भर्खरै :

जय भीमसेन बचतको १२ औँ साधारणसभा सम्पन्न

भक्तपुर, २३ कार्तिक । “सहकारी संस्था आर्थिक लेनदेनमा मात्रै सीमित नभई समुदायको साझा हितमा आफ्नो गतिविधि अगाडि बढाउनुपर्दछ । मौलिक खेल, बाजा र परम्परा जोगाउन सके हाम्रो संस्कृति जोगिने भएकोले यस्ता सीप र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नियमितरूपमा तालिमहरू सञ्चालन गर्नु आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभाको उद्घाटन समारोहमा शनिबार राख्नुभएको हो ।
“सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीप र तालिमहरू सञ्चालन गरी समाजलाई अगाडि बढाउने भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।
भारतीय विस्तारवादले नेपालको भूमि अतिक्रमण गरेकोमा विरोध गर्दै उहाँले भन्नुभयो, “देशको सार्वभौमिकताभन्दा ठूलो केही नभएकोले सार्वभौमिकता र स्वाधीनताको लागि सङ्घर्ष गर्नेबाहेक अरू विकल्प छैन ।”
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कम्युनिस्ट सिद्धान्तअनुरूप गरिब जनताको हितको निम्ति सहकारी संस्था सञ्चालन हुनुपर्छ भन्नुभयो ।
संस्थाका सल्लाहकार पुरूषोत्तम ग्वाछाले सहकारी संस्थाले आफ्ना गतिविधिहरूमार्फत सदस्यहरूमा अध्ययन संस्कृतिको विकास गर्न जोड दिनुपर्छ भन्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष रत्नबहादुर शिल्पकारको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत सङ्घका सञ्चालक चन्दिका छुकाँ, कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, संस्थाका उपाध्यक्ष रामकाजी शिल्पकारलगायतले बोल्नुभएको थियो ।
सभाबाट संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो ।
सभाले रामकाजी शिल्पकारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *