भर्खरै :

लिम्पियाधुरा, कालापानी र लिपुलेकको प्रकाशमा नेमकिपाको पर्दा के शासक दलहरूले च्यात्ने साहस गर्छन् ?

अनुदीप
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्तिक १८ गते सोमबार काठमाडौँका सम्पादक तथा वरिष्ठ पत्रकारहरूसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा मन्त्री ज्ञवालीले कहिलेसम्म आफूहरू लोकतान्त्रिक नै भएको र आफूहरूले कम्युनिस्ट सिद्धान्त र चरित्र छोडिसकेको स्पष्टीकरण दिइरहनुपर्ने हो भनी विलौना गरे । विदेशी पुँजीको सेवामा लिप्त भइसकेको नेकपामाथि बारम्बार प्रश्न उठाउनु पूर्वाग्रही सोच भएको जिकिर गर्दै मन्त्री ज्ञवालीले दिक्दारी व्यक्त गरे, “सीताले एक पटक अग्नीपरीक्षामा होमिएपछि उनको पतिव्रताको परीक्षण भयो । यो नेकपा नामको प्राणीले कतिचोटि परीक्षा दिएपछि उसको डेमोक्रेसीप्रतिको प्रतिबद्धता पास हुन्छ ?” एमालेले २०४६ सालमै माओ विचारधारा त्यागेको र माओवादीले पनि माओवाद त्यागिसकेको स्पष्टीकरण दिँदै मन्त्री ज्ञवालीले भने, “यिनीहरू कम्युनिस्ट हुन्, कसरी डमोक्रेटिक होलान् भन्ने खालको पनि होला ।” एमाले–माओवादी नेकपा नेपाली जनताको घरदैलोमा जाँदा कम्युनिस्ट भइटोपल्छ अनि विदेशीको अगाडि विदेशी पँुजीकै सेवामा समर्पित हुन्छ । यता पनि ठिक्क उता पनि ठिक्क पार्न खोज्ने एमाले–माओवादी नेकपाको दोहोरो चरित्र छ । दुवैतिर ठिक्क पार्न खोज्दा मनपर्नेबाटै विश्वास जित्न नसकेपछि रुने मन्त्री ज्ञवालीहरूलाई नेपालीमा ‘.. कुनामा बसी रोई’ भन्छन् ।
गाउँका जनता, मजदुर र किसान वा कामदार जनता एमाले–माओवादी (नेकपा) लाई साँच्चिकै कम्युनिस्ट भनेर मत दिन्छन् । कम्युनिस्टहरूले कामगरी खाने जनताको दुःख बुझ्छ र दुःखी जनताको चोला फेर्छ भन्ने विश्वासले नै मत दिन्छन् । तर, कम्युनिस्टको नाममा मत बटुलेर जाने नेताहरूले गाउँका बुकुरो बिर्सेर बालुवाटारमा महल ठड्याउन अनेक षड्यन्त्र गर्छन् । तन, मन र धन दिएर काँध थाप्ने कामदार जनताको हित कुल्चेर सत्ता र शक्तिमा अडिरहन विदेशी पुँजीलाई खुशी पार्ने ऐन–कानुनहरू बनाउँछन् । विदेशी पुँजीका दलालहरूले उठ् भने उठ्, बस् भने बस् गर्दा पनि नेपाली जनतालाई ठग्न ओढेको कम्युनिस्ट झन्डा देखाउँदा पनि सन्देह जनाएपछि मन्त्री ज्ञवालीहरू उदास बन्छन् । अनि “सीताले भए एकपटक अग्नी परीक्षा दिए पुग्ने नेकपा नामको प्राणीले कतिपटक अग्नी परीक्षामा होमिनुपर्ने हो ?” भनी दिक्क मान्छन् । मन्त्री ज्ञवालीहरूलाई थाहा छ, विदेशी पुँजीलाई रिझाउने कम्युनिस्ट मकुन्डो नफुकालेसम्म नेपाली जनताले विश्वास गर्ने छैनन् भने मकुन्डो फुकालेमा मत दिनेछैनन् । मन्त्री ज्ञवालीहरू पुँजीपति वर्गको हितमा कानुन बनाउँछन्, विदेशीकै हित हुने सम्झौता गर्छन् तर कामदार जनताको आँखा छल्न अनेक भ्रमको खेती गर्छन् । कामदार जनताको ध्यान अन्यत्र मोड्न पुल र बाटोजस्ता झिनामसिना विकासका हल्ला बढी गर्छन् । ठेकेदारहरूबाट कमिसनको मुठ्ठा हात पार्न विकासको मसिहा बन्छन् । यसैले एमाले–माओवादी (नेकपा) र ओली दाहाल सरकारको असली चरित्र जनतामाझ उदाङ्गो पार्नु समयको माग हो ।
नेपाली कामदार जनताको भोट पाएर सरकारमा पुगे पनि पुँजीपति, शोषक वर्ग र विदेशी पुँजीका दलालहरूलाई मात्र खुशी पार्न खोज्ने ओली–दाहाल सरकारलाई उदाङ्गो पार्दै नक्कली कम्युनिस्ट भनेपछि नेपाल मजदुर किसान पार्टीप्रति आक्रोशित छन् । एमाले–माओवादी वा नेकपामात्र होइन, सबै शासक दलहरू नै नेमकिपासँग आक्रोशित छन् । सहमतिको नाममा भागबन्डा गरेर खान पल्केका शासक दलहरूका कुकृत्यहरूको घैँटो फुटाउने भएपछि नेमकिपालाई घेराबन्दीमा पार्ने, अनेक लान्छना लगाउने गरेका छन् । नेपाली राजनीतिको यथार्थ यही हो कि सबै शासक दलहरू एकातिर नेमकिपा अर्कोतिर । संसद्मा मात्र होइन, नेपाली राजनीतिमै नेमकिपा प्रखर प्रतिपक्षी पार्टी बनिरहेको नेपाली राजनीतिको वास्तविक दृश्य हो । जसरी पनि सरकारमा जान मरिहत्ते गर्ने शासक दलहरू र जनताको प्रजातन्त्रको लागि, कामदार जनताको हितको निम्ति लड्ने नेमकिपाको राजनीतिक गोरेटो नै फरक छ ।
शासक दलहरूले जनतालाई दिएका वचन पूरा गरेका छैनन् र गर्न सक्दैनन् पनि । कम्युनिस्ट नाम गरेको होस् या प्रजातन्त्रवादी भनिएको होस् ती शासक दलहरू उदाङ्गिदैछन् । तिनीहरूको झूटा आश्वासन र बेइमानी अनि भ्रष्टाचारबाट जनता वाक्क दिक्क भएका छन् । यसकारण नेमकिपाले अपनाउँदै आएको इमानदार राजनीतिक गोरेटोप्रति सचेत जनता आकर्षित भएका छन् । व्यापक नेपाली कामदार जनता नेमकिपाको झन्डामुनि गोलबन्द हुन लागेको देखेर नै नेमकिपाविरुद्ध शासक दलहरूले, प्रतिक्रियावादीहरूले बारम्बार हमला गरिरहेका छन् । कम्युनिस्ट नाम गरेका पार्टीहरू मात्र होइन, स्वयम् प्रजातन्त्रवादी पार्टी भन्नेहरू पनि नेमकिपासँग राजनीतिक र सैद्धान्तिक बहसमा आउँदैनन्, किनभने सैद्धान्तिक र राजनीतिक क्षेत्रमा आफू इमानदार भएर देखाउन सक्दैनन् । क्रान्तिकारी संसद्वादलाई आत्मसात् गरिरहेको नेमकिपाको कम्युनिस्ट आदर्श मात्र होइन, संसदीय मयार्दामा समेत नेमकिपाको सशक्त भूमिकाप्रति प्रश्न उठाउने साहस राख्दैनन् । नेमकिपाले नेपाली राजनीतिमा कामदार वर्ग पक्षीय आदर्शलाई स्थापित गरिरहेको शासकहरू मन पराउँदैनन् ।
नेपाल मजदुर किसान पार्टीको विचार र व्यवहारबाट प्रभावित भई आकर्षित भएका मजदुर, किसान, राष्ट्रिय पुँजीपति वर्ग, देशभक्त र प्रगतिशील बुद्धिजीवीहरूलाई अलमल्याउन शासक दल र प्रतिक्रियावादीहरूले अनेक तगाराहरू हालिरहेका छन् । नेमकिपा राम्रो पार्टी त हो तर सरकारमा जाँदैन । नेमकिपा जनताको सेवामा इमानदार छ तर भक्तपुरबाहिर छैन । त्यस्तै नेमकिपा भ्रष्टाचार र भागबन्डामा लाग्दैन तर सानो छ । ‘तर’ पछिका गैरराजनीतिक र गैरसैद्धान्तिक भद्र आक्रमणले नेमकिपाको विचारको प्रकाशलाई हत्केलाले छेक्न शासक दलहरू र प्रतिक्रियावादीहरू अनेक भ्रम छरेर थाक्दैनन् ।
पँुजीवादी व्यवस्थामा नेमकिपा सरकारमा नजानु आफँैमा कम्युनिस्ट सिद्धान्तप्रतिको निष्ठा हो । पँुजीवादी व्यवस्थाको सरकारमा गएर कम्युनिस्टहरूको आदर्श समाज स्थापना गर्न सकिँदैन, समाजवादी व्यवस्था ल्याउन सकिँदैन । नेमकिपाले देशव्यापीरूपमा कामदार जनतालाई सचेत र सङ्गठित बनाउँदैछ । पञ्चायती कालरात्रीमा मात्र होइन, आज पनि नेमकिपाका कार्यकर्ताहरू देशव्यापी जनताको माझमा सक्रिय छन् । यद्यपि नेमकिपालाई ‘भक्तपुरबाहिर छैन’ भनी भ्रमको पर्दाले ढाक्न खोजिरहेका छन् । हालै भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखी सार्वजनिक गरेको विरोधमा नेमकिपाले दुर्गम हिमाली जिल्ला जुम्ला, पहाडी जिल्ला सुर्खेत र तराईको जिल्ला बाँकेलगायत देशका विभिन्न जिल्लाका गाउँ सहरहरूमा जुलुस र विरोधसभाहरू ग¥यो । काठमाडौँ उपत्यकामै पनि विभिन्न ठाउँमा नेमकिपाले जागरण ल्यायो तर शासक दलका सञ्चारमाध्यमहरूले भक्तपुरमै मात्र जुलुस देख्यो । नेमकिपाका कार्यकर्ताहरूभन्दा पनि सानो समूहको गतिविधि देख्ने प्रतिक्रियावादी वर्गका सञ्चारमाध्यमहरूले भक्तपुरबाहिर नेमकिपाको गतिविधि देखेनन् । नेमकिपाको गतिविधिलाई ‘मौनतामा मार्न’ नेमकिपालाई सीमित घेरामा थुन्न खोजे पनि नेमकिपा देशको स्वाधीनता र कामदार जनताको शासनसत्ता स्थापना गर्ने सङ्घर्षमा लम्किरहन्छ । प्रतिक्रियावादीहरूको अवाञ्छित तगाराहरूले नेमकिपालाई रोक्न र छेक्न सक्दैनन् ।
हो, निर्वाचनको परिणामको आधारमा नेमकिपा निर्वाचित भएको इकाइहरू धेरै छैनन् । बरु नेमकिपाबाट निर्वाचितहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न सक्छन् भने अरू पार्टीका जनप्रतिनिधिहरूले किन सक्दैनन् भनी प्रश्न उठाउनु बढी स्वाभाविक होला । आशा गरौँ, नेकपा (एमालें माओवादी) र नेपाली काङ्ग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे निक्र्याेल गर्न आफूहरू सरकारमा रहँदा के – के खँदिला पाइला चाले प्रस्ट पार्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *