बाँके, २२ कार्तिक । महान समाजवादी अक्टोबर क्रान्ति दिवसको अवसर पारी ‘अक्टोबर क्रान्ति र यसको महत्व’बारे शुक्रबार नेपालगञ्जमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ ।
नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अक्टोबर क्रान्तिले विश्वका विभिन्न देशमा क्रान्तिको लहर सृजना गरेको बताउनुभयो ।
उहाँले क्रान्तिको निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनुपर्ने भन्दै क्रान्तिको निम्ति क्रान्तिकारी पार्टी, क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कार्यकर्ता आवश्यक भएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनले जनतामाथिको शोषण तथा दमनको अन्त नभएको भन्दै क्रान्तिले जनताको जीवनस्तरमा आमूल फेरबदल ल्याउने धारणा राख्नुभयो ।
उहाँले युरोप महादेशमै सबभन्दा पछाडि परेको रूसमा क्रान्तिपछि शिक्षा, स्वास्थ्य, यातायात, बिजुली आदि सेवा निःशुल्क उपलब्ध गरिएको भन्दै औद्योगिक उत्पादनमा आश्चर्यलाग्दा परिवर्तन भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सर्जु फसिकवले नेपालको सार्वभौमिकता रक्षाको निम्ति जनताको सङ्गठित आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।
नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले अक्टोबर क्रान्तिको शिक्षा पाएर नेपालमा आमूल परिवर्तनको निम्ति जनताको बीचमा सङ्गठन बलियो बनाउनुपर्ने विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष बखत थापाको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका अन्जिरबहादुर शाही, गौरीकान्त आचार्यलगायतले पुँजीवादी व्यवस्था र नीतिकै कारण सर्वसाधारण जनताले दुःख पाइरहेको बताउनुभयो ।