भर्खरै :

नेताहरूले चुनावी भाषा बोल्न थाले

–मेरिना शाक्य
श्रम र पसिना बगाएर धनी बन्नु या सुखी जीवन यापन गर्नु र शोषण र दमन गरेर धनी बन्नु अर्को पाटो हो । गरिबहरू सधैँ गरिब या दुःखपूर्वक नै जीवन बिताउनुपर्ने बाध्यता र धनीहरू ऐस–आराम गरेर जीवनयापन गर्ने व्यवस्था नै पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थामा आर्थिक असमानताको दूरी बढ्छ । समुदाय या बुहमतभन्दा व्यक्तिगत या अल्पमत वर्गको बोलवाला या पक्षमा लाग्ने व्यवस्थाले बहुमत जनताको हित गर्ने छैन । अल्पमत वर्गले रजाइँ गरिरहेसम्म देशको अनुहार फेरिने छैन या देश समृद्ध हुनेछैन । पुँजीपति वर्गको व्यवस्थाले सुधार गर्छ, थोरबहुत सुधार गरेर जनताको विरोध या आक्रोश सेलाउने प्रयास गर्छ तर आमूल परिवर्तन गर्दैन, परिवर्तन गर्ने बाटो खोज्दैन । नेकपाको सरकारले गरिरहेको काम पनि त्यस्तै हो ।
सच्चा कम्युनिस्टहरू झूटको खेती गर्दैनन्, सर्वसाधारण जनतालाई भ्रममा पारी मत बटुल्दैनन् । उनीहरू सिद्धान्त र विचार भुलेर या छोडेर अवसरवादी बन्दैनन् । कम्युनिस्टको सिद्धान्त र विचार बोकेर पुँजीवादी राजनीति गर्दैनन् । सरकारको नेतृत्व गर्ने नेकपाका नेता र मन्त्रीहरू बढी गफ (कुरा) गर्छन्, थोरैमात्र काम गर्छन् । नेताहरूको यस्तै बकबास गर्ने कार्यले उनीहरूले बकम्फुसे उपाधी पाएका हुन् । यस्ता नेताहरूमा यतिबेला नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल अग्रपङ्क्तिमा छन् । तिनै नेताहरूले अहिले चुनावी भाषा बोल्न थालेका छन् । नेकपाका एक अध्यक्ष दाहालले निर्वाचनकै बेला तराईवासीमा ‘लभ’ परेको विचार व्यक्त गरे । अहिले फेरि तराईवासीसँग माया बसेको कुरा उनै दाहालले बताएका छन् । निर्वाचनमा नेकपाका नेताहरू कहिले पनि कम्युनिस्टको सिद्धान्त र विचारबारे बोल्दैनन्, समाजवाद र पुँजीवादको भेदबारे जनतालाई बताउँदैनन् । उनीहरूको ध्याउना जसरी भए पनि निर्वाचन जित्ने हो । जसरी भए पनि निर्वाचन जितेर जितेकै आधारमा आफूलाई सच्चा र ठूला पार्टीको चिनारी दिने उनीहरूको उद्देश्य हो ।
राजनीतिक दलले कुनै न कुनै दर्शन, सिद्धान्त र विचार बोकेको हुन्छ । तर सत्तासीन दलका नेता र मन्त्रीहरू आफूहरू सिद्धान्त र विचार बोकेको भुल्छन् । निर्वाचनको बेला ठूला दलका नेताहरू उम्मेदवारको लागि किन तँछाडमछाड गर्छन् ? तिनीहरू सिद्धान्त र विचार प्रचार गर्न होइन, जितेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन नै उम्मेदवारमा होडबाजि गर्छन् । यस्तै हानथापका कारण नेका र नेकपाले उपनिर्वाचनको लागि पटक–पटक बैठक बसे पनि उम्मेदवारी टुङ्गो लगाउन सकेनन् । यो अर्को पुँजीवादी पार्टीको चरित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *