भर्खरै :

धर्मको सान्दर्भिकता

 दामोदर पुडासैनी “किशोर”
‘धर्म अनुभूतिपरक हुन्छ, धर्म निर्माण प्रक्रिया हो, मान्छेको आत्मविश्वास धर्मराएपछि प्रबल बन्न थाल्छ ईश्वर ।’
समाजको विकाससँगै सामाजिक मूल्य, मान्यता र प्रणालीहरू विकास गरियो । समाज विकासको प्रारम्भिक चरणमा मान्छेलाई धार्मिक माध्यमबाट एकत्रित गरेर अघि बढाउँदा डर, त्रास र आशको बीचमा परेका मान्छेहरू कुनै न कुनै धर्ममा आवद्ध बने । मान्छे मान्छेकै रूपमा स्वतन्त्र र स्व–सम्भावना बोकेर जन्मिए पनि प्रत्यक्ष र परोक्षरूपमा कुनै न कुनै धर्मको घेराभित्र परेपछि उसका मूल्य र मान्यताहरू पनि जानेर वा नजानेर र चाहेर वा नचाहेर धार्मिक मूल्य र मान्यताहरूबाट प्रभावित हुनथाले ।
‘धर्म’ मानिसले आफ्नो भौतिक तथा अभौतिक जीवनलाई चलायमान र परिष्कृत गर्दै अघि बढ्न निर्माण गरेको ‘सदाचार’ वा संस्कृति तथा त्यस प्रयोजनलाई सार्थक स्वरुप दिन सङ्गठित भएर बसेको मानव झुण्ड वा एकीकृत स्वरुप हो । यसले जीवनलाई अनुप्राणित गर्ने, स्वच्छ राख्ने, आदर्श, क्रियाशील र समदर्शी जीवन व्यतित गर्ने प्रेरणा दिने हो । यी सबै हामीले देखिआएका, प्रचलित मत–विश्वास, सम्प्रदाय आदिभन्दा माथि छ । त्यसले प्रकृतिको सर्वोच्च रचना, ती बीचको सम्बन्ध र समन्वय तथा सञ्चालन प्रक्रियाको व्याख्या गर्दछ ।
धर्म साधनामा आधारित हुन्छ, धर्मले स्वभावमा परिवर्तन ल्याउँछ, धर्म रम्ने प्रक्रिया हो, दर्शन विनाको धर्म भेँडाको हूल समान हो ।
समाज सङ्गठित भएर अघि बढ्न थालेपछि परिचालनका लागि नियमहरू बन्दै जाँदा धर्म पैदा भएको मानिन्छ । आफूहरूलाई दुःख आइपर्ने बाढी, सुख्खा, पहिरो, भुइँचालो, चट्याङ आदि प्राकृतिक विपत्ति र हिंस्रक जन्तुबाट बच्नु नै साझा धार्मिक भावना उत्पन्न भएको मानिन्छ ।
नितान्त आदिकालीन जङ्गली घुमन्ते अवस्थाका मानिसहरूमा धर्म, दर्शन, ईश्वर पुनःजन्म आदि जस्ता धारणाहरू जन्मेका थिएनन् । मानिसले आफै जीवनोपयोगी वस्तु, सङ्कलन र उत्पादन गर्न थालेपछि असामयिकरूपमा आउने आँधी, बाढी, खडेरी, अनिकाल, हैजा, खोरेतजस्ता महामारी आदिको कारणले उसका मनमा कुनै अदृश्य या अज्ञात दैवी शक्ति छ कि भन्ने कल्पना पलाउन थाल्छ । अनि लाचार मान्छेले त्यही काल्पनिक शक्ति या देवतालाई गुहारेर ‘समस्याबाट पार लगाइदेऊ’ भनी पुकार्न थाल्छ । यसरी क्रमशः दैववादी या ईश्वरवादी दर्शनको जन्म हुन्छ । यस्तै कारणले अन्धविश्वास, रुढिवाद, भाग्यवाद, स्वर्ग नरक आदि धारणा जन्मन पुग्छन् । अर्कातिर मानिसले जीवन र जगत्का अनेक विषयको अध्ययन, अनुभव, खोज, प्रयोग आदि गर्दै जाने क्रममा विश्व प्रकृतिका रहस्यहरूको उद्घाटन गर्दै जान्छ । उसले वस्तुगत यथार्थ संसारका नियमहरू बुझ्दै क्रमशः विज्ञानको विकास गर्दै जान्छ र त्यसअनुरुप जीवन पद्धति बनाउँछ । यसप्रकार मानव समाजमा अन्धविश्वासी र वैज्ञानिक दुईखाले विचार र दर्शनहरूको शृङ्खला बन्दै जान्छ ।
ब्रह्माण्डको सृष्टि, सञ्चालन र प्रलयका सम्बन्धमा हरेक समाज, जाति र मान्छेहरूमा आ–आफ्नै ढङ्गका विश्वासहरू पाइन्छन् । त्यसमा दुई दृष्टिकोणहरू प्रबलरूपमा व्याप्त छन् । आध्यात्मिक दृष्टिकोण र भौतिक दृष्टिकोण अध्यात्मवादीहरू संसार ईश्वरबाट रचना गरिएको हो, ईश्वर अदृश्य हुन्छ भन्ने प्रचारमा व्यस्त छन् । भौतिकवादीहरू त्यसको ठाडै विरोध गर्दछन् । उनीहरू तथ्य, प्रमाण र तर्कको आधारमा हरेक कुराको विश्लेषण गर्नुपर्ने निष्कर्षमा पुग्दछन् र त्यसै गर्दछन् । हरेक घटना र वस्तुलाई कारण र परिणामको द्वन्द्वात्मक सम्बन्धको आधारमा निष्कर्षमा पुग्नु भौतिकवादीहरूको दर्शन पनि हो । यसअनुसार तिनीहरू जीवनको सुरुआत हुनुपूर्व नै जीवन निर्माणको आधार प्रकृति खडा भइसकेको जीवहरूको उत्पत्ति अजैविक तत्वहरूबाट भएको, कुनै पनि चिज स्थायी र स्थिर नभएको, हरेक वस्तुहरू गतिको तीव्र प्रवाहबाट चलिरहेको, संसार ईश्वरबाट रचना गरेको नभई मान्छेले ईश्वरको सिर्जना गरेको जस्ता विश्वासहरूमा अघि बढिरहेका छन् । यसको लागि भौतिकवादीहरूले यथेष्ट तर्क प्रमाण, प्रयोग र परिणाम प्रस्तुत गरिरहेका छन् ।
प्रकृतिमा मान्छेको उत्पत्ति भएको केही समय पछिदेखि नै ईश्वर धर्मको मान्यताअघि सारिन थालिएको पाइन्छ । त्यस अतिरिक्त ईश्वर मानव निर्मित कल्पनामात्र हो र ईश्वर कल्पना गरेर स्थापित गरेका अनेकौँ धार्मिक मान्यताहरूले अन्धविश्वास र अधोमुखमा मान्छेलाई भासेको प्रसङ्गहरू पनि त्यतिकै चर्चामा छन् । सुरुमा मानव समाजलाई अनुशासित, मर्यादित र उन्नतिशील बनाउनको लागि धर्मको प्रादुर्भाव गरिए, तर कालान्तरमा त्यसका प्रयोगकर्ताहरूले आफूअनुकूल धार्मिक मान्यताहरू प्रयोग गरिदिनाले धर्म समाज विकासको लागि बाधक सावित हुनथाल्यो ।
आदिम कालमा मान्छे जङ्गली जनावर सरह थियो । त्यतिबेला मान्छेले जे गथ्र्यो त्यही ठीक मानिन्थ्यो । मान्छेले गरेको काममा कुनै तत्वले भाँजो हाल्दैनथ्यो । त्यतिखेरसम्म मान्छेले ईश्वरको कल्पना गर्न जरुरी मानेको थिएन । मान्छेले भौतिक विकास गर्न थालेपछि उसका कार्यहरूमा केही सीमारेखाहरू पनि उभ्याउन पर्ने भयो । त्यही बेला ईश्वर जन्माइयो र कामलाई पाप र पुण्यमा विभाजन गरियो ।
मान्छेमा आत्मविश्वासको जति कमी हुँदै जान्छ उत्ति ईश्वरको प्रबलता बढ्दै जान्छ । कुनै गते बार वा क्षणमा काम गर्दा सफल हुने, कुनै रङ्ग फलिफाप हुने नहुने, कुनै मान्छेसँग भेट्दा शुभ हुने नहुने, दिशा र कालको शुभ–शुभ विचार गरेरमात्र हिँड्ने कुराहरू धर्मसँग जोडेपछि मान्छेको आत्मविश्वास झन् झन् कमजोर हुँदै गयो । फलतः ईश्वर र धर्मको पक्ष अरु गाढा हुनथाल्यो ।
भौतिक एवम् वैज्ञानिक ढङ्गबाट मान्छेले औधी विकास त ग¥यो । मान्छे स्वभावतः आफ्ना सुख दुःख अरु मान्छेलाई बाँड्न चाहन्छ । भौतिकरूपमा उल्लेखनीय रुपमा प्रगति गरे पनि मान्छे मान्छेसँग राम्रोसँग नजिकिन सकेन । ऊ स्वार्थी, एकलकाँटे र आत्मकेन्द्रित बन्न थाल्यो । यस परिस्थितिमा ऊ एक्लो जीवनमा पनि अरु कोहीसँगै छ भन्ने कल्पना गर्नथाल्यो र ईश्वरको कल्पना, ईश्वरको उपस्थिति र ईश्वरको क्रियाशीलताको कल्पनामा मग्न हुनथाल्यो । त्यसैबाट धर्म विकास भयो । मान्छे धार्मिक जञ्जालमा विस्तारै बेरियो ।
मान्छे रोगको शिकार बन्छ, मौसमको फेरबदल, प्राकृतिक उथलपुथलसँग डराउँछ त्यसबाट बच्ने नाममा भूत–प्रेत, धामी, झाँक्री, बोक्सी, डंकिनीहरूको कल्पना गर्नथाल्छ । तिनीहरूलाई पुज्ने, मन्छने क्रियाले भय र रोगबाट मुक्ति पाउने अन्धविश्वास पाल्न थाल्छ र त्यो धर्मको सत्रञ्जामा बलियोसँग बुन्छ । त्यसैमा ईश्वरका तानाबानाहरूको समेत कल्पना गरेपछि मान्छे अत्यन्त काँतर बन्छ । ऊ सधैँ तिनीहरूकै भक्ति, थिति र भयावहता खोस्रेर जिन्दगी बर्बाद गर्न थाल्दछ ।
– धर्मको ह्याङओभर पुस्तकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *