनेकानेक संस्कार र संस्कृति अगाडि राखेर ठूलो सम्पत्ति खर्च भइरहेको हुन्छ । रात–दिन जोहो गरी अलि–अलि जम्मा गरिरहेको रकम त्यस्तै कुरीति, कुप्रथाका संस्कारहरूमा खर्च गरिएको हुन्छ । अझ त्यतिले नपुगेर कतिले गरगहना त कतिले घर–खेत नै बेचेर संस्कार र संस्कृति धान्छन् । के संस्कार र संस्कृतिको नाउँमा जोहो गरिरहेको रकम यसरी नै खर्च गरिरहने हो भने हाम्रो जीवन कसरी सुखी हुन्छ ? के हाम्रो श्रम र मेहनत खाली दुःख खानकै निम्ति भइरहेको हो ? यसबारे हाम्रो ध्यान कहिले जाने हो ? विचारणीय छ ।