भर्खरै :

भारतको कार्यशैली बेलायती उपनिवेशवादीको जस्तै

काठमाडौँ, २० मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली–काठमाडौँ सम्पर्क समितिको आयोजनामा भारत अतिक्रमित लिम्पियाधुरा–कालापानी–लिपुलेक विषयमा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेपाल सरकारले कूटनैतिक पहल गरे पनि भारतले अतिक्रमित भूमि फिर्ता नगर्ने अवस्थामा देखिएको बताउँदै यस विषयलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने बताउनुभयो ।
उहाँले भारतको कार्यशैली बेलायती उपनिवेशवादीको जस्तै भएको औँल्याउँदै दक्षिण एसियाली देशहरूले भारतको दादागिरीको कारण दुःख भोग्न परेको स्थिति रहेको बताउनुभयो ।
उहाँले विभिन्न ऐतिहासिक दस्तावेजअनुसार लिम्पियाधुरा क्षेत्र नेपालको भएको स्पष्ट पार्दै सरकार अडिग भएर भूमि फिर्ता गराउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय सहसचिव लक्ष्मी पोखरेलले सिमानाका जनताले भारतीय सेना र प्रहरीबाट सास्ती भोग्न पर्नुको मुख्य कारण सरकारको कमजोर व्यवस्था नै भएको धारणा राख्दै विद्यार्थीहरूले जनतालाई भारतीय अतिक्रमणबारे सचेत बनाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष ईश्वर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य जनक माझी, आयुष शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *