भर्खरै :

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

बेझाड, १८ मंसिर । पाल्पाका विभिन्न स्थानीय तहमा कृषि तथा पशु शाखामा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको छ । स्थानीय तहमा दरबन्दी भए पनि कर्मचारी नहुँदा कृषि तथा पशु शाखाबाट हुने कामहरू प्रभावित बन्न पुगेको छ ।
रैनादेवी छहरा गाउँपालिकामा पशु सेवा शाखामा कर्मचारी शून्य छ । कृषि शाखामा एक स्थायी र दुईजना करारमा कर्मचारी व्यवस्थापन गरिएको छ । पशु शाखामा कर्मचारी नहँुदा पशु विकासका विभिन्न कार्यक्रम गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ ।
“गाउँपालिकाको क्षेत्र ठूलो छ, त्यसैमा पशु शाखामा कर्मचारी खाली छन्, कृषि शाखामा पनि पर्याप्त कर्मचारी नहुँदा पशु र कृषि क्षेत्रका काम गर्न कठिनाइ परेको छ, कृषकलाई कर्मचारी अभावले राम्रो सेवा दिन सकिएको छैन”, अध्यक्ष कार्कीले भन्नुभयो ।
रिब्दिकोट गाउँपालिकामा पनि कृषि शाखा कार्यालय कर्मचारीविहीन भएपछि कृषि शाखाको काम प्रभावित भएको छ । काम चलाउनका लागि पशु शाखामा कार्यरत दुईजना कर्मचारीलाई जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
कृषि शाखाका काम गर्न समस्या परेपछि गाउँपालिकाले कर्मचारी व्यवस्थापनका लागि करारमा विज्ञापन आह्वान गरेको अध्यक्ष जिसीको भनाइ छ । आफ्नो शाखाबाहेक अन्य शाखा पनि हेर्नुपर्दा काम गर्न समस्या परेको पशु शाखाका सहायक प्राविधिक पारस पाण्डेयको गुनासो छ ।
“फरक क्षेत्र, कामै फरक हुँदा र विषयवस्तुको पनि ज्ञान नहुँदा काम गर्न दुःख भइरहेको छ, आफ्नै शाखाको काम गर्न भ्याइनभ्याई छ, त्यसैमाथि कृषि शाखाको पनि जिम्मेवारी थपिएको छ”, पाण्डेयले भन्नुभयो ।
माथागढी गाउँपालिकामा कृषि र पशु शाखामा स्थायी दरबन्दी खाली भएपछि करारमा नौजना कर्मचारी नियुक्ति गरी काम गरिएको अध्यक्ष सन्तोष थापामगर बताउनुहुन्छ । “करारमा कर्मचारीले कृषि र पशु शाखा चलाए पनि कार्य सम्पादनमा समस्या परिरहेको छ, कर्मचारीको समस्याले सोचे अनुसारको कृषि र पशु क्षेत्रमा काम गर्न सकिएको छैन”, अध्यक्ष थापाले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकामा एकजना पनि स्थायी कर्मचारी छैनन् । कर्मचारीविहीन भएपछि गाउँपालिकाले करारमा एकजना सल्लाहकारसहित कृषि शाखामा प्राविधिक छजना र पशु शाखामा पाँच प्राविधिक नियुक्ति गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।
तिनाउ गाउँपालिकामा कृषि शाखामा दुई स्थायी र एक जना करारमा कर्मचारी कार्यरत छन् । पशु शाखामा कर्मचारीविहीन भएपछि एकजना करारमा नियुक्ति गरी शाखाको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिकामा पनि कृषि शाखामा स्थायी कर्मचारी शून्य छ । गाउँपालिकाले पाँचजना करारमा कर्मचारी नियुक्ति गरी सेवा दिइरहेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । पशु शाखामा दुई जना चौथो र पाँचौँ तहका र चारजना करारमा कार्यरत कर्मचारी छन् ।
रम्भा गाउँपालिकामा पनि कृषि शाखामा स्थायी दरबन्दी खाली छ । पशु शाखामा भने पाँचाँै तहका एकजना स्थायी कर्मचारीबाट सेवा दिइएको छ । कृषि शाखा र पशु शाखाको काम प्रभावित नहोस् भनेर पाँच÷पाँचजना एक गाउँ एक प्राविधिक कर्मचारी परिचालन गरिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
निस्दी गाउँपालिकामा कृषि शाखामा स्थायी दरबन्दीका कर्मचारी शून्य छन् । शाखाको काम नियमित सञ्चालन गर्न चारजना नायब प्राविधिक सहायक कर्मचारी नियुक्ति गरिएको छ । पशु शाखामा भने पाँचौँ तहका एकजना मात्र कर्मचारीबाट सेवा दिइएको छ ।
रामपुर नगरपालिकामा एक अधिकृत, एक नायब प्राविधिक सहायक स्थायी दरबन्दीमा र दुईजना नायब प्राविधिक सहायक करारमा कर्मचारी कार्यरत छन् । पशु शाखामा एक अधिकृत, एक चौथो र एक पाँचौँ तहका कर्मचारी छन् ।
तानसेन नगरपालिकामा एकजना नायब प्राविधिक सहायक स्थायी दरबन्दीमा र तीनजना नायब प्राविधिक सहायक करारमा कर्मचारी कार्यरत छन् । पशु शाखामा एकजना अधिकृत दरबन्दीमा कर्मचारी छन् ।
मुलुकको आर्थिक समृद्धि कृषि र पशुपालनलाई लिने गरिन्छ । तर, कृषि र पशु शाखा कार्यालयमा स्थायी दरबन्दीका कर्मचारी न्यून अवस्थामा छन् । स्थानीय तहमा तोकिएअनुसारका स्थायी कर्मचारी नहुँदा काम गर्न समस्या परेको गुनासो सम्बन्धित क्षेत्रका कृषकबाट आइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।
करारमा नयाँ नियुक्त भएका कर्मचारी भए पनि पर्याप्त नहँुदा पशुका कार्यक्रमहरू सञ्चालन गर्न समस्या परिरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रबहादुर राना बताउनुहुन्छ ।
स्थानीय तहमा पशु शाखामा एक अधिकृत, दुई नायब प्राविधिक सहायक र एकजना खरिदार कर्मचारी रहने व्यवस्था छ । तर, पाल्पाका सबैजसो स्थानीय तहमा कर्मचारी पदपूर्ति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *