भर्खरै :

चिलीमा नयाँ संविधानका लागि जनमतसङ्ग्रह हुने

सान्टियागो, ३० कार्तिक (सिन्ह्वा) । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसङ्ग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीले दिनहँुजसो प्रदर्शन गरिरहेका छन् । उनीहरूको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमतसङ्ग्रह गर्ने घोषणा गरेको हो । यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबरजस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न संविधानसभाको माग प्रदर्शनकारीले गरिरहेका छन् । यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकार जस्तो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए ।
शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरूले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमतसङ्ग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो । सरकारको वार्ता टोली र विपक्षी दलका प्रतिनिधिबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमतसङ्ग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ ।
चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताउनुभएको छ । उहाँले यस सहमतिबमोजिम चिलीमा नयाँ जनमतसङ्ग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्काे संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताउनुभयो । यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषय राख्ने भन्ने बारेमा पनि आगामी जनमत सङ्ग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीले आफ्ना विरोध प्रदर्शनलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *