भक्तपुर, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टीको आयोजनामा १०२ औँ महान अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको चेतनास्तर बढाउन शिक्षित समुदायले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इतिहासमा बर्नस्टिनको सिद्धान्त असफल प्रमाणित भइसकेको चर्चा गर्दै अध्यक्ष रोहितले शत्रुभन्दा क्रान्तिकारीहरू बलियो नहुँदासम्म सशस्त्र विद्रोहले बारम्बार धक्का खाने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हरेक पुँजीवादी क्रान्ति पनि रक्ताम्य हुने गरेको छ । स्वाभाविक रूपमा क्रान्ति हुन्छ भन्ने विचार राख्दा क्रान्तिकारी आन्दोलन असफलतामा टुङ्गिन्छ ।”
पुराना पुराण र साहित्यलाई आजको सन्दर्भमा जनताले बुझ्ने गरी व्याख्या गर्नुपर्ने विचार राख्दै अध्यक्ष रोहितले राज्यसत्ता भएसम्म दमन कायम हुने धारणा राख्नुभयो ।
“कुटिल राजनीतिको कारण सोभियत सङ्घ विघटन भएको हो” उहाँले स्पष्ट पार्नुभयो ।
क्रान्तिपछि मजदुर वर्गको अनुभवको कमीको कारण जनताले धेरै हन्डर खानुपर्ने स्थिति आउन सक्ने उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “सोभियत बुद्धिजीवीहरूले सिद्धान्तलाई भन्दा आर्थिक पक्षलाई जोड दिँदा सोभियत सङ्घ विघटन हुन पुग्यो ।”
“नेकपाले सिद्धान्त फेरिसकेको हुँदा नेकपाबाट परिवर्तनको आशा गरे जनताले पछुताउनु र निराश हुनुपर्नेबाहेक विकल्प हुनेछैन”, उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयलाई समयमै अन्तर्राष्ट्रिय अदालतमा पु¥याउनुपर्छ । जनतालाई छलछाम गर्न सत्तारूढ दलका विद्यार्थीहरूले लिम्पियाधुराबारे जुलुस निकालेको स्पष्ट छ ।”
उहाँले भन्नुभयो, “एकपल्ट जितेको लडाइँ सधैँ जित्छ भन्ने होइन । अरूको बलमा आएको समाजवाद धेरै समय टिक्दैन ।”
स्तालिनबारे साम्राज्यवादले गलत प्रचार गर्दा नयाँ पुस्तामा नकारात्मक प्रभाव परेकोबारे अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संरा अमेरिकी ट्रम्प सरकारले हिन्द–प्रशान्त रणनीतिमा सहभागी बन्न नेपाललाई दबाब दिइरहेको छ ।”
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले अक्टोवर समाजवादी क्रान्ति अगाडि सन् १८९७ को जनगणनाअनुसार रूसमा पुरूष ७६ प्रतिशत र महिला ८८ प्रतिशत अशिक्षित रहेको, चालीस जातजातिको लिखित भाषा नभएको र पाँच खण्डको चार खण्ड केटाकेटी विद्यालत्न्दा बाहिर रहेको स्थिति थियो भन्नुभयो ।
अक्टोवर क्रान्तिको सफलतापछि लेनिनले सन् १९१३ मा शिक्षा, बिजुली, ज्ञान–विज्ञान र अन्य पूर्वाधारमा विकासमा जोड दिई युरोपका सबभन्दा पिछडिएको सोभियत सङ्घमा आमूल परिवर्तन गरेको बताउनुभयो ।
“समाजवादी व्यवस्था अशिक्षित समाजमा सम्भव नहुने भएकोले अक्टोवर क्रान्तिपछि लेनिनले लेखपढ गर्नको लागि मजदुर–किसानलाई पारिश्रमिक नघट्ने गरी दैनिक दुई घण्टाको समय छुट हुने व्यवस्था गर्नुभयो ।” सचिव सुवालले उल्लेख गर्नुभयो ।
“सोभियत सरकारले युवा कम्युनिस्ट लिग र पेशागत सङ्गठनका लाखौँ कार्यकर्तालाई अशिक्षित जनतालाई शिक्षित बनाउन खटायो । सन् १९२९–३९ को अवधिमा ८ करोड ७० लाख रूसी जनता शिक्षित भए ।”, उहाँले भन्नुभयो ।
नेमकिपाले पञ्चायतकालमै मजदुर, किसान र महिलालाई शिक्षित पार्न रात्री कक्षा सञ्चालन गरेको उल्लेख गर्दैै सचिव सुवालले नयाँ पुस्तालाई पढ्ने अवसर प्रदान गर्न टोल टोलमा विद्यालय खोलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज गोसाई, सृजना सैँजू, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, भनपा क्षेत्र नं. १ (क) का नेमकिपाका उम्मेदवार नीरज लवजू तथा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *