भर्खरै :

भारतले गरेको लिम्पियाधुरा अतिक्रमणविरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

भक्तपुर, २९ कार्तिक । वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भइरहेको अतिक्रमणविरुद्ध शुक्रबार कलेजका विद्यार्थीहरूबीच सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतसँग जोडिएका सम्पूर्ण देशहरूसित सीमा विवाद रहेको हो भन्नुभयो ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको नाम उल्लेख नहुनु भारतीय विस्तारवादसामु गरेको आत्मसमर्पण भएको स्पष्ट पार्दै उहाँले भारतीय विस्तारवादले गरेको नेपालको भूमि अतिक्रमणविरुद्ध देशभक्त जनताले नै दबाबस्वरूप सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालको भूमि मिच्दा पनि शासक वर्गले केही बोलेन भने सिक्किम, भुटानजस्तै नेपालको अस्तित्व पनि खतरामा पर्ने उहाँले बताउनुभयो ।
वागीश्वरी कलेजका राजनीतिशास्त्रका शिक्षक विकल प्रजापतिले नेपालको भूमि अतिक्रमण गर्ने भारतीय ज्यादतीलाई नेपालले कूटनीतिकरूपमा पहल गर्न नसक्नु र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेकोले नेपाल पछाडि परिरहेको बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी रञ्जन फाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *