भर्खरै :

क्यान्सर अस्पताल र चोन्नाम राष्ट्रिय विश्वविद्यालयबीच आपसी सहयोगको समझदारी

भक्तपुर, २० कार्तिक । भक्तपुर क्यान्सर अस्पताल र दक्षिण कोरियाको चोन्नाम राष्ट्रिय विश्वविद्यालयको ह्वासुन अस्पतालबीच आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
बुधबार नेपाल भ्रमणमा रहेको क्यान्सर अस्पताल र चोन्नाम राष्ट्रिय विश्वविद्यालयका महानिर्देशक प्रा.डा. शिन जुङ्गको नेतृत्वमा रहेको टोली भक्तपुर क्यान्सर अस्पतालको अवलोकन भ्रमणको क्रममा उक्त समझदारी भएको हो । ६ बुँदे समझदारी पत्रमा महानिर्देशक प्रा.डा.शिन जुङ्ग र भक्तपुर क्यान्सर अस्पतालका प्रमुख प्रशासक राजाराम तजलेले हस्ताक्षर गर्नुभएको छ ।
दक्षिण कोरियाको चोन्नाम राष्ट्रिय विश्वविद्यालयको ह्वासुन अस्पतालले सय वर्षभन्दा अगाडिदेखि क्यान्सरजन्य रोगको अनुसन्धान र उपचार गर्दै आएको बताइएको छ ।
पाँच वर्ष अवधिको लागि भएको उक्त समझदारी पत्रमा क्यान्सर रोगको उपचारमा उपयोग भइरहेका विभिन्न उपचार पद्धतिको ज्ञान तथा प्रविधि आदानप्रदान, संलग्न चिकित्सक तथा अन्य जनशक्तिको क्षमता अभिवृद्धि, वैज्ञानिक सम्मेलनका लागि आपसी सहयोग गर्नेलगायत प्रावधानहरू छन् ।
दक्षिण कोरियाली चिकित्सक टोलीलाई अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले भादगाउँले कालो टोपी लगाई स्वागत गर्नुभएको थियो ।
अस्पतालमा बिरामीको चाप बढ्यो
भक्तपुर क्यान्सर अस्पतालमा विगतका महिनाहरूमा भन्दा बढी बिरामीको अत्यधिक चाप बढेको देखिएको छ । हाल अस्पतालको सबै शय्यामा बिरामी रहेका छन् । अस्पतालमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्दा काठमाडौँ उपत्यका घर भएका र अवस्था जटिल नभएका बिरामीलाई घर पठाउनुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा बिनाझन्झट उपचार सेवा सुलभ हुनु र क्यान्सर रोगबारे जनचेतना वृद्धिका कारण बिरामीको चाप बढेको हुनसक्ने अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले बताउनुभयो ।
क्यान्सर रोगको रोकथाम, पहिचान र समयमै उपचारबारे अझै व्यापक जनचेतना फैलाउन आवश्यक रहेको प्रा.डा. श्रेष्ठले बताउनुभयो । हाम्रो देशमा रोग लागेर उपचार गर्न आउनेमध्ये २०–२५ प्रतिशतमात्र बिरामीको रोग निर्मूल गर्न सकिएको र विकसित देशहरूमा त्यसको दर ५० प्रतिशतमाथि रहेको उहाँले बताउनुभयो । प्रायः बिरामीहरू क्यान्सर रोगको तेस्रो र चौथो स्टेज अर्थात् अन्तिम अवस्थामा मात्र उपचारका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउने गरेको उहाँको कथन छ । रोग लागेको पहिलो र दोस्रो स्टेजमै रोग पहिचान र उपचार सुरु गर्न सकेकाहरूको रोग पूर्णतया निको हुने उहाँले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१८ को एक वर्षमा १८,१५६ नयाँ बिरामीको ओपीडी जाँच, ५९,६७९ पुराना बिरामीको फलो अप, ७७८२ बिरामीको अस्पताल भर्ना गरी उपचार, ११९८ जनालाई रेडियोथेरापी उपचार, १ लाख ३१ हजार १११ जनाको प्रयोगशाला परीक्षण र ४३४० बिरामीको शल्यक्रिया भएको छ । त्यस्तै २०७६ साउनमा ८७०९ र भदौमा ८९३८ बिरामी उपचारका निम्ति आएका र असोजमा त्यो सङ्ख्या ९ हजार नाघेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *