रौतहट, २० कार्तिक । नेपाल मजदुर किसान पार्टी रौतहटको आयोजनामा बुधबार स्थानीय कार्यकर्ता र समर्थकहरूको भेला देबाही–गुनाही नगरपालिकामा भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्था पुँजीपति वर्गको हितमा गर्ने व्यवस्था भएकोले कामदार जनताको हित गर्न नसक्ने बताउनुभयो ।
उहाँले नेमकिपाले सडक र सदनसम्म कामदार जनताका समस्याबारे सङ्घर्ष गर्दै आएको चर्चा गर्दै शासक दलको कारण तराईमा जातीय र क्षेत्रीय समस्या बढेको बताउनुभयो ।
उहाँले शासक दलले चुनाव जित्न जनतालाई झूटा आश्वासन दिने, पैसा बाँड्ने र गुण्डागर्दी गर्ने गरेको तर सैद्धान्तिकरूपमा जनतालाई सचेत बनाउने काम नगरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक केपी धन्छाले तराईमा शिक्षा र स्वास्थ्यमा दिन प्रतिदिन खस्कँदै गएको चर्चा गर्दै सामुदायिक विद्यालयको स्तर बढाउन सके तल्लो वर्गका जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।
त्यस्तै रौतहटको गरुडामा पनि स्थानीय जनताको भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, सरोजकुमार साह, शिक्षक केपी धन्छा र राजन रस्तोगी र फिवेन्द्रप्रसाद साहले बोल्नुभएको थियो ।