भर्खरै :

आवास आयोजना जनताको सुविधाका लागि

भक्तपुर, २९ कार्तिक । भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरूलाई जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले भइरहेको भेला शुक्रबार पनि भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले देशको ७५३ वटै स्थानीय तहका तत्तत् स्थानमा जनताको सुविधाको लागि व्यवस्थित आवास आयोजना विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विकास बजेट काठमाडौँ उपत्यकामा मात्र खर्च गर्नुहुन्न”, उहाँले भन्नुभयो ।
“दिल्लीमा प्रदूषणले विपद् ल्यायो । त्यस्तो स्थिति काठमाडौँमा पनि उत्पन्न हुनसक्छ । देशको सन्तुलित विकास नहुँदा काठमाडौँका बासिन्दा फोहरमैला, प्रदूषण, खानेपानी, अपराधलगायत समस्याबाट पीडित छन्”, सांसद सुवालले भन्नुभयो ।
“अव्यवस्थित बसोबास वृद्धि भएकैले बागमती, विष्णुमती, मनोहरालगायत खोलामा अतिक्रमण बढेको र सार्वजनिक जग्गा, कमलपोखरी व्यक्तिको नाममा दर्ता र बेचबिखन भएको हो”, उहाँले स्पष्ट पार्नुुभयो ।
स्थानीय जग्गावालालाई व्यवस्थित बसोबास गराउन सुरू भएको आवास योजना कम लागतमा समय अगावै सम्पन्न गर्नुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले जग्गाधनी र मोहीलाई बढीभन्दा बढी सहुलियत र सेवा दिन आयोजना लागिपर्ने र त्यसको लागि भनपाले सहयोग गरिरहेको बताउनुभयो ।
“आयोजनाभित्र रहेका कसैलाई पनि आयोजनाले विस्थापित गर्नेछैन”, प्रमुख प्रजापतिले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भनपाले गर्दै आएको विकास निर्माणका कार्यहरूबारे जानकारी गराउँदै उहाँले भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार जनताको सेवा गरिरहेको स्पष्ट पार्नुभयो ।
जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष तुल्सीराम धुख्वाको सभापतित्वमा भएको उक्त भेलामा वडाध्यक्षद्वय हरिप्रसाद बासुकला र राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।
भेलामा आयोजना प्रमुख ओमहरि थाले आयोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *