एरियल ड्रफम्यान
सन् २०११ भरि अन्याय र असमानताविरुद्ध जसरी कामिला भालिज्जोले सान्टियागोका सडकमा विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् यदि उनले बाइस वर्षअघि आन्दोलन गरेकी भए म यी शब्दहरू उत्तरी क्यारोलिनाको डर्हाममा बसेर होइन, चिलीमा बसेर लेखिरहेको हुनेथिएँ । मैले मेरो देश छोडेर प्रवासी बन्ने निर्णय गर्ने थिइनँ ।
सन् १९९० मा चिलीमा प्रजातन्त्र पुनःस्थापना भएको भए मेरी श्रीमती र हाम्रा दुई छोराहरूसँगै म जनरल अगस्टो पिनोचेको सत्र वर्षीय तानाशाहीपछि हाम्रो भूमिमा उदाएको नयाँ बिहानीको स्वागत गर्न फर्किने थिएँ । कामिला आजजस्तो विश्वव्यापी ख्यातिप्राप्त (सन् २०११ का टाइम्स व्यक्तित्वमध्ये एक र लण्डनको गाकिअयनका पाठकहरूको मतअनुसार वर्षव्यक्ति) प्रभावशाली युवा बनिसकेकी थिइनन् । तथापि १९९० को त्यो पुनःस्थापना यात्राताका मैले उनीजस्ता धेरै युवाहरू भेटेको थिएँ । मजस्तै उनीहरू पनि पिनोचेको आतड्ढवादी बिरासतलाई पराजित गर्न हाम्रा जनता सफल हुनेमा पूर्णरूपमा आशावादी थिएँ । ९९ प्रतिशत जनता हाम्रो धनमाथि स्वामित्व जमाउने र सत्तामा नियन्त्रण राख्ने मुठ्ठीभर समूहसँग विभेद गरेको एउटा गहिरो विषमतालाई परास्त गरिनेमा ढुक्क थिए । ‘९९ प्रतिशत’ शब्द त्यतिबेला अहिलेजस्तै चल्ती भइसकेको थिएन तर यो भावनालाई प्रस्टरूपले मुखरित गर्ने देश थियो –चिली ।

साल्भाडोर एलेण्डे
विडम्बना ¤ तानाशाही शासनपछिको चिलीमा ती युवा विद्रोहीहरूलाई श्वास फेर्ने वा व्यापक जनसमर्थन बटुल्ने कुनै ठाउँ थिएन, कोही कामिला भालिज्जो उकासिने कुनै बाटो थिएन । यो भूमि गहिरोसँग व्यथित थियो, त्रासले पूर्णरूपमा भरिपूर्ण थियो । तानाशाही शासनविरुद्ध लडेर देशको सत्ता समालिरहेकाहरूले निकै कठिन महसुस गरे । वास्तवमा देशमा विद्रोहको भय सदा मडारिरह्यो । सेना (र उनीहरूको शासनबाट आर्थिक लाभ थुतिरहेकाहरू) बाट एक प्रकारको हिंसाको त्रास रहिरह्यो ।
पिनोचेले छोडेका तगारोहरूका कारण ‘द कनसर्टासिओन’ (The Concertacion) का प्रजातान्त्रिक शक्तिहरूले विगतका अवशेषहरूलाई खासै क्षति पु¥याउन सकेनन् । पुरानै जिद्दीको दाग बसेका धेरै सरकारी संस्था र कार्यक्रमहरूमध्ये शिक्षा प्रणालीको दाग अझ गाढा थियो । शिक्षा प्रणाली पूर्णरूपमा भेदभाव र लोभमा चुर्लुम्म डुबेको थियो । उत्तम जीवनप्रति युवाहरूको चाहना पूर्ति गर्ने कुनै पनि स्रोत वा आधार त्यो प्रणालीसँग थिएन ।
सन् २०११ को विद्यार्थी आन्दोलनले असफल नीतिको अवधारणामाथि मात्र प्रश्न उठाएको थिएन, बरु त्यो नीति पछाडिको सम्पूर्ण व्यवस्थाप्रति नै अविश्वास गरेको थियो । यसैकारणले नै यो आन्दोलनले विश्वव्यापी ‘कब्जा गर आन्दोलन’ तथा अरब क्रान्तिसँग मेल खान्छ । त्यो विद्यार्थी आन्दोलनले चिलीको आफ्नो लागि सपना देख्ने शैलीप्रति नै शड्ढा गरेको छ । त्यस्तो शैलीले आमूल परिवर्तनलाई आत्मसात् गरेको थिएन । कामिला भालिज्जो (मैले उनको नाम लिँदै गर्दा पक्कै पनि मैले उनीसम्बद्ध आन्दोलनप्रति सड्ढेत गरिरहेको हुन्छु) ले अब त्यो युगको अन्त्य नजिकिसकेको बुझेकी थिइन् । चिलीका जनता र नाफाविहिनतालाई प्राथमिकता दिने भिन्न भूमि सृजना नगरी चिलीमा सबै तहको शिक्षाको समाधान हुन नसक्ने यथार्थ उनीहरूले बुझिसकेका थिए ।
केही सुनेजानेको जस्तो लाग्यो कि ?

कामिला भालिज्जो
हो, त्योबाहेक पनि चिलीको यो आन्दोलन र अरु तत्कालीन आन्दोलनहरूबीच (कम्तीमा) एउटा उल्लेखनीय भिन्नता छ ।
यी यति धेरै विश्वव्यापी आन्दोलनको एउटा साझा विशेषता आन्दोलनकारी र राजनीतिक पार्टीहरूबीचको दुरी हो । ‘वालस्ट्रिट कब्जा गर’ आन्दोलनको एउटा शक्ति (अथवा सम्भवतः कमजोरी) के थियो भने त्यसका आन्दोलनकारीहरू कुनै पनि अस्तित्वमा रहेका संरचनामा समेटिन चाहँदैनन् । परिवर्तन कसरी हुन्छ भन्ने विषयमा उनीहरूसँग कुनै ‘सिद्धान्त’ अथवा दीर्घकालीन योजना थिएन । तानाशाही शासन व्यवस्थाबाट मुक्त भएका अरब देशहरूमा एउटा आश्चर्यको कुरा के भयो भने सडकमा सङ्घर्षको मोर्चा सम्हाल्नेहरू परिवर्तनपछिको निर्वाचनमा नराम्ररी पराजित हुन पुगे ।
चिलीको आन्दोलनमा पनि राजनीतिक उच्च नेतृत्वप्रति यस्तैखाले दिक्दारी र विकर्षण हावी रह्यो । त्यो आन्दोलनमा पर्यावरणवादीदेखि महिला, समलिङ्गी र आदिवासी जनताको अधिकारको निम्ति लड्नेहरू पनि सामेल थिए । यद्यपि कामिला भालिज्जो सन् १९८८ देखि कम्युनिस्ट पार्टीकी सदस्य थिइन् । क्रान्तिकारी धार सम्हाल्न नसकेको, पुँजीवादी प्रजातान्त्रिक ढाँचाभित्रै काम गर्न खोजेको र संसद्बाटै आवश्यक परिवर्तन हुने मतमा सहमत भएको भन्दै उनको आलोचना पनि भएको छ । वास्तवमा सन् २०११ को डिसेम्बरमा युनिभर्सिडाड दी चिलीको विद्यार्थी सङ्गठनको सभापतिबाट उनी पराजित भइन् – संसदीय परिवर्तनमा विश्वास नगर्ने उनीभन्दा वामपन्थी धारबाट अविश्वसनीय ढङ्गले सानी र जोशिली कामिला नब्बे वर्षअघि उत्तरी चिलीमा गठन भएको चिलीकै सबभन्दा पुरानो सङ्गठनकी सदस्य हुन् । साँचो भनौँ, उनी धेरै चाँडो संसदीय निर्वाचनको उम्मेदवार हुनसक्छिन् ।
त्यस अर्थमा उनले जनताको मतबाट निर्वाचित इतिहासकै प्रथम समाजवादी राष्ट्रपति साल्भाडोर एलेण्डेको पथ पछ्याइरहेकी छिन् ।
एलेण्डेजस्तै भाल्लिजो पनि व्यवस्थामा आमूल परिर्वतन ल्याउन जनपरिचालनसँगै त्यही व्यवस्थाभित्र सङ्गठित र सृजनात्मक सहभागिता आवश्यक रहेकोमा विश्वास गर्छिन् ।
तर, पाठकहरूले चिलीको विद्यार्थी आन्दोलनको नेतृत्व पङ्क्तिमा भालिज्जोमात्र भएको सोच्नु ठीक हुन्न । सन् २०११ को आन्दोलनका अर्का प्रमुख विद्यार्थी नेता जर्जियो ज्याकसनतर्फ पनि ध्यान पु¥याउनु उचित हुनेछ । चिलीबाहिर उनको चर्चा कम सुनिन्छ, तर उनी पनि प्रभावशाली छन् । एकपटक उनीसँगै एक समूह सिनेटरहरूको बहस कार्यक्रम थियो । तर, त्यो बहस टीभीमा प्रसारण गरेर उनीहरू (सिनेटरहरू) ले ठूलो गल्ती गरे । किनभने जर्जियोले ती सिनेटरहरूलाई आच्छु–आच्छु पारिदिएका थिए । उनको बौद्धिक तर्कसँग सिनेटरहरूको केही लागेन । एउटा ठूलो फौजसहित जर्जियोले रिभोलुसिओन डेमोक्राटिका (Revolucion Democratica) नामको एउटा नयाँ राजनीतिक आन्दोलन आरम्भ गर्दै छन् । त्यो आन्दोलन विद्यमान राजनीतिक पार्टीहरूको विकल्पको रूपमा उदय हुनेछ । समयान्तरमा त्यसले निर्वाचनमा पनि भाग लिनेछ । तथापि उनले सन् २०१३ मा हुने संसदीय निर्वाचनमा सहभागी नहुने घोषणा गरिसकेका छन् किनभने काटोलिका विश्वविद्यालयबाट उनले सिभिल इन्जिनियरिङ्गमा स्नातक सकाउन बाँकी नै छ ।
कामिला र जर्जियो चिलीको भविष्यका नक्षत्र हुन् । सन् १९९० मा म सान्टियागो छँदा उनीहरू पनि त्यता हुँदा हुन् त म उनीहरूसँगसँगै हिँड्ने प्रयास गर्थेँ–जति सक्दो नजिक अथवा उनीहरूका युवा भव्य व्यक्तित्वको केही कदम पछाडि पछ्याउँथे होला । उनीहरूको आन्दोलनमा म मेरै देशमा बस्नुपर्ने कारणहरू भेट्टाउँथे होला । तर, मेरो अन्त्यहीन निर्वासनको क्रममा पलाएका ‘चिलीको लागि न्यायका सपना’ सम्भव देखिएन, अनि म संरा अमेरिका गएँ । जहाँ दुई वर्षपछि वालस्ट्रिटका कब्जाकारीहरूले मलाई यो आफ्नो बनाएको गृहभूमिमा घरको अनुभूति गरायो, म आफू एक्लो वा भिन्न नभएको अनुभव गरँे । धेरै–धेरै कामिलाहरू र अन्त्यहीन जर्जियोहरू इतिहासमा आफ्नो समय कुरिबसेको आशा जताततै भएको जस्तो लाग्यो ।

जोर्जियो ज्याक्सन
(चिलीमा आज चर्केको नवउदारवादविरोधी आन्दोलनको सन्दर्भमा यो लेख सान्दर्भिक भएकोले यहाँ साभार गरिएको छ । एरियल ड्रफम्यान चिलियाली– अमेरिकी लेखक तथा मानव अधिकारकमी हुन् । उनी ड्रुक विश्वविद्यालयमा वाल्टर हाइन्स पेजका अध्यक्ष छन् । स्पेनिसयाली र अङ्ग्रेजी भाषामा लेखिएका उनका पुस्तकहरू चालीसभन्दा बढी भाषामा अनुदित छन् । उनका नाटक एक सत्न्दा बढी देशमा मञ्चन भएका छन् । ‘डेथ एण्ड द मेडन’ पुस्तकको लागि उनलाई लरेन्स ओलिभर पुरस्कारबाट पुरस्कृत गरिएको थियो । त्यसमा आधारित रहेर रोमन पोलान्स्कीले चलचित्र निर्माण गरेका छन् । यसबाहेक पनि उनी धेरै अन्तर्राष्ट्रिय पदकबाट विभूषित भए । उनको पछिल्लो पुस्तक संस्मरणात्मक ‘फिडिङ्ग अन ड्रिम्स ः कनफेसन अफ अ अनरिपेन्टन्ट एक्जाइअल’ हो । उनका लेख रचना विश्वका विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित हुने गरेका छन् ।)
Hand Book of Wall Street बाट अनुदित
स्रोत ः युनिभर्सिटी मासिक २०६९
Leave a Reply