भर्खरै :

जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सकको कमी

– हेमन्त केसी
जाजरकोट, १६ मंसिर । भौतिक पूर्वाधारको अभावमा पर्याप्त सेवा दिन नसकेको जाजरकोट जिल्ला अस्पताल निर्माणको बोलपत्र रद्द भएपछि काम रोकिएको छ । गत असार २ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएकोमा खरीद ऐन संशोधनका कारण रद्द गरिएको छ ।
अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भई करिब रु. ३३ करोडको लागतमा भवन निर्माणका लागि सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । पुराना भवन विसं २०३३ मा निर्माण गरिएका कारण सेवा प्रवाहमा समस्या देखिएको छ  । खरीद ऐन संशोधनले ठेक्का सम्झौतामा नयाँ प्रावधानको व्यवस्था गरेको छ ।
नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि चालू आर्थिक वर्षमा रु. ४९ लाख रकम पाएपछि सो रकमको नयाँ अस्पतालको भवन निर्माण गरिएको छ । वैकल्पिकरूपमा निर्माण गरिएका ती भवनमा पूरै सेवा दिन नसकिने अस्पतालले जनाएको छ । भवन अभावका कारण ५० शय्याको उक्त अस्पतालले मुस्किलले २५ शय्याको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।
जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्यचौकी निर्माण नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । नलगाड नगरपालिकामा निर्माण हुने भनिएका छ ठाउँका स्वास्थ्य संस्थामा बजेट नहुँदा काम रोकिएको छ ।
जनशक्ति पनि अभाव
पचास शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण, पूर्वाधारलगायतको अभाव हुँदा समस्या भएको छ । अस्पतालबाट स्थानीयवासीले सामान्य उपचारसमेत पाउन सकेका छैनन् । १२ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ ।
अस्पतालमा ६ विशेषज्ञ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि ३४ पद रिक्त छ । अस्पताल करार तथा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा. रविन भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको इमर्जेन्सी, फार्मेसी, जनरल वार्ड र प्रसूति सेवामा एक दिनमा चार नर्सिङ स्टाफ चाहिन्छ तर अहिले दुई जनाको भरमा चलिरहेको छ ।” अस्पतालमा करारका तीन मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक र एक स्टाफ नर्स कार्यरत रहेको उहाँले बताउनुभयो । अस्पतालमा आठ स्टाफ नर्स र तीन स्वास्थ्य सहायकको दरबन्दी छ तर अधिकांश दरबन्दी रिक्त भएको लामो समय भए पनि पूर्ति भएको छैन ।
अस्पतालमा आइपीडी, ओपीडी, ब्लड बैङ्क, सुत्केरीसेवालगायत अति आवश्यक उपचारका लागि भवनको अभाव रहेको डा. भुसालले बताउनुभयो । गुणस्तरीय एक्स–रे मेसिन र एम्बुलेन्ससमेत नभएको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको दल्लीस्थित स्वास्थ्य संस्था चिकित्सकविहीन भएको छ । लामो समयदेखि चिकित्सक नहुँदा यहाँका स्थानीयवासी बाहिर गएर उपचार गर्न बाध्य भएका छन् । त्यस्तै गर्खाकोटस्थित स्वास्थ्य संस्थामा एक वर्षदेखि चिकित्सक नहुँदा सेवा अवरुद्ध हुँदै आएको छ ।
भवन भए पनि अस्पताल सञ्चालनमा आएन
कुमारी ट्रष्टको लगानीमा जिल्लाको छेडागाड नगरपालिका–५, बडावनमा रु. ६ करोडमा अस्पताल निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । सो अस्पताल चलेमा दुर्गमका बासिन्दाको स्वास्थ्य सेवा प्रभावकारी हुने ठानिएको थियो ।
गत वैशाखअघि नै अस्पताल सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । कुमारी ट्रष्टले अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । पूर्वसांसद एवं नेपाली काङ्ग्रेसका नेता राजीवविक्रम शाहले पश्चिम जाजरकोटमा झाडापखालाको प्रकोपका बेला सुविधायुक्त अस्पताल खोल्ने वाचा गर्नुभएकोमा हाल भवन बने पनि सेवा सञ्चालन नभएको स्थानीयवासीले जनाएका छन् । उक्त अस्पताल शाहकै परिवारको स्वामित्वमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *