भर्खरै :

निर्वाचन भ्रष्टाचारविरोधी र भ्रष्टाचारीहरूबीचको राजनीतिक लडाइँ

भक्तपुर, ४ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरले आगामी उपनिर्वाचनको प्रचारको क्रममा बुधबार चुनावी सभा चाँगु नगरपालिकाको झौखेल वडा नं. ३ को कार्यालय प्राङ्गणमा ग¥यो ।
सभामा नेमकिपाका सचिव एवम् सांसद् प्रेम सुवालले आउँदो निर्वाचन भ्रष्टाचारविरोधी र भ्रष्टाचारीबीचको राजनीतिक लडाइँ भएको चर्चा गर्दै झूठ कुरा बोल्ने पार्टीलाई पञ्चायती व्यवस्था फालेझैँ जनताले फाल्ने बताउनुभयो ।
उहाँले प्रदेशसभा सदस्यले नीति–निर्माण गर्ने हो, विकास निर्माणको काम नगरपालिका, गाउँपालिकाले गर्ने स्पष्ट पार्दै नगरकोट सडक दुई वर्षमा बनाउनुपर्ने ६ वर्ष बित्दा पनि नबनाउने शैलुन कन्स्ट्रक्सनलाई मेलम्चीको पानी वितरण ठेक्का दिनु गलत भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेकपाले सिङ्गापुर, मलेसिया बनाउने होइन सिक्किम बनाउँदै छ ।” उहाँले नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकमाथिको भारतीय अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लड्नुपर्ने बताउँदै विभिन्न देशमा अवस्थित नेपाली दूतावासहरूले संसारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अमेरिकाले हालै निकालेको विज्ञप्तिमा मुस्लिम सङ्गठन मुजाहिद्दिनको केन्द्र भएको बताएको बारे नेपाल सरकारले आफ्नो धारणा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भारतसामु आत्मसमर्पण गर्ने नेकपा र नेकालाई मत नदिई देशभक्त नेमकिपालाई दिन आग्रह गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सदस्य सुरेन्द्रराज गोसाईले पुँजीवादी संसदीय भासमा डुबेका पार्टीका उम्मेदवारलाई मत दिन नहुने बताउनुभयो ।
उहाँले आउँदो उपनिर्वाचन भारतीय विस्तारवादको दलाल र पचासौँ वर्षदेखि त्यसविरूद्ध लड्ने पार्टीबीचको लडाइँ भएको बताउनुभयो ।
उहाँले सरकारका जनविरोधी कदमविरूद्ध लड्न नेमकिपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै देश बचाउन नेमकिपा अडिग भई सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सदस्य सृजना सैँजूले नेपालको अर्थतन्त्र धुजाधुजा बनाउने सरकारविरूद्ध नेमकिपाले उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारी, हत्यारा र जुवाडेहरू प्रदेशसभामा आवश्यक छैन । नेमकिपाका देशभक्त र जुझारू युवा नेताहरूलाई जिताउनु आवश्यक छ ।”
सभामा भक्तपुर क्षेत्र नं. १
(क) का नेमकिपाका उम्मेदवार नीरज लवजूले सरकार जनताको नभई भ्रष्ट ठेकेदारहरूको संरक्षक भएको बताउँदै नेकपाबाट जितेका व्यक्तिले आश्वासन पूरा नगरेकोमा जनता आक्रोशित भएको बताउनुभयो ।
उहाँले सरकार बलात्कारीलाई संरक्षण गर्न सक्रिय रहेको बताउँदै सार्वजनिक सम्पत्तिलाई निजी बनाउन मन्त्रीहरू नै अगाडि बढेकोमा विरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सार्वभौमिकता रक्षा गर्न नसक्ने नेकपा देशभक्त पार्टी होइन । भारतसामु लम्पसार हुने नेकपाको प्रवृत्तिको विरोध गर्नुपर्छ ।”
नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजेन्द्र दाहाल र मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो । प्रचारकै क्रममा बिहीबार छालिङमा घरदैलो तथा चुनावी सभा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *