भर्खरै :

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको बिदाइ

भक्तपुर, मंसिर २० । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे बिदाइ कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको विकास निर्माण, सम्पदा पुनःनिर्माण र सरसफाइलगायतका काम सहजरूपमा सम्पन्न गर्नका लागि प्रजिअ भट्टले गर्नुभएको सहजीकरणको लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले १९ महिना भक्तपुर जिल्लालाई कर्मथलो बनाई प्रजिअ भट्टले जिम्मेवारीपूर्वक काम गर्दै नपाको सकारात्मक विकास निर्माणको प्रयासमा सहयोग गर्नुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले संस्कृति, विविधतायुक्त संस्कृति, पेशा, धर्म र छुट्टै पहिचान बोकेको मौलिक सहरभक्तपुरमा सरुवा भएर आउँदा निकै चुनौती अनुभूति गरेको बताउँदै काम गर्ने सिलसिलामा भक्तपुरबाट ठूलो सिकाइ र भोगाइ प्राप्त भएको बताउनुभयो ।
नगरपालिकाको नीति तथा योजनाहरू समाजवादी राज्य व्यवस्थाको झल्को दिने खालको भएको बताउँदै प्रजिअ भट्टले भक्तपुर नगरपालिका पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, विकास निर्माण, मौलिकता कायम गर्नेदेखि सबै क्षेत्रमा व्यवस्थित ढङ्गले अगाडि बढेको छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले प्रजिअ भट्ट सकारात्मक सोच, सहज, सरल तरिकाले सहयोग र काम गर्ने कुशल प्रशासक भई फरक पहिचान बनाउन सफल व्यक्तित्व भएको जानकारी दिँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
वडाध्यक्ष उकेश कवांले प्रजिअ भट्टको कार्यकालमा भक्तपुरका पुराना सम्पदालगायत निजी आवास पुनःनिर्माणमा भएको समन्वयात्मक सहयोग भएकोमा आभार व्यक्त गर्दै जनप्रतिनिधि र कर्मचारीसँग प्रशासनको राम्रो समन्वय भएको विचार व्यक्त गर्नुभयो ।
अर्का वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्रशासन प्रमुख दामोदर सुवालले पनि बोल्नुभएको थियो ।
प्रमुख प्रजापतिले प्रजिअ भट्टलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भादगाउँले कालो टोपी लगाएर बिदाइ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *