भर्खरै :

संविधान संशोधन गरी देश टुक्राउने जाल बुनिँदैछ : प्रेम सुवाल

भक्तपुर, ११ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार कमलविनायकको लाँचाफल्चामा चुनावी जनसभा सम्पन्न भयो ।
सभामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपालाई विकासविरोधी देख्ने शासक दलले मेलम्चीको पानी ल्याउन नसकेको र २ वर्षमा सिध्याउनुपर्ने नगरकोटको सडक निर्माण कार्य ६ वर्ष बितिसक्दा पनि बनाउन नसक्नेले विकासबारे अरूलाई सिकाउने अधिकार राख्दैन, जगातिको इँटा कारखाना र भक्तपुरको सानो औद्योगिक स्थानीय निकायलाई दिएर स्थानीय जनताले रोजगारी पाउने र स्रोत र साधनको उचित व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
आफूले गणतन्त्र ल्याएको दाबी गर्ने नेकपाका नेताहरूले सामन्त र राजाहरूको जस्तै व्यवहार देखाइरहेको उल्लेख गर्दै उहाँले संविधान संशोधन गरी देश टुक्राउने जाल बुनिरहेको बताउनुभयो । भारतले नेपाली भूभागको ठूलो हिस्सा मिचिसक्दा पनि लिपुलेक र कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न रोक्ने नेकपाका प्रचण्डलगायत नेता कार्यकर्ताहरू भारतको ‘ट्रोजन हर्स’ भएको पुष्टि गर्नुभयो । देशलाई सिङ्गापुर, स्विडेन बनाउने भनी अभिव्यक्ति दिनेले सिक्किम बनाउन लागिरहेको उहाँले बताउनुभयो । चुनावमा आचारसंहिता उल्लङ्घन गर्ने, झूटा आश्वासन दिने पार्टीलाई मत दिनु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका मेयर सुनिल प्रजापतिले प्रदेशसभाको मुख्य काम कानुन बनाउने भएको हुँदा बौद्धिकरूपमा सक्षम र वैचारिकरूपमा प्रखर व्यक्तिलाई चुनावमा जिताउनुपर्ने विचार व्यक्त गर्नुभयो । जनयुद्धको नाममा देशका अनगिन्ती पुल र सार्वजनिक संरचना ध्वस्त पार्नेले विकासको कुरा गर्ने नैतिक अधिकार राख्दैन, दुईतिहाइको सरकारले चाँगुनारायणलाई स्मार्टसिटीको नाममा स्थानीय जनतालाई विस्थापित गर्न खोज्दै छ र ठेकेदारहरूलाई नियन्त्रण गर्न नसक्ने सरकार कम्युनिस्ट सरकार हुनैसक्तैन, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रजातन्त्रको सौन्दर्य तबमात्र कायम हुन्छ जब प्रतिपक्ष र प्रखर प्रतिपक्ष बलियो हुन्छ, समाजवादी गणतन्त्रले मात्र देशलाई अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो । उहाँले सङ्घीयता भनेको विकेन्द्रीकरण र सन्तुलित विकासको लागि हो, नेमकिपाका देशभक्त उम्मेदवारलाई मत दिई शासक दललाई सजाय दिने अवसरको रूपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सृजना सैंजूले कम्युनिस्टको नाममा राज्यको ढुकुटीमा ब्रह्मलुट गर्ने, विकासको नाममा जनतालाई सपना बाँड्ने सरकारले सङ्घीयताको खिल्ली उडाइरहेको महसुस सर्वत्र गरिंदै छ भन्दै बर्सेनि १० हजारको सङ्ख्यामा नेपाली चेलीबेटी भारतमा बेच्ने, अरबौँको भ्रष्टाचार गर्ने, अपराधीलाई संरक्षण गर्ने नेकपाको सरकारलाई जनताले चुनावमा दण्डित गर्नपर्ने आवश्यकता औँल्याउनुभयो । कलकारखानाहरू भारतलाई सुम्पनु र निजीकरण गर्नु समृद्धिको बाटो नभएको चर्चा गर्दैे उहाँले देश र प्रदेशलाइ मन्त्री होइन जनसेवक चाहिएको छ भन्नुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले सिंहदरबारभित्र कैद गरिएको अधिकार जनतालाई सुम्पनका लागि सङ्घीयता ल्याइएको तर शासक दलका नेताहरूमा पञ्चायती केन्द्रीयता र पुरातनवादी मानसिकता कायम रहेको हुँदा जनताले ती अधिकारबाट बञ्चित हुनुपरेको यथार्थ प्रस्तुत गर्दै प्रदेशसभालाई सिद्धान्त र विचारको कसीमा बाँध्न नेमकिपाको उपस्थिति अनिवार्य रहेको बताउनुभयो । उहाँले रेल, पानीजहाजको कुरा स्टोर रुममा थन्किएको र सरकार काण्डैकाण्डमा फसेको चर्चा गर्दै भोज र पैसामा बिकेर देशघाती पार्टीहरूलाई जिताउनु भनेको भष्मासुरलाई वरदान साबित हुने बताउनुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *