भर्खरै :

कच्चा पदार्थसहित करिब १० हजार लिटर मदिरा नष्ट

रत्ननगर (चितवन), ५ वैशाख । जिल्ला प्रहरी कार्यालय चितनवले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
प्रहरीको विभिन्न युनिटबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित झन्डै १० हजार लिटर घरेलु मदिरा नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार जिल्लामा रहेको प्रहरीको १० वटा युनिटले सोमबार दिनभर विभिन्न क्षेत्रमा अभियान चलाएको थियो ।
उक्त अभियानमा चितवनका विभिन्न क्षेत्रबाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ सात हजार ६३० लिटर र तयारी घरेलु मदिरा दुई हजार ७० लिटर बरामद गरी नष्ट गरिएको थियो ।
यस्तै मदिरा बनाउन प्रयोग हुने १०६ थान भाँडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । यो अभियानलाई निरन्तर अघि बढाउने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी मदिरा नियन्त्रण अभियान सञ्चालन गर्दा यसरी बरामद गरी नष्ट गरिएको हो ।
निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग पनि बढ्न सक्ने भएकाले यसतर्फ समेत निगरानी गरिएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *