भर्खरै :

बाँकेमा विद्यार्थी कार्यकर्ता प्रशिक्षण

बाँके, २३ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बाँकेले शनिबार विद्यार्थी कार्यकर्ता प्रशिक्षणको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले नेक्राविसङ्घले प्रजातान्त्रिक केन्द्रीयताको सिद्धान्तअनुसार काम गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले तल्लो समिति माथिल्लो समितिको मातहत र तल्लो समितिको रायप्रति माथिल्लो समितिको गम्भीरता आवश्यक हुने भन्दै सङ्गठनभित्र पर्याप्त छलफल र बहुमतको विचारको कदर हुनुपर्ने धारणा राख्नुभयो ।
सङ्गठनमा आलोचना र आत्मालोचनाको वातावरण आवश्यक भएको भन्दै केन्द्रीय सदस्य गोसाईले आलोचना स्वस्थ हुनुपर्ने बताउनुभयो । उहाँले कसैलाई खसाल्न, गाली वा बेइजती गर्न होइन बरू कमजोरी हटोस्, कमी नहोस्, प्रगति होस् भनी आलोचना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले आफ्नो कामको जिम्मा र जिम्मेवारी लिने, वर्ग शत्रुप्रति घृणा, वर्ग मित्रप्रति सम्मान गर्ने, व्यक्तिगत स्वार्थ त्याग गर्ने कार्यकर्ताको आवश्यकता भएको भन्दै कार्यकर्तामा साहस, दृढ अडान र धैर्य चाहिन्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य सर्जु फसिकवले भारतले नेपालको भूमिमाथि बलात हस्तक्षेप गरिरहेको भन्दै विद्यार्थीले देशको निम्ति योगदान गर्ने बेला आएको बताउनुभयो ।
केन्द्रीय सदस्य फसिकवले नेक्राविसङ्घले स्थापनाकालदेखि नै भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणको विरोध गर्दै आएको बताउनुभयो ।
नेमकिपा, बाँकेका अध्यक्ष बखत थापाले विद्यार्थीले निःस्वार्थ भावनासाथ देशसेवाको काम गर्नुपर्ने विचार राख्नुभयो ।
यसैबीच नेमकिपाले शनिबारै कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलाले आसन्न उपनिर्वाचनको आवश्यक तयारी गर्ने निर्णय गरेको छ । विभिन्न जनवर्गीय समिति र पार्टी समितिले आ–आफ्नो कार्यप्रगतिबारे भेलालाई जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *