भर्खरै :

सिद्धान्त र विचार छोड्नु धोका हो

– गोपाल नगरकोटी
कम्युनिस्ट पार्टीको उद्देश्य पूरा गर्ला भन्ने मनसायले नै एमाले र एमाओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बहुमत जनताले मतदान गरेका हुन् । प्राप्त बहुमतको आधारमा नेकपाले सरकारको नेतृत्व गर्न पाएको हो । शोषणरहित समाज स्थापना गरेर समुन्नत समाजको विकासमा टेवा पु¥याउनुपर्ने नेकपाको सरकारले क्रान्तिकारी बाटो छोडेको छ । समाजमा आमूल परिवर्तन गरेर जनताका आधारभूत आवश्यकता जनतामा राहत पु¥याउनु कम्युनिस्टको जिम्मेवारी हो । तर, जनताको कार्यशैली हेर्दा, बुझ्दा मन्त्रीहरूले आफ्नो दललाई कम्युनिस्टको सिद्धान्त र आचरणमा ढाल्न सकेका छैनन् । किसान र मजदुरहरूको पक्ष या हितमा कुनै नीति नियम बनाइएको छैन । स्पष्ट छ, सत्तारुढ दल वा नेता र मन्त्रीहरूले इमानदारीपूर्वक राजनीति गरेका छैनन् । राजनीतिलाई आय आर्जनको बाटो बनाइएको छ, पदको दुरुपयोग गरिएको छ । यो राजनीतिक संस्कार होइन, इमानदार नेता र मन्त्रीको परिचय होइन । सिद्धान्त र विचार भुल्नु या छोड्नु धोका हो, बेइमानी हो । राजनीति निःस्वार्थपूर्वक गर्नुपर्छ । छलको राजनीति गर्नु राजनीतिक अपराध हो । राजनीतिक आवरणभित्र आपराधिक क्रियाकलाप गर्नु सद्दे राजनीति होइन । नेकपाले वर्गीय राजनीति गरेको छैन । नेकपाले मजदुर र किसानको पक्षमा राजनीति गरेको छैन । नेकपा किसान र मजदुरको उच्चारण पनि गर्दैन । नेकपाभित्र सर्वसाधारणमात्र होइन शोषक, सामन्त, जमिनदार गुण्डा, सामाजिक अपराधी, भ्रष्टाचारी, कमिसनखोरहरू पनि अटेका छन् । नेकपा ती सबै पक्षलाई रुचाउन चाहन्छ, सबैलाई खुसी बनाउन चाहन्छ । सबैलाई समान देख्ने नेकपाले कसरी शोषितपीडित, उत्पीडित या बहुमत जनताको पक्षमा राजनीति गर्छ ? कम्युनिस्ट भनिने नेता र मन्त्रीहरू अल्पमत वर्गको पक्षमा लाग्दैनन् । तर, यहाँ राजनीति तल्लो वर्गको सेवाभन्दा माथिल्लै वर्गको सेवामा नेकपाको सरकार जुटेको छ ।
वर्गीय समाजमा कुलीन वर्गको पक्षमा र शोषित पीडित जनताको पक्षमा राजनीति गर्ने दल पनि हुन्छ । पुँजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रको पक्षमा राजनीति गर्ने दल छन् । प्रजातान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादको पक्षपोषण गर्ने दलहरू पनि छन् । वर्गीय समाजमा यो स्वाभाविक हो । वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ या एक वर्ग र अर्को वर्गबीच द्वन्द्व हुन्छ । यसबारे राजनीतिज्ञ र राजनीतिक विश्लेषकहरू स्पष्ट छन् । तर, यहाँ कम्युनिस्टले कम्युनिस्टलाई पछार्ने, भाँजो हाल्नेमात्र होइन कम्युनिस्टको खोल ओढेर कम्युनिस्टकै बदनाम गर्ने दल पनि छ । त्यो दलको प्रतिनिधित्व नेकपाको दलले गरिरहेको छ । नेकपा सरकारमा छ । सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । नेकपाले देश र जनताको सेवा गरेर देखाउने समय हो । मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा काम गर्ने मौका हो नेकपाको लागि । शोषणरहित समाज स्थापना गर्न, समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न सरकारले पहल गर्नुपर्छ । यो जिम्मेवारी समाजवादी सिद्धान्त बोक्ने प्रत्येक कम्युनिस्टको हो, हुनुपर्छ । राजनीतिलाई कमाउ खाने धन्दा होइन, देश र जनताको सेवा गर्ने माध्यम बनाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *