भर्खरै :

कैलालीमा नेमकिपाको सुदूरपश्चिमाञ्चल प्रदेशको सम्पर्क कार्यालय उद्घाटन

कैलाली, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टीको प्रदेश नं ७ को सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो । कैलालीको लम्कीमा नेमकिपा सुदूरपश्चिमाञ्चल प्रदेशको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का संयोजक शाहीले शासक दलले चुनाव जित्न उद्योगपतिहरूसँग पैसा उठाउने भएकोले हरेक चुनावपछि मूल्यवृद्धि हुने गरेको बताउनुभयो ।
उहाँले नेमकिपाले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि सङ्घर्ष गरिरहेको देशभक्तहरूको पार्टी भएको भन्दै जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद स्थापना गर्नु नेमकिपाको लक्ष्य भएको बताउनुभयो ।
शासक दलहरूले मित्र राष्ट्रहरूले दिएका उद्योग कलकारखाना समेत कौडीको मोलमा निजी क्षेत्रलाई बेचेर देशको अर्थतन्त्र कमजोर बनाएको बताउनुभयो ।
कम्युनिस्टहरूले उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण गर्ने भन्दै शाहीले वर्तमान सरकारले निजीकरणलाई नै प्राथमिकता दिएर आफू कम्युनिस्ट सरकार नभएको पुष्टि गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सुदूरपश्चिमाञ्चल क्षेत्रमा पार्टीको सम्पर्क कार्यालय स्थापना हुँदा पार्टी गतिविधि र सङ्गठन विस्तारको लागि टेवा पुग्ने बताउनुभयो । नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेश रावलको सभापतित्वमा भएको कार्यक्रममा ज्योति बडुवाल, गगन थापामगर, लक्ष्मी पुनमगर र धनबहादुर थापामगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *