भर्खरै :

माक्र्सवादको रूपरेखा – १

गोरख पाण्डेय
माक्र्स र एँगेल्सका विचार शिक्षाहरूको पद्धतिलाई माक्र्सवाद भनिन्छ । आफ्नो अभूतपूर्व संश्लेषणात्मक प्रतिभाको माध्यमबाट उनीहरूले शास्त्रीय जर्मन दर्शन, शास्त्रीय ब्रिटिश राजनीतिक अर्थशास्त्र तथा फ्रेन्च समाजवादलाई एउटा पूर्ण विश्व दृष्टिकोणको रूपमा सङ्गठित र विकसित गरे । (माक्र्सवादी दर्शन, ९)
जगतको निर्माण कुन कुन कारणले भयो ? के कुनै चेतनशक्तिले आफ्नो इच्छा वा आवश्यकताअनुसार ग्रह, नक्षत्रहरू, बोट बिरुवाहरू, पशुहरू र मानिसहरूको सृष्टि गरे अथवा अचेतनरूपले भौतिक शक्तिहरू स्वयं सङ्घर्ष, परिवर्तन तथा विकासका भिन्न भिन्न अवस्थाहरूबाट पार भएर निर्जीवबाट सजीव र अन्तमा चेतनरूपसम्म बढ्दै आएका हुन् ? पदार्थ र चेतनाको अन्तर सम्बन्धको यो प्रश्न दर्शनको सबभन्दा पुरानो प्रश्न हो । यो आज पनि नयाँ नयाँ किसिमले उठिरहेको छ ।
माक्र्सभन्दा पहिले युरोप जीवनका हरेक क्षेत्रमा क्रान्तिबाट गुज्रिसकेको थियो । (त्यही, ३) धर्म, दर्शन, विकास, राजनीतिक र साहित्य नयाँ अनुसन्धानहरू तथा विचारहरूको विप्लवको अनुभव गरिररहेका थिए । स्वतन्त्रता, समानता, भ्रातृत्वको भाषा जादूमय (तिलस्मी) उमङ्ग र आशाका किरणहरूले भरिएको थियो । सामन्ती आधिपत्यको महल भत्किइसकेको थियो । पुँजीवादी व्यवस्था द्रुतगतिमा विकसित भइरहेको थियो ।
माक्र्सको समयसम्म मजदुर वर्ग सङ्गठित शक्ति बनिसकेको थियो । उसका आन्दोलन र विचार छिटपुटरूपमा उठिरहेका थिए साथै दमनका शिकार पनि बनिरहेका थिए । फ्रेन्च क्रान्तिको स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा काल्पनिक लाग्न थालिरहेको थियो । मजदुर वर्गको क्रान्तिकारी भावनाको भूमिकाको अनुभव माक्र्सले गरे । ती दिनहरूमा जर्मनीको दर्शन, हेगेलको प्रतिभाबाट आक्रान्त थियो । हेगेलले विकासको द्वन्द्वात्मक गतिको परिकल्पना गरेका थिए । उनका शिष्य फायरबाखले उनको भाववादी विचारधारालाई छोडेर भौतिकवाद अपनाएका थिए तर द्वन्द्ववादलाई सङ्गतरूपले लागू गर्नसकेनन् ।
फायरबाखका अनुयायी माक्र्सले हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई संश्लेषण गरे । उनको विचारमा गतिशील पदार्थ नै परम सत्ता हो । मान्छेको चेतनाबाट बाहिर विद्यमान तथा उसमा प्रतिबिम्बित हुने सम्पूर्ण वस्तुगत यथार्थ नै पदार्थ हो ।
आफ्ना चारैतिरको संसारको वस्तुगतता स्वीकार्नु र मानव मस्तिष्कमा यो संसारको संज्ञान प्राप्त गर्ने क्षमता छ भन्ने कुरो स्वीकार्नु, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको मूल सिद्धान्त हो । (माक्र्सवाद के हो ? ७०)
आज प्राकृतिक विज्ञानले मान्छे र अरू सामान्य जीवनको अस्तित्व करोडौँ वर्ष पुरानो हो (माक्र्सवादी दर्शन, ७४, ७५, ७६, ७९) भन्ने कुरा सिद्ध गरिदिएको छ । यसबाट यो कुरा स्पष्ट हुन्छ कि पदार्थ आफ्नो वस्तुगतरूपमा मान्छेको चेतनाबाट स्वतन्त्र छ र स्वयम् चेतनाको विकास भौतिक जगत्को लामो विकासको उपज हो ।
जगत कुनै ईश्वरको रचना होइन । (त्यहीँ, ६३) पदार्थ आद्यय र चिरन्तन हो, यसको न सृजना हुन्छ न विनाश । यो अनेकरूपमा हाम्रा चारैतिर विद्यमान छ । प्रत्येक वस्तु, प्रत्येक प्रक्रिया त्यसैको अभिव्यक्ति हो । एउटा वस्तुको विनाशले अर्को वस्तुलाई जन्म दिन्छ, दोस्रोले तेस्रोलाई र यसरी अनन्त प्रक्रिया चलिरहन्छ ।
पदार्थको सूक्ष्मतम रहस्यलाई अनावृत्त गर्नमा विज्ञान निरन्तर सफल भइरहेको छ । पहिले परमाणुलाई द्रव्यको मौलिक एकाइ मानिन्थ्यो, त्यसलाई खण्डीकरण गर्नसकिन्नथ्यो तर अब प्रोटोन, न्यूट्रोन, म्यासोन, हाइपेरोन आदि मौलिक कण
(त्यही, ५९) मानिन्छन् । किनभने यिनीहरूको जटिल संरचनालाई छुट्याउन सकिएको छैन । गति पदार्थको अस्तित्वको एउटा रूप हो, त्यसको अभिन्न (मेटोरियलिज्म एन्ड इम्पिरियो क्रिटिसिज्म्, २५५) गुण छ । यो गतिमा रहन्छ र गतिको माध्यमबाट स्वयंलाई प्रकट गर्दछ । पदार्थ र गति अविभाज्य छन् । ऊर्जाको संरचरण र रूपान्तरणको नियमको रूपमा विज्ञानले के सिद्ध गरिदिएको छ भने गति र पदार्थ अविभाज्यरूपबाट सँगसँगै हुन्छन् । यिनीहरूलाई नष्ट गर्न सकिंदैन, न निर्मित नै गर्न सकिन्छ । विराम केबल विशिष्ट वस्तुहरू र प्रक्रियाहरूमा लागू हुन्छ । त्यो सापेक्ष छ, गति जस्तो परम (ब्दकयगितभ) छैन ।
एँगेल्सले पदार्थको गतिका रूपहरूको पहिलो वैज्ञानिक वर्गीकरण प्रस्तुत गरेका थिए । यान्त्रिक, भौतिक, रासायनिक, जैविक र सामाजिक गतिका यी पाँच आधारभूत रूप (माक्र्सवादी दर्शन, ६५) उनैले मानेका हुन् । गति गुणात्मक परिवर्तन, उच्चतर विकासको स्रोत हो ।
देश र काल मानव मस्तिष्कको संरचना होइन । (त्यही, ६९, ७०) भौतिक कार्यहरू देशमा हुनु, निश्चित स्थान घेर्नु र संसार (जगत्) का अन्य वस्तुहरूको प्रसङ्गमा विशेष प्रकारले स्थित हुने दार्शनिक परिकल्पनालाई देश भनिन्छ ।
त्यसैगरी भौतिक प्रक्रियाहरूको एक निश्चित क्रममा एक अर्काको अनुगमन गर्नु, कालावधि हुनु र फड्कोको रूपमा विकास गर्नुलाई काल भनिन्छ ।
भाववादी विचारक देश र काललाई या त व्यक्तिको मनको उपज मान्दछन् या परम चेनताद्वारा निर्मित । लेनिनले लेखेका छन्, यदि उनीहरूको कुरो मान्ने हो भने, विज्ञानद्वारा सिद्ध यो अकाट्य तथ्यको के होला ? जसले भन्छ पृथ्वी मान्छे प्रकट हुनुभन्दा धेरै पहिलेदेखि देश र कालको रूपमा विद्यमान थियो । संसारमा गतिमान पदार्थका अतिरिक्त केही पनि छैन र गतिमान पदार्थ देश र कालबाहेक अन्य कुनै किसिमबाट गति हुनैसक्तैन ।
चेतना प्रकृतिको उपज हो, पदार्थ गुण हो, तर सबै पदार्थको नभएर अत्यन्त जटिल र प्रभावशाली तरिकाले सङ्गठित पदार्थ अर्थात् मस्तिष्कको गुण (त्यही, ८०, ८१) हो । अरबौँ वर्षको सङ्घर्ष, रूपान्तरणका प्रक्रियामा अमिवाबाट लिएर जीवहरूको जटिल संरचनाको लामो क्रम चल्यो, मानव त्यही क्रमको श्रेष्ठतम सोपान हो । चेतना मान्छेको मस्तिष्कको एउटा विशेष किसिमले सङ्गठित हुँदा पैदा हुन्छ ।
‘इवान पावलोव’ (माक्र्सवादी दर्शन, ७४, ७५) ले गरे कि सम्पूर्ण मानसिक क्रियाकलाप निश्चित भौतिक प्रक्रियाहरूमा जसलाई हामी दैहिक प्रक्रियाहरू भन्दछौँ र जुन मस्तिष्कमा विशेष गरेर उसको बाहिरी त्वचामा चलिरहन्छ, आधारित छन् । चेतना मान्छेको भौतिक परिवेशसित अभिन्नरूपले जोडिएको छ । ऊ बिना त्यसले काम गर्न सक्तैन । जगतका वस्तुहरू इन्द्रियहरूद्वारा प्रतिविम्बित हुन्छन्, यी प्रतिबिम्बहरूका आधारमा नयाँ बिम्ब सिर्जित हुन्छन् । यही प्रक्रियाद्वारा नै चेतना समुन्नत हुन्छ ।
उच्चतर पशु र मान्छेहरू दुवैमा संवेदना हुन्छ तर मान्छेको संवेदना पशु संवेदनाभन्दा गुणात्मकरूपमा भिन्न हुन्छ ।
माक्र्सका मतमा यो विशिष्ट मानवीय चेतना भौतिक मूल्यहरू उत्पादन गर्नका लागि सामाजिकरूपले सङ्गठित हुने क्रियाद्वारा उत्पन्न र विकसित भएको छ ।
एँगेल्स (१८२०–१८७५) ले लेखेका छन्– “श्रमले स्वयं मनुष्यको सिर्जना ग¥यो ।”
आदिम मानवको चेतनाको श्रमसित आङ्गिक सम्बन्ध (त्यही, ८२) थियो । भाषाको पनि श्रमका आधारमा विकास भयो, उसले चेतनालाई समृद्ध गर्नमा ठूलो योगदान ग¥यो । माक्र्सले भाषालाई विचारको प्रत्यक्ष यथार्थ (त्यही, भौतिक यथार्थ चिन्तनका रूपहरूमा र चिन्तन भौतिक यथार्थको स्पष्ट रूप–भाषामा परिवर्तित हुन्छ ।) भनेका थिए । यथार्थको सोझो प्रतिबिम्ब विचार हुन्छ र भाषा विचारको प्रतिबिम्ब हुन्छ । यसरी भाषा अप्रत्यक्ष तरिकाले यथार्थको प्रतिबिम्ब हो । मान्छेको चेतना (त्यही, लेनिन–मान्छे चेतनाले वस्तुगत जगतलाई प्रतिबिम्बित मात्र गर्दैन, त्यसको सिर्जना पनि गर्दछ, ८७) का बारेमा विशेष ध्यान दिनुपर्ने कुरो के हो भने यसले केबल वस्तुगत जगतलाई प्रतिबिम्बितमात्र गर्दैन त्यसको सिर्जना पनि गर्दछ । यथार्थलाई नयाँ बिन्दुबाट निर्माण गर्नमा व्यवहारको मार्गदर्शन पनि गर्दछ ।
हेराक्लिटस (हिस्ट्री अफ फिलोसोफी, ५०) (ई.पू. ४८३ –) ले यथार्थलाई सतत प्रवहमान मानेका थिए । माक्र्सले गतिशील यथार्थलाई प्रगति, विकासतिर बढ्दै गरेको पत्तो लगाए । तर, पदार्थको गतिविपरीत तत्वहरूको एकता र सङ्घर्षबाट बन्द छ । प्रत्येक प्रक्रिया, हरेक स्थिति (माक्र्सवादी दर्शन, ९६) मा विपरीत तत्व सँगसँगै आङ्गिक रूपले रहिरहन्छन् । उनीहरूका बीच एक अर्काको निषेध या नाश गर्ने शक्तिहरू कार्यरत हुन्छन् । यसरी तेस्रो वस्तुको जन्म हुन्छ । यो चीज फेरि कुनै तत्वको शिकार हुन्छ । सङ्घर्ष चल्दछ र जगत र समाजको विकास हुन्छ । पुरानोबाट नयाँ, गलतबाट सही, सरलबाट जटिल स्थितिहरूको निर्माण यही प्रक्रियाबाट हुन्छ ।
परिवर्तन दुई किसिमले हुन्छ– गुणात्मक र परिमाणात्मक । प्रत्येक वस्तुको निजी लक्षण गुण हो तथा उसको अंश र प्रगाढतामा व्यक्त सङ्ख्यालाई परिमाण भनिन्छ ।
एउटै वस्तु खास परिस्थिति र आन्तरिक दबाबमा अर्को वस्तु बन्दछ ।
(त्यही, ८९) यस्तो परिवर्तन एउटा गुणको, अर्को गुणमा सन्तरण (छलाङ) हो । पानीलाई १००० सेन्टिग्रेडभन्दा बढी तताइयो भने त्यो बाफमा परिवर्तन हुन्छ । माक्र्सका अनुसार केवल परिमाणात्मक भेद पनि खास एउटा बिन्दुबाट अगाडि भने गुणात्मक परिवर्तन हुन्छ ।
द्वन्द्व निषेधको निषेध हो । (एन्टी ड्युहरिङ, ११७, ११८ः यो एउटा सामान्य नियम–प्रकृति, इतिहास र चिन्तनका विकासको नियम हो ।) पुरानोको निषेध फेरि त्यसको निषेध यो सिलसिला निरन्तर चलिरहन्छ । नयाँको सिर्जना यसैको परिणाम हो । विकासको कारण यही हो । समाजको इतिहासलाई हेर्ने हो भने के कुरो पत्तो लाग्छ भने आदिम साम्यवादको दास समाजले, दास समाजको सामन्तवादले, सामन्तवादको पुँजीवादको निषेध गरेको छ, समाजवादले पुँजीवादले निषेध गरेको छ, समाजवादले पुँजीवादको निषेध गरिरहेको छ । ज्ञानको विकासमा पनि निषेध निहित छ । प्रत्येक नयाँ, उन्नत वैज्ञानिक सिद्धान्तले पुरानो र कम विकसित सिद्धान्तको निषेध गर्दछ । यो कुनै प्रक्रिया या वस्तुमा बाहिरबाट प्रविष्ट नभएर आफ्नै आन्तरिक विकासको परिणाम हुन्छ । आन्तरिक अन्तर्विरोधले (माक्र्सवादी दर्शन, १०१) वस्तु या व्यापारको पुरानो स्थितिलाई नष्ट गर्दछ, नयाँलाई जन्म दिन्छ ।
जगतका बारेमा यी आम धारणाहरूलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । यिनीहरूको आधारमा समाजको विकासको प्रक्रियालाई बुझ्ने हो भने आश्चर्य ढङ्गले निष्कर्षहरू निस्कन्छन्, अगाडि आउँछन् । मानव समाजको इतिहासको वर्गसङ्घर्षको आधारमा व्याख्या यिनै कारणहरूको सङ्गत परिणाम हो ।
इतिहासको भौतिकवादी व्याख्या अथवा ऐतिहासिक भौतिकवाद समाज र त्यसको विकासका नियमहरूको अध्ययन हो । समाजको इतिहासलाई (त्यही, १८०) प्रायः यस किसिमले प्रस्तुत गरिन्छ । मानौँ, त्यो राजाहरू, सेनापतिहरू, महान् वीरहरू र तिनीहरूद्वारा गरिएका युद्धहरूको पुञ्जमात्र हो । मानौँ, इतिहास बदल्न र अगाडि बढाउनमा केही विशिष्ट व्यक्तिहरूको मनोमानी इच्छा आकाङ्क्षाहरूले काम गरेका हुन्, महत्वाकाङ्क्षा र साहसी योद्धा, चिन्तक देश र जनता, जाति या धर्मको रक्षाका लागि युगान्तकारी कारबाहीहरू गरिरहेका होऊन् । सङक्षेपमा यो मतअनुसार ‘भावनाहरूले नै यो विश्वमा शासन गर्दछन् ।’
हेगेलले भनेका थिए, “समाज ऐतिहासिक अनिवार्यताको नियमबाट सञ्चालित छ, यो आकस्मिक घटनाहरूको थुप्रो होइन तर उनी पनि अन्तमा यो निष्कर्षमा पुगेका थिए कि कुनै ‘परम भावना’ को योजनाको पूर्ति नै समाजको इतिहास हो ।”
माक्र्सले यी विचारहरूको दृढतापूर्वक खण्डन गर्दै भने, “सामाजिक अस्तित्वले सामाजिक चेतना निर्धारित गर्दछ । जीवन निर्वाहका लागि तात्कालिक भौतिक साधनहरूको उत्पादन र फलस्वरूप त्यस जनगणको अथवा त्यस युगभित्र उपलब्ध आर्थिक विकासको (त्यही, १८१) स्तर त्यो आधार हुन्छ जसमा त्यो जनगणको राज्यीय संस्थाहरू, कानुनी धारणाहरू, कला र यहाँसम्म कि तिनका धर्मसम्बन्धी विचार विकसित हुन्छन् । त्यसको प्रकाश मानै यिनीहरूको व्याख्या गर्नुपर्छ । न कि यसको उल्टो तरिकाले होइन जस्तो कि अहिलेसम्म हुँदै आएको छ ।
सामाजिक जीवनलाई सम्भव बनाउने तत्व भौतिक उत्पादन हो । भौतिक उत्पादनमा सक्रिय मजदुर जनता नै इतिहासका प्रेरक शक्ति (माक्र्सवादी दर्शन, १८२) हुन् । असङ्ख्य साधारण मानिसहरूको मेहनत मानव जातिको जीवन र प्रगतिको अनिवार्य आधार हो ।
इतिहासको यो धारणा पूर्ववर्ती धारणाहरूभन्दा एकदम भिन्न छ । त्यो धारणामा सेनापतिहरूको उल्लेख हुन्थ्यो तर वास्तवमा लडाइँमा आमने सामने भएर भाग लिने सैनिकहरूको महत्व न को बराबर हुन्थ्यो । ती किसानहरूको उल्लेख हुँदैनथ्यो जसका श्रमले उत्पन्न अन्नद्वारा सेनापतिको पेट भरिन्थ्यो । त्यस्तो भएपछि युद्धको बारेमा कहाँ सोच्न सम्भव हुन्थ्यो । उदाहरणका लागि (माक्र्सवाद के हो ? ४, ८) ‘एमिल बन्र्सनले’ लेखेका छन्– ‘यो जानिरहन आवश्यक छैन कि क्रमबेलले कुन कुन लडाइँ लडे, कति चाल चाले, उनको धार्मिक दृष्टिकोण के थियो ? यसको माध्यमबाट त्यो अनिवार्य सङ्घर्षका स्रोतहरूलाई चिन्न सकिंदैन जो अङ्ग्रेजी बादशाहका विरुद्ध लागेका थिए । इतिहासको वैज्ञानिक व्याख्या धार्मिक, राजनीतिक घटनाहरूको मूलमा गएर गर्नुपर्दछ, उनका मूल स्रोतहरूलाई समात्नुपर्दछ, यदि त्यसो गरिएन भने हाम्रो ज्ञान बोक्रेमात्र हुनेछ ।
भनिन्छ, रोमन क्याथोलिक धर्मलाई मान्ने निरङ्कुश राजा चाल्र्स प्रथमका विरुद्ध स्वतन्त्रताका सिपाहीँ सुसंस्कृत क्रामबेलले सङ्घर्ष चलाएका थिए तर स्थापित धर्म मान्ने सम्राट कुन कुन कारणले भयो ? मूल्यहरूको प्रेरक शक्ति के थियो ? क्रामबेल कसको स्वतन्त्रताका प्रहरी थिए ?
माक्र्सवादी मतमा त्यो समयको उदीयमान पुँजीपति वर्गले सामन्ती वर्गबाट सत्ता खोस्न चाहन्थ्यो । सत्ता खोस्ने यो वर्गीय सङ्घर्ष नयाँ धर्म न नयाँ नैतिकताको आडमा चलाइएको थियो । यो सर्वथा सम्भव छ कि सञ्चालक शक्तिहरूको रूप एक प्रकारको र चेतनामा पर्ने तिनका प्रतिबिम्ब बिल्कुल उल्टो होस् । माक्र्सले यस्ता गुणहरूको बुझाइका बारेमा लेखेका छन्, “जसरी हामी कुनै व्यक्तिको मूल्याङ्कन यो आधारमा गर्न सक्तैनौँ कि उसको आफ्नो बारेमा के राय छ, त्यसैगरी क्रान्तिकारी युगलाई पनि त्यसको चेतनाको आधारमा मापन गर्न सकिन्न ।” (त्यही, १०)
वर्गसङ्घर्षको विचार इतिहासलाई बुझ्नमा, माक्र्सवादकाअनुसार, चाबीको
(साँचो) काम गर्दछ ।
आदिम समाजलाई छाडेर लिपिबद्धरूपमा प्राप्त, मानव समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो । स्वतन्त्र मान्छे र दास, पेट्रिसियन र प्लेबियन, सामन्त र भू–दास, शिल्प सङ्घका गुरु मेठ (उस्ताद) कारीगर र मजदुर कारीगर सारांशमा उत्पीडक–उत्पीडक पटक–पटक एक अर्काको विरोध गर्दै आएका छन् । उनीहरू कहिले गुप्त र कहिले प्रकटरूपमा लगातार एक अर्कासित सङ्घर्ष गर्दै आएका हुन् । जुन सङ्घर्षको अन्य पूरै समाजको क्रान्तिकारी पुनर्गठनमा वा सङ्घर्षरत दुवै वर्गहरूको विनाशमा भयो ।
अनुवादः बुद्धिसागर भट्टराई
(धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *