भर्खरै :

‘हिन्दू जातिको उत्थान र पतन’ कृति पढ्दा

गौरव प्रधान
‘हिन्दू जातिको उत्थान र पतन’ कृति भारतका ज्योतिषाचार्य, विद्यानिधि र संस्कृतका विद्वान रजनीकान्त शास्त्रीले रचेको ‘हिन्दू जातिका उत्थान और पतन’ को नेपालीमा अनुवाद गरिएको कृति हो । प्राध्यापक, कानुनका ज्ञाता एवं बुद्धिजीवी बालकृष्ण श्रेष्ठ (नेभा) ले अनुवाद गरेको यो कृतिको प्रकाशन वंशरत्न मेमोरियल द्रस्ट काठमाडौँ (प्रथम संस्करण, २०६४) ले गरेको थियो । हिन्दू जातिले आफ्नो सक्कली अनुहार के कस्तो रहेछ, त्यो कुनै दाग नभएको ऐनामा राम्ररी हेरोस् र बेलैमा चेतोस् भन्ने उद्देश्यले यो कृति प्रकाशन गरिएको हो ।
समयको गतिसँगै समाजमा रहेका संस्कार, संस्कृति र रीथितिलाई विज्ञानसम्मत बनाउनुपर्ने समयको आवश्यकता हो । धर्म, संस्कार र संस्कृतिको नाममा व्याप्त अन्धविश्वास कुप्रथा, कुसंस्कारमा परिवर्तन या सुधार हुनुपर्छ । वादेवादे जायते तत्वबोध भनेझैं तर्क वितर्कको आधारमा विज्ञानको कसीमा घोटेर, विवेक र बुद्धिको उचित प्रयोग गरेर नराम्रा कुरीति, बेथिति र कुसंस्कार फाल्नुपर्छ र राम्रा, असल र समय सुहाउँदो परिवेश अँगाल्नुपर्छ भन्ने मान्यता कृतिको रहेको छ । धर्म र परम्पराको नाउँमा रहेको सतीप्रथा, बलिप्रथा र दासप्रथाको अन्त्यसँगै हाल समाजमा रहेका त्यस्तै काम नलाग्ने प्रथाहरू अन्त्य गर्न समाजका प्रबुद्ध वर्ग अघि बढ्नुपर्छ भन्ने कुरा कृतिमा उल्लेख गरिएको छ ।
धर्म र शास्त्रको जयकार गरेर उत्पीडितलाई उत्पीडित नै बनाउने प्रतिगामी कदम, सामन्ती चरित्र, अन्धविश्वास र कुसंस्कारबाट नेपाली जनता मुक्त हुनुपर्छ । अन्धविश्वास र रुढिवादी परम्परा छोडेर उत्पीडितहरूमाथिको शोषण, दमन र दबाबबाट मुक्त हुनुपर्छ । विकृति, विसङ्गति र अन्धविश्वास तथा कुरीतिविरुद्ध समाज अघि नबढेसम्म समाजको संरचना फेरिने छैन । यसका लागि जनतामा राजनीतिक चेतना र सांस्कृतिक स्तरको खाँचो हुन्छ । आदर्शोन्मुख समाज बनाउन या दास मानसिकताबाट ग्रस्त समाजलाई फेर्न समाजका परिवर्तनकामी व्यक्तिहरूको ठूलो हात हुन्छ । यस कार्यमा राज्यको नीति तथा कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ । प्रगतिका बाधा पन्छाउन या सामन्तवादी र प्रतिगामी कदमलाई जरैदेखि फाल्न राजनीतिकर्मी, समाजसेवी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, कर्मचारीदेखि मन्त्री, नेता, उद्योगपति व्यापारी–व्यवसायी, कानुन व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, डाक्टर, इन्जिनियर, वैज्ञानिक, कर्मचारी, किसान, मजदुर, महिला, युवाहरूको मात्र होइन राज्यको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
जनतामाथि सधैँ रजाइँ गरिराख्न सामन्तहरूले धर्म, संस्कृतिको नाउँमा अनेक नीति बनाए । समुदायमा गहिरो छाप पर्ने गरी बनाइएका संस्कृति र संस्कार अद्यापि कैयौँ छन् । त्यस्ता कति कुप्रथा र जाति प्रथा अहिले पनि चालू छ । कहिले धर्मशास्त्र, कहिले जात त कहिले धर्म र कहिले गरिबीको कारण ती प्रथाहरू मान्न जनतालाई बाध्य पारिएको छ । यस्तै बाध्यताका कारण झन्डै दुई दसकअघि भारतमा सतीप्रथा कायम गर्नुपर्ने माग राखी आइमाईहरूले जुलुस प्रदर्शन गरे । सबै जनतामा राजनीतिक चेतना, सांस्कृतिक स्तर र वर्गीय भावना नभएको हुँदा कुसंस्कारले समाजमा गहिरो छाप परेको हो । यसमा हामी सचेत हुनैपर्छ ।
संस्कार र संस्कृतिलाई कलह, भेदभाव र विकृतिको बीउ बनाउनु हुँदैन । कुसंस्कार र कुरीतिलाई पहिलेदेखि चलन र आफ्नो अधिकारको कुरा भनेर मानिसलाई कुत्सित कार्यमा मुछ्नु र मुछाउनु बुद्धिमानी होइन । संस्कार र संस्कृतिको प्रसङ्ग जोडेर कति हाम्रा शिक्षित र बुद्धिजीवीहरू पनि कुत्सित कार्यको गुणगान गर्छन्, निरन्तरता दिनुपर्नेमा जोड दिन्छन् । कृतिमा लेखक श्रेष्ठले उहिलेको समाजको कुण्ठित, कुत्सित र कुरीतिको भण्डाफोर गरी नयाँ समाज बनाउनुपर्नेमा जोड दिएका छन् । समाजमा व्याप्त जातपात, छुवाछूत, धार्मिक शोषण, दमन र दबाबबाट मुक्त गर्न र गराउन कृतिले सहयोग पु¥याउनेमा शङ्का छैन । एउटै समाजका मानिस पेशाको भिन्नताको आधारमा पूज्य हुने र अर्को नीच या घृणित बनाइने खेल सामन्त, शोषक र जालीफटाहाहरूले नै रचेका हुन् । मानिसलाई सधैँ मूर्ख, दरिद्र, विवेकहीन बनाउन सकिंदैन । कसैले देखाएको दोष, त्रुटि या कमजोरी कसैलाई मन नपर्न सक्छ । तर, मिथ्या प्रशंसा गरी उक्ल्याउने मित्रभन्दा आलोचना गरी सतर्क पार्ने या खबरदारी गर्ने, सुमार्ग देखाउने व्यक्ति शत्रु नै भए पनि बेस ठान्नुपर्छ । त्यसो भएन, गरिएन भने समाजको उत्थान र प्रगति कसरी हुन्छ ? मानिसले कुसंस्कार र कुरीतिलाई जोड दिनु या मान्यता दिनुको अर्थ अझै सर्वसाधारण जनताको जीवनस्तर नउठाउने र झमेलामा फसाउने पाइलाबाहेक अर्को होइन । कुसंस्कार र कुरीति सभ्यता र संस्कृतिको पहिचान होइन । एक समय त्यो, उपयुक्त या बाध्यताजस्तो भए पनि त्यो सधैँ उपयुक्त हुँदैन, टिकाउ हुँदैन ।
आफ्नो स्वार्थ पूरा गर्न कुप्रवृत्तिमा कोही नलागून् भनेरै लेखकले यो कृति रचेका हुन् । धर्म र संस्कृतिको नाउँमा स्वार्थी व्यक्तिहरूले अन्धविश्वासको बीउ छरे । त्यस्तै त्यस्तै कार्य र गतिविधिबाट समाज सडेको हो, कुहिने रोगले ग्रस्त बनेको हो । अन्धविश्वासलाई निरन्तरता दिनु सच्चा नागरिकको काम होइन । यसले जनता देशभक्त बन्दैनन्, राष्ट्रिय भावनाको विकास हुँदैन । कसैले विज्ञानसम्मत कुरा अघि सारेर नराम्रा चलन हटाउने प्रयास गर्छ या तर्क राख्छ भने ऊ संस्कार उल्लङ्घन गर्ने पात्र बन्दैन । सत्य र न्यायको लागि जनताको पक्षमा आवाज बुलन्द गर्ने सङ्घर्षशील व्यक्तिहरू दोषी हुँदैनन् । हो, सङ्ग्राम कुनै व्यक्तिको स्वार्थ सिद्ध गर्ने ध्येयले हुनुहुँदैन । अल्पमत व्यक्तिहरूको इच्छा पूरा हुने ध्येयले गर्नुहुँदैन । कुनै बेला विशेष वर्गले आफ्नो स्वार्थसिद्ध गर्न बनाइएका कुनै संस्कृति र संस्कार सधैँ मान्य हुँदैन, सधैँ आत्मसात गर्दैन । निर्बल वर्ग या सर्वसाधारण जनतामाथि लाद्ने त्यस्तो कुनै कार्यलाई जनताको स्वतन्त्रता भन्न मिल्दैन ।
जात र धर्मको आधारमा उच नीच ठान्ने र जातकै आधारमा जालझेल रच्ने, भ्रमको खेती गर्ने, धन फकाएर बसी बसी कसैले मोज गर्छ भने त्यहाँ भेदभाव रहेको ठान्नुपर्छ । भेषभूषा र पेशाकै आधारमा कुनै लायक, कुनै नालायक हुँदैन । जस्तोसुकै उच्च र कुलीन वर्गको भए पनि नालायक हुनसक्छ, तल्लो वर्गका व्यक्ति भए पनि लायक हुनसक्छ । जातकै आधारमा आफ्नो रोजेको या रुचाएको पेशा गर्न नपाउने व्यवस्था कुनै धर्मशास्त्रमा उल्लेख गरिएको छ भन्ने त्यो सद्वे हुनेछैन । तल्लो वर्गका उत्पीडितहरूको जीवनस्तर जहिल्यै कष्टकर भइरहने बन्दोबस्त अन्त्य हुनुपर्छ । यदि कुनै नीच जातिको व्यक्तिले लोभमा परेर उँचो जातिको जीविका ग¥यो भनेर उसको सर्वस्व छिनेर उसलाई तुरुन्तै देश निकाला गर्ने कुरा धर्मशास्त्रमा उल्लेख गर्नु सामन्ती चिन्तन नै हो । एउटा तल्लो जातिले अर्को माथिल्लो जातिसँग कठोर वचन बोले त्यसको जिभ्रै काट्ने, ठूलो जातिको निन्दा गर्यो भनेर आगोले पोल्ने, लामो फलामको डण्डी मुखमा घुसाउने, घमण्ड गरेको निहुँमा मुख र कानमा उम्लेको तातो तेल खन्याउने कुरा हामी सुन्छौँ, पढ्छौँ । कुटपिट भएकै आधारमा कसैको हात खुट्टा नै काट्ने धर्मशास्त्र काम लाग्दैन । यसरी समाजमा व्याप्त भेदभाव, पक्षपात र अन्यायपूर्ण ढङ्गले गर्ने कुत्सित कार्यको विरोध कृतिमा उल्लेख छ । यस्तै अर्ती र उपदेश समावेश भएको यो कृति पठनीय छ । कृति प्रकाशन गर्ने लेखक र प्रकाशक वंशरत्न मेमोरियल ट्रस्टप्रति साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *