विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, १२ जेठ । नेपाल सरकारको शिक्षा नीतिअनुसार शैक्षिक सत्र सुरु भएसँगै संस्थागत विद्यालयका अभिभावकमाथि पहिलेदेखि बिनाकारण एउटै विषयअन्तर्गत पर्ने शीर्षक वा उपशीर्षकलाई छुट्टाछुट्टै शीर्षक बनाई शुल्क उठाउने गर्दै आएको प्रवृतिमा खासै तात्विक भिन्नता नआएको गुनासो बढ्न थालेपछि अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले ‘परिवर्तित समयमा अभिभावकको दायित्व’ विषयक एक समारोहबिच बृहत् छलफल कार्यक्रम सम्पन्न ग¥यो ।
उक्त अवसरमा अभिभावक सङ्घ नेपालका संस्थापक अध्यक्ष एवम् वर्तमान संरक्षक सुप्रभात भण्डारीले बेथितिबाट आजित युवा जमातको जलनले स्थापित वर्तमान सरकारसँग नयाँ पुस्ताले अनुशासनमा आधारित सस्तो, सुलभ र वैज्ञानिक शिक्षाको ठुलो आशा गरेको बताउनुभयो । पछिल्ला घटनाक्रमले संस्थागत स्कूलका सञ्चालकहरूसँग पहिलेदेखिको मालिक्याइँ नफेरिएको उल्लेख गर्दै उहाँले मात्र नयाँ परिवेशसँगै मालिक्याइँलाई निरन्तरता दिन छेपारोले झैँ रूप बदलेको देखियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “सिङ्गो अभिभावकहरूका लागि हामी हिजो लड्यौँ, आज लड्दै छौँ र सङ्घर्षको पाइलामा हामी निरन्तरता दिइरहन्छौँ ।
अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले अभिभावक सङ्घको लामो इतिहास खराब कुराको साक्षी बसेर बनेको होइन भन्नुभयो । “अभिभावकहरूको हरेक दुःख, कष्ट र पीडालाई लिएर आफ्नो अग्रसरता देखाउनु हाम्रो पहिलो कर्तव्य हो,” उहाँले भन्नुभयो ।
अभिभावक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष केपी शर्माले अभिभावकहरूले तिर्ने शुल्कको यथार्थ विवरण खुलाई संस्थागत बिल भर्पाई दिन आनाकानी गर्नु वा नमान्नु सरासर ठगी हो भन्नुभयो ।
नेपाल सरकारको शिक्षा नियमावलीविपरीत अभिभावकहरूको ढाड सेक्ने गरी शुल्क वृद्धि गरी असुलेको कुरालाई घुमाइफिराइ नछोड्ने मनोवृत्तिविरुद्ध अभिभावकहरूको सामूहिक प्रयास र भावनामाथि भाँजो हाल्न खोज्नेजस्ता अनैतिक प्रवृत्ति संस्थागत विद्यालयमा देखिनु अक्षम्य छ भन्दै अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष राम सुवाल, सचिव आसराम सुवाल, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्य घनश्यामलगायत विभिन्न संस्थागत विद्यालयका अभिभावकहरूले पनि स्थानीय तहले अभिभावक सङ्घसमेतको सहभागितामा विद्यालय अनुगमन गर्नुपर्ने विषयलाई जोड दिँदै आ–आफ्नो भनाइ व्यक्त गर्नुभयो ।
Leave a Reply