भर्खरै :

अक्टोबर क्रान्ति दिवसको अवसरमा प्रवचन

सुर्खेत, २४ कार्तिक । महान अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिले आइतबार प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले क्रान्तिको निम्ति एउटा क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टी आवश्यक भएको लेनिनको भनाइ उद्धृत गर्दै क्रान्तिको निम्ति भित्री र बाह्य परिस्थिति तयार हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थिति तयार हुनुको साथै देशका जनता क्रान्तिको निम्ति तयार हुुनुपर्छ ।”
केन्द्रीय सदस्य गोसाईले विचारधारात्मक सङ्घर्षलाई सदा जोड दिनुपर्ने लेनिनको शिक्षा उल्लेख गर्दै क्रान्ति मुठीभर समझदार र बहादुर क्रान्तिकारीले मात्र गर्ने होइन बरु क्रान्ति व्यापक श्रमजीवी जनताले गर्ने हो भन्नुभयो । उहाँले भन्नुभयो, “अराजकतावादी सिद्धान्तले सर्वहारा क्रान्तिको नेतृत्व गर्नसक्दैन र क्रान्तिपछि पनि सर्वहारा अधिनायकत्व कायम राख्नुपर्छ ।”
नेमकिपा, दैलेख जिल्ला समितिका सदस्य एवम् निर्वाचित वडाध्यक्ष निरकबहादुर शाहीले नेमकिपाले देश र जनताको इमानदारीसाथ सेवा गरिरहेको उल्लेख गर्दै शासक दलका नगर प्रमुख तथा उपप्रमुखहरू विकासको नाममा भागबन्डा तथा कमिसनमा अल्झिएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य सर्जु फसिकवले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालको भएको पर्याप्त प्रमाण हुँदाहुँदै नेपाल सरकार भारतसामु दरो भएर प्रस्तुत हुननसकेको बताउनुभयो ।
नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगी, नेमकिपा, सुर्खेतका सदस्य गणेश खड्का, नेपाल क्रान्तिकारी मजदुर सङ्घ, सुर्खेतका अध्यक्ष अक्कल राना, नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *