भर्खरै :

अमेरिकी हस्तक्षेप राक्नु जरुरी

–मेरिना शाक्य
संसारका स–साना स्वतन्त्र र सार्वभौम मुलुकहरू शक्ति राष्ट्रको अधीनमा बस्नुपर्ने बाध्यता बारम्बार दोहोरिरहेको छ । अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने देशमा संरा अमेरिका अग्रणी स्थानमा छ । इराकमा समयअगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीलाई आग्रह गरेको छ । इराकमा निर्वाचनको माग गर्दै इराकी जनताले आन्दोलनलाई निरन्तरता दिएपछि अमेरिकाले निर्वाचनको माग गरेको हो । इराकमा निर्वाचन गर्ने या नगर्ने, आन्दोलनको माग सम्बोधन गर्ने या नगर्ने कुरा इराकको आन्तरिक मामिला हो । इराकमा अमेरिकाले निर्वाचन गर्न आग्रह गर्नुपर्ने होइन ।
इराक अमेरिकाको अधिनस्थ देश होइन । अमेरिकी हस्तक्षेप र आक्रमणको कारण इराकमा पहिले लाखौँको मृत्यु भइसकेको थियो, भौतिक सम्पत्ति क्षति भइसकेको थियो । अमेरिकी दबाब र निर्देशनकै कारण त्यसबेला इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फासी दिइएको थियो । अमेरिकाले इराकमा मात्र हस्तक्षेप गरेको होइन विश्वका अन्य दर्जनौँ मुलुकमा हस्तक्षेप गरिरहेको छ । आर्थिक नाकाबन्दी गरिरहेको छ । अमेरिकी दबाब नेपालमा पनि पसेको छ । नेपाललाई आर्थिक सहयोगको लोभ देखाएर आफ्नो आदेश मान्न अमेरिकाले दबाब दिएको छ ।
बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्चे आनिएसले आफूलाई गरेको देशको अन्तरिम राष्ट्रपति घोषणालाई अमेरिकाले अन्ध समर्थन ग¥यो । कुनै विधि या संवैधानिक प्रक्रिया विना आफूले आफूलाई राष्ट्रपति घोषणा गर्नु के न्यायोचित हो ? आनिएसको उक्त कदमको निवर्तमान राष्ट्रपति मोरालेसले विरोध गरेका छन् । राष्ट्रपति घोषणा इतिहासमै तुच्छ र घृणित ‘कु’ भएको उनको दाबी हो । उनलाई राष्ट्रपति नियुक्ति गर्ने सम्बन्धमा मोरालेस नेतृत्वको समाजवादीले बहिष्कार गरेको छ । उनको नियुक्ति असंवैधानिक भएको सो पार्टीले जनाएको छ । तर, साम्राज्यवादी अमेरिकाले स्वघोषित राष्ट्रपतिको कदमलाई अन्ध समर्थन गरेको छ । यो अमेरिकाको अरू देशमाथिको पछिल्लो हस्तक्षेप हो । यसरी नै यसअघि साम्राज्यवादी देश अमेरिकाले भेनेजुयलामा पनि स्वघोषित राष्ट्रपतिको अन्ध समर्थन गरेर हस्तक्षेप ग¥यो ।
संरा अमेरिकाले चीन अधिनस्थ हङकङमा भइरहेको प्रदर्शनमा पनि प्रत्यक्ष साथ दिइरहेको छ । हङकङवासीले गरिरहेको प्रदर्शनीमा अमेरिकी झन्डा फहराइयो । यसले हङकङको आन्दोलनमा संरा अमेरिकाको हात रहेको प्रस्ट हुन्छ । संसारमा बदनाम भइरहेको देशमा संरा अमेरिका र भारत पर्छ । त्यसरी नै अरू देशमा आक्रमण गर्ने इजरायल पनि अर्को बदनाम भइरहेको देश हो । संरा अमेरिका संसारकै एक नम्बरको डाडागिरी र आतङ्ककवादी देश हो । दसकौँदेखि क्युवामा जारी रहेको नाकाबन्दी संरा अमेरिकाले फिर्ता लिएको छैन । तीन देशबाहेक असंलग्न मुलुकका सबै राष्ट्रप्रमुख र प्रतिनिधिहरूले क्युवामाथिको नाकाबन्दी फिर्ता लिन एकमुखले पारित गरे । तर, अमेरिका लाजनमानी क्युवामा आर्थिक नाकाबन्दी गरिरहेको छ । संरा अमेरिका विश्वमा बदनामसँगै पतन भइरहे पनि आफ्नो हैकम या प्रभुत्व जमाउने अभिमानी छोडेको छैन । आखिर अमेरिका किन अरू स्वाधीन र सार्वभौम देशमा हस्तक्षेप गर्दै आतङ्कित पार्दै छ ? के यो शक्तिको अभिमानी होइन ? जसको तरबार उसको दरबार कहिलेसम्म !

Leave a Reply

Your email address will not be published. Required fields are marked *